• ५ चैत २०८१, मङ्गलबार

लोकप्रिय बन्दै बँदिया भालेको परिकार

blog

काठमाडौँ, चैत ५ गते  । पछिल्लो समय बँदिया भालेको परिकार सहरी उपभोक्तामाझ लोकप्रिय हुन थालेको छ । लोकल भालेको अन्डकोष निकालेर बँदिया भाले बनाइन्छ । लोकल भाले बास्न थालेपछि शल्यक्रिया गरेर अन्डकोष निकाल्ने गरिन्छ । बँदिया भाले भन्नाले बोकालाई खसी बनाए जस्तै हो । 

केही वर्षअघिसम्म दाङमा पाहुनालाई उपहारको रूपमा दिइने बँदिया भाले पछिल्लो समय सर्वसाधारणको रोजाइमा पर्न थालेको हो । फरक स्वादका कारण अत्यधिक रुचाइएको बँदिया भालेको सामाजिक सञ्जालमा प्रचार भएपछि नेपालका ठुला सहरका होटलका प्रमुख परिकार बन्न थालेका छन् । कुखुराको भालेलाई यौनिक रूपमा परिपक्व हुनुअघि शल्यव्रिmया गरेर बँदिया बनाउने प्रचलन छ । यस कारण भालेको तौल र शरीरमा रेसायुक्त मासु तथा बोसो बढ्ने भएकाले मासु स्वादिलो हुने त्यसको लामो समयदेखि अध्ययन गरिरहेका विज्ञले उल्लेख गरेका छन् ।  

पशु चिकित्सक डा. विनय थापाले कुखुरालाई दुई महिना अर्थात् आठ हप्ताको हाराहारी पुग्दा बँदिया बनाइने र १० महिना पुग्दा बिव्रmीको निम्ति योग्य मानिने बताउनुभयो । उहाँले बँदिया कुखुरामा बोसो लाग्ने भएकाले यसको मासु स्वादिलो, नरम र रसिलो हुने बताउनुभयो । बँदिया बनाएपछि कुखुराको चञ्चले स्वभाव परिवर्तन हुँदा जता पायो त्यतै दौडिरहने र लडाकु स्वभाव पनि फेरिएर शान्त हुन्छ । त्यसले तौल बढाउन सहयोग पु¥याउँछ । यसले कृषकलाई उत्पादन बढाउन सहयोग मिल्ने थापाले बताउनुभयो ।  

बानेश्वर काठमाडौँका ज्ञानेन्द्र दाहालले सामाजिक सञ्जाल टिकटकमा निक्कै प्रख्यात भएपछि साथीहरूसँग बँदिया भालेको परिकार खाने बस्दोबस्त मिलाएको उल्लेख गर्नुभयो । केही समययता काठमाडौँका विभिन्न स्थानमा बँदिया भालेको परिकार खान पाइने भन्दै सामाजिक सञ्जालमा प्रचार हुन थालेको छ । 

सामान्यतया, लोकल, गिरिराज, ब्रोइलर, टर्की र कालिजको मासु खाने सहरका उपभोक्ताका लागि बँदिया भाले नौलो नै थियो । दाहालले काठमाडौँ तीनकुने सुविधानगरमा पुगेर बँदिया भालेको मासु खाएपछि स्वाद फरक पाएको उल्लेख गर्नुुभयो । दाङका अगुवा टीका बस्नेतले कैयौँलाई बँदिया भालेका बारेमा जानकारी नभएको तर मध्यपश्चिममा लोकप्रिय रहेको यस भालेको चर्चा देशव्यापी भएको बताउनुभयो । नेपालमा बँदिया भालेको पहिचान दाङ जिल्लासँग अलि बढी नै जोडिएको बस्नेतले बताउनुभयो ।   

दाङका स्थानीय तहले बँदिया भाले उत्पादनमा प्रोत्साहनसमेत गर्न थालेका छन् । राप्ती गाउँपालिकाले कम्तीमा पाँच वटा पाल्नेलाई प्रति बँदिया भाले एक सय रुपियाँ अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । 

लमही नगरपालिकाले पशु सेवा केन्द्रमा किसानले कुखुरा लिएर आएमा प्राविधिक कर्मचारीले निःशुल्क रूपमा बँदिया बनाइदिने व्यवस्था गरेको छ । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख शिवराज न्यौपानेले बँदिया बनाउन नगरपालिकाले प्रोत्साहन गरिरहेको जानकारी दिनुभयो । दाङबाहेक पाल्पा, मकवानपुर, बाँके, बर्दिया र सुर्खेतलगायतका अन्य जिल्लामा पनि सीमित मात्रामा भए पनि बँदिया बनाउने चलन बढेको छ तर अझै पनि धेरैलाई अनौठो लाग्ने कुखुरालाई बँदिया बनाउने चलन नेपालमा कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन । 

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।