नेपालमा धेरै जसो योजनामा गरिएको लगानी बालुवामा हालेको पानी जस्तै भएको छ । सस्तो लोकप्रियताका लागि हचुवाको भरमा योजना बनाउने, लगानी गर्ने अनि कमिसनको चक्करमा योजना बेवारिसे पार्ने कामले प्रतिफल राम्रो प्राप्त हुन सकेको छैन । योजनाको निरन्तर अनुगमन र व्यवस्थापनको कमी मुख्य समस्या बनेको छ । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालित द्रुत बससेवा यस्तै दुश्चक्रमा परेको पछिल्लो योजना हो । सरकारी निकायको दैनिक निगरानीमा उत्साहका साथ सुरु भएको यो बससेवा हाल सरकारी निकायकै बेवास्तामा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई वर्षअघि रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सुरु भएको थियो । केही महिना विभागले निगरानी गरे पनि विभाग यो सेवाप्रति हाल आफैँ बेखबर छ । एम्बुलेन्स सरहको ट्राफिक सुविधासहित छुट्टै सडक लेनको व्यवस्था गरी संविधान दिवसको अवसर पारेर २०८० असोज ३ गतेबाट द्रुत बससेवा सञ्चालन गरिएको थियो । यसलाई ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि नमुना अभ्यास मानिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्ति वाटिकाबाट द्रुत बससेवा सुरु गर्नुभएको थियो । यो सेवा उहाँ मन्त्री पदबाट हट्नु भएपछि ओझेलमा पर्दै गयो । हाल व्यवसायीले ‘डेडिकेटेड लेन’ मा गुडाउन पाएका छैनन् । ट्राफिकले पनि सहजीकरण नगरेको व्यवसायीको गुनासो छ ।
कार्यालय समयमा हुने अत्यधिक सवारी जामलाई ध्यानमा राखेर द्रुत बस सुरु भएको थियो । यसका लागि तामधामका साथ सडकमा रातो रङ लगाएर छुट्टै लेनको व्यवस्था गरियो । ट्राफिक बत्तीमा समेत रोक्न नपर्ने नियम बनाइयो । यो सेवा प्रभावकारी होला भन्ने धेरैलाई लागेको थियो तर अहिले सरकारी निकायबाटै उपेक्षित भएको छ । पहिला त सम्बन्धित निकायका पदाधिकारीले दिनदिनै चासो दिएका थिए तर अहिले कसैले चासो नै दिएका छैनन् । यातायात व्यवसायीको इच्छामा मन लागे चल्छ, नलागे चल्दैन । उनीहरू भन्छन्, “मान्छे भए चल्छ, नभए चल्दैन ।” सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन राम्रो नभएकाले द्रुत बससेवामा आबद्ध व्यवसायी पनि सन्तुष्ट छैनन् । यात्रुको चाप हुने समय अनुसार द्रुत बसको व्यवस्थापन गरिएको थियो । सुरु सुरुमा यात्रुले समयमै बस पाउने र बस पनि रित्तै गुड्न नपर्ने अवस्थाको निर्माण भएको थियो । यात्रुको चाप हुने बिहान र साँझको तालिका बनाएर बस चलाइएको थियो तर अहिले कुनै तालिका छैन । तत्कालीन अवस्थामा यातायात व्यवस्था विभागको टाइमकार्ड अनुसार बिहान ८:३० बजे सूर्यविनायकबाट पहिलो बस छुट्थ्यो । हरेक तीन मिनेटमा बस छुट्थे । अहिले भने उक्त नियम लागु छैन । सम्बन्धित मन्त्रालय र यातायात व्यवस्था विभाग नै बेखबर छ । विभागबाट हेर्ने काम भएको छैन । सम्बन्धित मन्त्रालयका कर्मचारी ‘यातायात विभागले चलाउने कुरा हो । अहिले के भइरहेको छ अपडेट लिइएको छैन’ भन्छन् ।
सार्वजनिक यातायात सुधारका लागि सुरु भएको दु्रत बससेवामा एप जडान गरी अनलाइन प्रणालीमा सञ्चालन गरिने योजना बनाइएको थियो । यात्रुले एपमार्फत बस नम्बर, छुट्ने समय, सिट र भाडादर हेरेर आफू अनुकूलको यात्रा गर्न एप जडान गर्ने योजना थियो । यो योजना कार्यान्वयन भएन । व्यवसायीले भने द्रुत बससेवाको बोर्ड भने हटाइसकेका छैनन् । ट्राफिक सहजीकरण र यात्रु चढ्ने लोभले गर्दा व्यवसायीले बोर्ड नहटाएका हुन् । सुरुमा ३६ वटा बस राखिएको थियो । १९ स्थानमा बस बिसौनी तोकिएको छ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बस बिसौनी तोकिएको थियो । यातायात व्यवसायी महासङ्घको समन्वयमा र काभ्रे बस प्राइभेट लिमिटेडसँगको सहकार्य रहेको यो सेवा सञ्चालनका लागि तीन मिटरको ‘डेडिकेटेड लेन’ नै छुट्याइएको छ । तीन तीन महिना पालो फेरिने व्यवस्था गरिएको थियो । द्रुत बससेवाको नियमित सञ्चालनले करिब दुई घण्टा लाग्ने सार्वजनिक यातायातको दुरी ४५ मिनेटमा झरेको थियो । राजधानीको केन्द्रविन्दुमा रहेको सिंहदरबारलगायत स्थानमा बिहान यात्रु धेरै आउने र बेलुका निवासमा फर्कने समयमा यातायातको ठुलो आवश्यकता पर्नु स्वाभाविक थियो । यही माग ध्यानमा राख्दै बिहान दुई र बेलुका दुई घण्टा द्रुत बस सञ्चालन थालिएको हो । यो सेवा सुरु भएसँगै नेपालमा पनि सार्वजनिक सवारी चढेर पनि समयमा गन्तव्यमा पुग्न पाइने भयो भन्ने आशा र विश्वास पलाएको थियो । यसलाई निरन्तरता दिन भने सकिएन ।