• १ कात्तिक २०८२, शनिबार

स्थानीय तहले हटाउँदै अस्थायी र करार कर्मचारी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक १ गते । ओखलढुङ्गाका दुई स्थानीय तहले अस्थायी तथा करार कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकाले संघीय सरकारको परिपत्रअनुसार स्वीकृत दरबन्दी बाहेकका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने भएका हुन् । 

सिद्धिचरण नगरपालिकाले करिब ३० जना अस्थायी र करारका कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख तेजन खनालको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेका अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णयअनुसार कात्तिक १ गतेदेखि सो व्यवस्था लागू हुनेछ । 

नगरपालिकाले सार्वजनिक सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छ । रद्द गरिएको सम्झौतामा स्वास्थ्यकर्मी, निजी स्रोत शिक्षक र अन्य तलब–भत्ता पाउने कर्मचारीहरू रहेका छन् । 

त्यस्तै, ओखलढुङ्गाकै सुनकोशी गाउँपालिकाले पनि अस्थायी र करार कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीका अनुसार स्वीकृत दरबन्दी बाहेकका २५ जना अस्थायी, करार र ज्यालादारी कर्मचारीको सम्झौता कात्तिक १५ गतेदेखि लागू हुनेगरी रद्द गरिएको हो ।

गाउँपालिकाले समेत संघीय सरकारको निर्देशनअनुसार शिक्षक बाहेकका अस्थायी र करार कर्मचारी राख्न नपाइने उल्लेख गर्दै सूचना जारी गरेको छ । दुबै स्थानीय तहले संघीय सरकारले जारी गरेको परिपत्र कार्यान्वयन गर्दै स्थायी दरबन्दीमा मात्र कर्मचारी व्यवस्थापन गर्ने नीति अवलम्बन गरेका हुन् । जिल्लाका अन्य पाँच स्थानीय तहले निर्णय लिन बाँकी रहेको बताएका छन् ।