• १९ चैत २०८१, मङ्गलबार

दक्षिण एसियाकै किसान बिचौलियाको चङ्गुलमा

blog

तस्बिर : एआई

जलवायु परिवर्तनले सबैभन्दा बढी असर कृषिमा पार्ने भएकाले किसान सबैभन्दा पीडित बनिरहेका छन् ।

काठमाडौँ, चैत ८ गते । किसानले उत्पादनको राम्रो मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्ने समस्या नेपालको मात्रै होइन । बिहीबारदेखि यहाँ सुरु भएको दक्षिण एसियाली किसान सम्मेलनमा सहभागी किसान अगुवाले किसानले आफ्नो उत्पादनको मूल्य आफैँ निर्धारण गर्न नसकेको उल्लेख गरेका छन् । 

नेपालमा मात्रै होइन, श्रीलङ्कामा पनि कृषि उपजमा बिचौलियाकै दबदबा छ । त्यहाँका किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउन सकेका छैनन् । सरकारले बिचौलियाको अन्त्यका लागि ठोस कदम चाल्न नसकेको किसान अगुवाको ठहर छ । किसान अगुवा सुभासिनी दिपाले श्रीलङ्काका किसानले पनि आफ्नो उत्पादनको उचित मूल्य नपाउने गरेको बताउनुभयो । “उपभोक्तासम्म पुग्दा कृषि उपज धेरै महँगो भइसकेको हुन्छ तर किसानले आफ्नो सामानको न्यूनतम मूल्य मात्रै पाउँछन्,” उहाँले उल्लेख गर्नुभयो । 

लामो समयको अस्थिर राजनीतिपछि स्थायी सरकार बन्ने चरणमा रहेको बङ्गलादेशमा अब किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने आशा बढाएको सैफुल हकले उल्लेख गर्नुभयो । बङ्गलादेश कृषि मजदुर युनियनका अध्यक्षसमेत रहनुभएको उहाँले बिचौलियाको चङ्गुलमा दक्षिण एसियाका किसान परेको दाबी गर्नुभयो । कुनै पनि देशमा किसानले सोचेको र भनेको जस्तो मूल्य पाउन सकेका छैनन् । दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका किसानले भोगेको उत्पादनमा बिचौलियाको मुद्दासँगै साना, भूमिहीन र कृषि मजदुरको बाहुल्य रहेको यस क्षेत्रका किसानले सिँचाइको अभाव, उत्पादित वस्तुमा बिचौलियाको हाबी भएको उल्लेख गरेका छन् । 

अखिल नेपाल किसान महासङ्घका विदेश विभाग प्रमुख पुरुषोत्तम न्यौपानेले दक्षिण एसियाका किसानले भोगेका समस्याको समाधानको विकल्प सहकारी हुनेबारेमा छलफल भएको बताउनुभयो । सहकारीले बचत तथा ऋण मात्रै गरेर नपुग्ने र उत्पादन र उत्पादकसम्म पुगेर समस्या समाधान गराउन आवश्यक रहेका बारेमा चर्चा भएको उहाँले जानकारी दिनुभयो । सहकारीले बुझाइमा परिर्वतन गर्न सके सहकारीले किसानका समस्या समाधान गराउने उहाँले बताउनुभयो । 

खेती र किसानमा भएको कर्पाेरेट वातावरणको अन्त्य भएपछि मात्रै दक्षिण एसियाका किसानले बिचौलियाको चङ्गुलबाट मुक्ति पाउँछन् ।

सहकारीले उत्पादन, बिउ, बिजन र रासायनिक मलसम्म पँहुच राख्नु आवश्यक रहेको उल्लेख गर्दै खेती र किसानमा भएको कर्पोरेट वातावरणको अन्त्य भएपछि मात्रै दक्षिण एसियाका किसानले बिचौलियाको चङ्गुलबाट मुक्ति पाउने भारतका कृष्णप्रसाद पुरुषोत्तम शर्माले उल्लेख गर्नुभयो । 

साना किसानले सहजै आफ्नो उत्पादन आफूले थाहा पाएर बेच्न सके भने त्यसले उनीहरूमा हौसला बढाउने र आम्दानी बढाउन भूमिका खेल्ने भएकाले सहकारी मोडल सबैभन्दा राम्रो हुने सहभागीले सुझाव दिएका छन् । 

अहिले बिउ, मल खरिददेखि नै कर्पोरेट कल्चरको विकास भएको छ । त्यसका कारणले साना र मध्यम खालका किसान सबैभन्दा पीडित भएकाले व्यक्ति र कुनै कम्पनीबाट हुने कारोबारले खाद्य सम्प्रभुतालाई नै कमजोर बनाएको सहभागीले उल्लेख गरेको न्यौपानेले जानकारी दिनुभयो । 

दक्षिण एसियामा ७० प्रतिशत कृषि उत्पादन साना किसानले गर्ने गरेकामा कर्पोरेटले उत्पादन थालेपछि सो कुरा मासिने उहाँले बताउनुभयो । जलवायु परिवर्तनले सबैभन्दा बढी असर कृषिमा पार्ने भएकाले किसान सबैभन्दा पीडित बनिरहेका छन् । 

  

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।