दाजुभाइ, श्रीमान्श्रीमती, सासू ज्वाइँ, आमाछोरा संलग्न यी अपराधका घटनाले नातागोता, आफन्तमा मानमर्यादा, संयमता ह्रास हुँदै गएको देखाउँछ । फगत आवेगमा मात्र यस खालका घटना भएका छैनन् ।
मानिसले आफूलाई घरमा सबैभन्दा सुरक्षित ठान्छ । आफन्तजनको सान्निध्यमा मानिस निर्भय रहन्छ । जस्तोसुकै सङ्कट र कठिनाइ हुँदा पनि घर र आफन्तको साथ रहँदासम्म मानिसले हरेस खाँदैन, खुट्टा डगमगाउँदैन । नेपालीजनमा यस्तो विश्वास र मान्यता रहिआएको छ, कम से कम विकसित भइरहेको मनोसामाजिक अवस्थाले सुस्तरी सुस्तरी नष्ट नगरेसम्म । नजिकका आफन्तबाटै घरमै हुने अपराधका घटनाको जसरी प्रवृत्ति र दर बढेको छ त्यसले घर असुरक्षित र आफन्त शङ्काको घेरामा रहने मान्यता विकसित हुनबेर छैन ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१, साम्ने गाउँका ६९ वर्षीय एक व्यक्तिको घोप्टेसाल भिरबाट लडेर मृत्यु भएको खबर गाउँमा फैलियो । मृत्यु रहस्यमय देखिएपछि अनुसन्धान गर्दा प्रहरीले उनकै ७६ वर्षीय दाजुलाई पक्राउ गर्यो । दाजुले भाइलाई भिरमा धकेलेको तथ्य खुल्यो । सहोदर दाजुभाइबीच वैमनष्यता भाइको हत्यामा परिणत भयो ।
अर्घाखाँचीकै शीतगङ्गा नगरपालिका–३ का ५४ वर्षीय एक व्यक्तिले आफ्नी ५० वर्षीय श्रीमतीको टाउकोमा लोहोरो प्रहार गर्दा उनको मृत्यु भयो । दाजुभाइ, श्रीमान्श्रीमतीबीचको मनमुटाव अप्रिय अवस्थामा पुगेको यी प्रतिनिधि घटना हुन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१, नगरकोट घिसिङ टोलमा २८ वर्षे ज्वाइँले सासूको प्राण हरिदिए । सासूको दोष मात्र के थियो उनको ‘करकर’ ज्वाइँले सहन गर्न सकेनन् । त्यस्तै रोसी गाउँपालिका–३, भन्ज्याङगाउँमा लोहोरो प्रहार गरी २८ वर्षे छोराले ६९ वर्षे आमाको हत्या गरे ।
दाजुभाइ, श्रीमान्श्रीमती, सासू ज्वाइँ, आमाछोरा संलग्न यी अपराधका घटनाले नातागोता, आफन्तमा मानमर्यादा, संयमता ह्रास हुँदै गएको देखाउँछ । फगत आवेगमा मात्र यस खालका घटना भएका छैनन् । परिवार, समाजभित्र परापूर्वकालदेखिको मानमर्यादा, प्रतिष्ठा, जिम्मेवारीको बन्धन कमजोर पर्दै गएको महसुस गर्न सकिन्छ ।
घर र परिवारको छाया मानिसको सुरक्षित जीवनको मुख्य आधार हुन्छ तर विकसित भइरहेका घटनाले सुरक्षित सहारा भनिएको घर नै असुरक्षित हुन थालेको त होइन ? प्रश्न उठ्छ ।
एकाघर परिवारको एक सदस्यबाट अर्को सदस्य असुरक्षित बन्नु आपराधिक मानसिकताको उपज हो । यस्तो आपराधिक मानसिकता कसरी विकसित भयो, त्यस्तो बाध्यकारी मानसिकताले अटुट रहनुपर्ने पारिवारिक मर्यादा–सम्मान–आदरलाई कसरी गौण बनायो ? पारिवारिक विश्वास र सामाजिक थिति बसाल्न यी विषयमा चिन्तन गरिनु जरुरी भएको छ ।
पहिलेका मानिस कानुनसँग डराउनेभन्दा पनि बाह्र पुस्तासम्मलाई पापको भार बोकाउनु हुँदैन भन्ने मान्यता लिएर बाँच्दथे, मूल्य मान्यता अनुशरण गर्दथे ।
समाजमा जघन्य अपराध चुनौतीपूर्ण बन्दै गएको छ । सामान्यता आपराधिक घटनामा एउटा प्रवृत्ति देखिन्थ्यो र अपराधमा संलग्न को होला भनी अनुमान गरिन्थ्यो । समाजमा कुनै अपराध हुँदा आपराधिक क्रियाकलापमा संलग्नमाथि पहिलो नजर जाने गर्छ तर विश्वास गर्न नै गाह्रो हुने गरी घरकै सदस्य, आफन्तजनले नै अपराध गर्दा अनुसन्धानमा चुनौती थपिने नै भयो । साथै समाजमा सबैले सबैलाई शङ्कालु नजरले हेर्नुपर्ने अवस्थासमेत सिर्जना हुन्छ । बढेका यस खालका घटनाले सशङ्कित बनाएको छ ।
नेपाल प्रहरीको एक तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष नजिकका आफन्त वा नातेदार र एकाघरका सदस्यबाट शृङ्खलाबद्ध निर्मम तथा क्रुर हत्याका घटना बढेका छन् । यस्ता अधिकांश घटनामा करिब एक तिहाइ आफन्तबाटै हुने गरेको देखिएको छ । पछिल्लो पाँच वर्षको हत्या घटनाको तथ्याङ्क विश्लेषण गर्दा ३१ प्रतिशत हत्यामा आफन्त नै संलग्न रहेको देखिएको छ ।
घरपरिवार र नजिकका आफन्तबाट हत्या हुनुमा आर्थिक पक्ष र सामाजिक पक्ष मुख्य कारण रहेका छन् । शङ्का, उपशङ्का, अनैतिक सम्बन्ध, सामान्य वादविवादले हत्याको रूप लिएको देखिनुले ‘शत्रु खोज्न टाढा नजानु’ भन्ने उखान चरितार्थ झैँ भएको छ । आफन्तसँग डराउनुपर्ने र घरलाई असुरक्षित मान्नुपर्ने अवस्था आएको छ ।
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग र आर्थिक गतिविधिमा आएको रूपान्तरण र व्यवहारका कारण आफन्तबाट नै हत्या र बलात्कारका घटना धेरै हुने गरेको प्रहरी प्रधान कार्यालयको रिपोर्टमा उल्लेख छ ।
जघन्य अपराधका घटनाको अनुसन्धान विश्लेषणमा संलग्न प्रहरी उपरीक्षक वसुन्धरा खड्काको भनाइमा घरपरिवारबाट हुने अपराधमा नैतिक शिक्षा र चेतनाको अभाव देखिन्छ । यसबाट के देखिन्छ भने हत्या जस्तो जघन्य अपराध रोक्न कानुनी कारबाहीसँगै नैतिक शिक्षा आवश्यक छ ।
विभिन्न तहका सरकार, नागरिक समाजलगायत सरोकारवाला पक्षबीच सहकार्य गरेर पारिवारिक मेलमिलाप, सामाजिक सचेतना र नैतिक शिक्षा जस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको देख्छिन् उपरीक्षक खड्का ।
प्रेमिकाको खुशीका लागि आमाले कानमा लगाएको रिङ लुट्न आमाको हत्या गर्ने छोरा मात्रै होइन अनैतिक सम्बन्धबाट जन्मिएको सन्तानको घाँटी थिचेर मार्ने आमा पनि प्रहरीको फन्दामा परेका छन् । एकसाथ चिया नास्ता खान जाँदा पैसा कसले तिर्ने भनी विवाद हुँदा एकले अर्कोको हत्या गरेको घटनाले सामान्य मनमुटाव र विवादमा समेत जघन्य अपराध गर्नबाट आफूलाई रोक्न सक्ने आत्मबल मानिसमा कमजोर पर्दै गएको स्पष्ट हुन्छ ।
नेपाली समाजमा आमापछिको मामा भन्छन् तर आर्थिक लोभ पलाउँदा मामाको मगजसमेत विषाक्त हुँदो रहेछ । मामाले आफ्नै भान्जाभान्जीको हत्या गरेका रेकर्ड प्रहरीकहाँ छ । एक पक्षमा भने पारिवारिक बन्धन चोखो देखिन्छ । प्रहरीको विगत पाँच वर्षको रेकर्डमा दिदीबहिनीले दाजुभाइको हत्या गरेको तथ्याङ्क छैन तर भिनाजुले सालासाली, भतिजोले काकाकाकी, जेठाजु जेठानीले भाइबुहारी, सौताले सौताको हत्या गरेका धेरै घटना छन् ।
हत्यालाई कानुनी रूपमा जघन्य अपराध र सामाजिक रूपमा महापाप भन्ने चलन छ । पहिलेका मानिस कानुनसँग डराउनेभन्दा पनि बाह्र पुस्तासम्मलाई पापको भार बोकाउनु हुँदैन भन्ने मान्यता लिएर बाँच्दथे, मूल्य मान्यता अनुशरण गर्दथे । अचेल धर्म, पापभन्दा पनि सामाजिक मूल्य मान्यता, आफन्तजनप्रति मानमर्यादा, नैतिक शिक्षा, सदाचार सबै ह्रास भएको छ । लोभपाप मौलाएको छ । त्यसको प्रत्यक्ष असर अहिलेको समाजमा देखिन थालेको देख्छन् अपराधशास्त्री हेमन्त मल्ल ।
मानिसमा अनुशासन हरायो र नैतिक धरातल मक्किएको छ । ‘धन देखे महादेवका तीन नेत्र’ भने जस्तो तर्साएर, जालझेल गरेर, कुटेर, लुटेर, मारेर जसरी हुन्छ सम्पत्ति थुपार्ने लोभपाप पलाएर जघन्य अपराधका घटना मौलाउन थालेको विश्लेषण उहाँ गर्नुहुन्छ ।
उनको भनाइमा आफन्तबाट हुने अपराध बढ्नुमा सामाजिक सञ्जालको अधिक प्रयोगसँगै अर्काको देखासिकी, अस्वाभाविक तडकभडक, खर्च धेरै गर्ने परिपाटीको विकास पनि जिम्मेवार छन् ।
नजिकका आफन्तबाट भएका हत्या, लुटपाटका घटनालाई विश्लेषण गरेर योजना बनाउने कार्यमा लागेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक विश्व अधिकारीसमेत एक वर्षमा दुई सयभन्दा बढी हत्याका घटनामा नजिकका आफन्तको संलग्नता देखिएको बताउँछन् ।
प्रहरीको रेकर्डले देखाउँछ, पाँच वर्षको अवधिमा भएको एक हजार १६० जनाको हत्यामा आफन्तको संलग्नता सबैभन्दा धेरै हत्या श्रीमान् वा श्रीमतीको हुने गरेको छ ।
समाज वा मानिसले मानसिक स्वास्थ्य अवस्थालाई बुझ्ने चेस्टा नगर्दा तथा मानसिक रोगलाई सामान्य वा लाजको विषय मान्दा त्यसको प्रत्यक्ष असर व्यक्ति, घरपरिवार र समाजलाई परेको छ । अपराधको एउटा कसी यससँग पनि जोडिएको देखिन्छ ।
विश्व परिवेशलाई हेर्दा सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक महिलाको साथी वा नातेदारबाट हत्या भएको थियो । संयुक्त राष्ट्रसङ्घद्वारा सार्वजनिक गरिएको विवरणमा करिब ८५ हजार महिला तथा किशोरीको हत्यामा आफन्तको संलग्नता देखिएको थियो । यसले हरेक दिन एक सय ४० वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुने गरेको स्पष्ट हुन्छ ।
–युवामञ्च