रवीन्द्र उप्रेती
बर्दीबास, चैत २० गते । उखु खेतीका लागि चर्चित महोत्तरी जिल्लामा चिनी उत्पादन निरन्तर घट्दै गएको छ। रामनगरस्थित एभरेष्ट चिनी मिलका अनुसार चालु क्रसिङ सिजन ०८२/८३ मा पनि लक्ष्यअनुसार उत्पादन हुन सकेको छैन।
मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यस वर्ष २८ लाख ५३ हजार १७८ क्विन्टल उखु क्रसिङ गर्दा दुई लाख ६१ हजार ७३८ क्विन्टल मात्र चिनी उत्पादन भएको छ। यो अघिल्ला दुई वर्षको तुलनामा पनि कम हो। एभरेष्टको तथ्याङ्क अनुसार क्रसिङ सिजन ०८०/८१ मा दुई लाख ७० हजार ५८८ र ०८१/८२ मा २ लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन भएको थियो।
यस वर्ष मिलले कम्तीमा ३१ लाख क्विन्टल उखु क्रसिङ गरी करिब दुई लाख ७९ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर आवश्यकताको करिब २ लाख क्विन्टल उखु कम आपूर्ति भएकाले लक्ष्यभन्दा १८ हजार क्विन्टल कम चिनी उत्पादन भएको ठाकुरले जानकारी दिनुभयो।
उत्पादन घटे पनि चिनीको प्रतिलब्धी (रिकभरी) भने सुधारिएको छ। गत वर्ष प्रतिलब्धी ८.७२ प्रतिशतमा झरेको थियो भने यस वर्ष बढेर ९.१७ प्रतिशत पुगेको छ। अर्थात गत वर्ष एक क्विन्टल उखुबाट ८ किलो ७२ ग्राम चिनी उत्पादन भएको थियो भने यस वर्ष उही मात्रामा उखु क्रसिङ गर्दा ९ किलो १७ ग्राम चिनी उत्पादन भएको छ।
मिलका प्राविधिज्ञहरूको अनुमान छ कि यस वर्ष सर्लाही क्षेत्रबाट आएको उखु गत वर्षको तुलनामा ताजा र स्तरीय भएकाले प्रतिलब्धी बढेको हो। तथापि, ८० प्रतिशत किसानले अझै पूराना जातका उखु खेती गरिरहेका कारण उत्पादन र प्रतिलब्धी दुवै अपेक्षाअनुसार बढ्न सकेको छैन।
ठाकुरले भन्नुभयो, “उखु उत्पादन र चिनीको प्रतिलब्धी बढाउन किसानलाई नयाँ र उन्नत जातका उखु खेतीतर्फ प्रोत्साहन गरिँदैछ।”