नवीनराज कुइँकेल
लमजुङ, चैत ११ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । उहाँले बुधबार बिहान सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी दिनुभएको छ ।
साम्बाका अनुसार अकल्यान्डमा डा. साइमन र उहाँको टोलीद्वारा शल्यक्रिया गरेको थियो । खाडी क्षेत्रमा उत्पन्न तनावका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजिल्याण्डमै शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । चिकित्सककै निगरानीमा पुनस्र्थापना प्रक्रिया सुरु हुने र अवस्था सामान्य भएसँगै अस्पेटारमा निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
उपचारका क्रममा सहयोग पुर्याउने वेलिङ्टन र अकल्यान्डस्थित नेपाली समुदाय, आफू आवद्ध क्लब वेलिङ्टन फिनिक्स तथा व्यवस्थापन टिमप्रति सामाजिक सञ्जाल मार्फत आभार व्यक्त गर्नुभएको छ । साम्बाको घुँडाको एसीएलमा राखिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक परेको थियो ।
शल्यक्रियाका लागि अनुमानित ८० हजार अमेरिकी डलर (एक करोड १५ लाख रुपियाँभन्दा बढी) खर्च लाग्ने उहाँले गत फागुन १४ गते उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गर्नुभएको थियो । शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि उहाँले २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन रोक्नुभएको थियो ।
साम्बा सिजन २०२५-२६ का लागि गत साउनमा न्युजिल्याण्डको क्लब वेलिङ्टन फिनिक्ससँग आबद्ध हुनुभएको थियो । खेलकै क्रममा गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगअन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको खेलमा उहाँ घाइते हनुभएको थियो । खेलको दोस्रो हाफमा हावामा आएको बल हेड गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा उहाँको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो ।
गम्भीर चोटका कारण लामो समय मैदान बाहिर रहनुपरेको बताउँदै साम्बाले यो आफ्नो करियरकै कठिन चरण भएको बताउनुभएको छ । उहाँले समर्थकको साथबाट छिट्टै खेल यात्रामा पुनरागमन गर्ने बताउनुभएको छ ।