• २७ फागुन २०८१, मङ्गलबार

दुध बेच्दा ‘गोल्ड मेडल’

blog

स्वर्णपदक विजेता दुग्ध किसान जोगलाल तामाङ (बिचमा) ।

काठमाडौँ, फागुन २६ गते । दुध दुहेर डोकोमा हाली बजारसम्म लगेर बिक्री गर्दा गोल्ड मेडल (स्वर्णपदक) पाइन्छ भन्ने उदाहरण बन्नुभएको छ– काभ्रेपलाञ्चोक, मण्डनदेउपुर–९ का जोगलाल तामाङ । मण्डनदेउपुर–९, गहतेबाट ओर्लंदै दैनिक दुध बोकेर तामाङ चौरबेँसी आइपुग्नुहुन्छ । दैनिक न्यूनतम १५ लिटरदेखि अधिकतम ३० लिटर दुध एक वर्षसम्म बेच्नुहुने उहाँलाई इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट किसानको रूपमा सम्मान गरेको छ । 

उहाँले एक वर्षमा चार लाख ४६ हजार रुपियाँको दुध बेच्नुभयो तर दुग्ध विकास संस्थानले नियमित रूपमा किसानलाई दुधको भुक्तानी नगरिदिँदा उहाँले आफूले बेचेको दुधको पैसा पाउन पनि छ महिना कुर्नु पर्‍यो । बल्ल उहाँले छ महिनापछि दुधको भुक्तानी पाउनुभयो । 

‘ढुटो, दाना खुवाउनै पर्‍यो, दुध बेचेको पैसा मासिक आउने भए थप ३० लिटर दुध उत्पादन गर्थें होला’ गोल्ड मेडल प्रमाणपत्रसँगै दुध दुहुने बाल्टिन उपहार लिएपछि जोगलालले भन्नुभयो । उहाँका घरमा दुई वटा भैँसी र एउटा गाई छन् । 

स्कुलमा राम्रो अङ्क ल्याउनेले मेडल पाएको देखे पनि दुध बेचेर पहिलो पटक मेडल पाउँदा अचम्म लागेको उहाँले भन्नुभयो । टिभीतिर मेडल लगाएपछि खेलाडी रुने गरेको देखेको बताउँदै उहाँले खुसी मिल्ने भएर पो खेलाडी रुँदा रहेछन् भन्ने बल्ल चाल पाएको सुनाउनुभयो । 

उहाँले दैनिक आउन ४० मिनेट र फर्कन ३० मिनेट लगाएर दुध बेच्ने गरेको र छरछिमेकलाई पनि गाईभैँसी पालेर राम्रो आम्दानी गर्न सक्ने उदाहरण देखाएको बताउनुभयो । उहाँ मात्रै होइन, उहाँकै गाउँका राजकुमार तामाङले पनि तीन लाख २३ हजार रुपियाँको दुध बेचेर मेडल जित्नुभयो ।

 दुई लाख ९८ हजार रुपियाँको दुध बेच्नुभएकी सुस्मिता तामाङ र यादवप्रसाद नेपाललाई उत्कृष्ट कृषकको रूपमा मेडल, बाल्टिन र प्रमाणपत्र प्रदान गरिएको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल पुष्पराज नेपालले जानकारी दिनुभयो । अरू किसानलेभन्दा फरक, हरेक दिन जोगलालले डोकामा दुध बोकेर ल्याउँदा धेरैलाई प्रेरणा मिलेको नेपालले भन्नुभयो । 

आफ्नो ठाउँमा मेहनत गर्दा सफल मात्र होइन, सम्मानित पनि होइन्छ भन्ने सन्देश दिन गोल्ड मेडल प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो । मण्डनदेउपुरमा उत्पादित भएको दुधको ठुलो मात्रा काठमाडौँ उपत्यकामा खपत हुने गरेको छ ।