गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ६ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न सञ्चार जगतसँग आग्रह गर्नुभएको छ । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग उहाँले आग्रह गर्नुभयो । सही सूचनाले मात्र जनतामा विश्वास जागृत गर्ने हुनाले त्यसमा ध्यान दिन उहाँले प्रेसकर्मीसँग आग्रह गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, ‘लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दैआएको सहयोग सह्रानीय छ ।’निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दैआएको बताउँदै डा. तुलाधरले निर्वाचनसम्वन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु लगेर सहयोग गर्न प्रेससँग आग्रह गर्नुभयो । गलत सूचनाले नागरिकमा भ्रम सिर्जना हुने हुनाले त्यसमा मिडियाकर्मी सचेत हुनुपर्ने सुझाव दिनुभयो । आगामी निर्वाचनमा लैङ्गिक सहभागिताका विषयमा पनि आयोगले पर्याप्त ध्यान दिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन सफल बनाउन आचारसंहिता अक्षरशः पालना गर्नु अनिवार्य रहेको भन्नुहुँदै उहाँले सम्बद्ध सबैलाई त्यसमा गम्भीर बन्न आग्रह गर्नुभयो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र परिचालित् रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लङ्घन भए नभएकोबारे तथ्यगत सूचना निशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पु¥याएकोछ ।” निर्वाचनका लागि आवश्यक पर्ने ९० प्रतिशत सामग्री आयोगमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्धता त्याग्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘चुनावकाबेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा हुन्छ, त्यसबाट जोगिन समाचारको पुष्ट्याइँ गरी सत्यतथ्य समाचार सम्प्रेषमा ध्यान पु¥याउनु पर्छ ।’रिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताबाट एक–अर्कालाई लाञ्छित गर्नेगरी आउनेगरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा मिसइन्फर्मेसन र डिसइन्फर्मुेसनको चूनौति छ, प्रभावकारी अनुगमनका लागि निर्वाचन अनुगमन संयन्त्र प्रभावकारी हुन आवश्यकछ ।’
काठमाडौँ, वैशाख ६ गते । नेपाल आर्मीकी मिनु गुरुङ वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । बसन्तपुर डबलीमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा महिला ५१ केजीमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गर्नुभयो । सोही स्पर्धामा एपीएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराउनुभयो । महिला ५७ केजीमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउँदै क्वार्टरफाइनलमा पुग्नुभयो । पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । पुरुष ६३ केजीमा एपीएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुनमगरले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नुभयो । सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश १ का तोविन प्रधानको चुनौती पन्छाउनु भएको थियो । पुरुष ६९ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सचिन शाक्य तथा लुम्बिनीका विकास रानामगरले गण्डकीका सुनिल विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्नुभयो । पुरुष ७५ केजीमा क्वार्टरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाल्नुभयो । प्रतियोगिताको गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन अवसरमा १३औँ सागका स्वर्णधारी मिनुसहित भुपेन्द्र थापामगर, सनिल शाही र मिनु गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । उहाँहरुलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत एक एक लाख रुपियाँ पुरस्कार प्रदान गर्नुभएको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ।
काठमाडौं, वैशाख ६ गते । धेरैपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सधैँ राताम्ये हुने शेयर बजारले हरियो रङ देखाउँदा पनि लगानीकर्ता खुसी हुने वातावरण बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको हो । कूल १३.३७ अङ्कले उकालो लागेर नेप्से दुई हजार ३५७.२४ मा पुगेको छ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अङ्कले उकालो लागेर ४४७.७६ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने बढ्न सकेन । कूल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ मूल्यमा खरिद बिक्री भए ।नेप्सेका अनुसार मङ्गलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.०३, व्यापार ०.८७, होटल तथा पर्यटन ३१.१४, विकास बैंक ३२.८९, जलविद्युत् ११.२४, वित्त ७.८६, निर्जीवन बीमा ६२.४४, उत्पादन २४.६२, अन्य १९.४५, लघुवित्त ३३.१९, जीवन बीमा ९७.६६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.४ अङ्कले उकालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ८३ करोड ५३ लाख ६४ हजार ९९२ बराबर पुगेको छ ।नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ३० लाख ६७ हजार ३८५ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु चार करोड ३५ लाख ९० हजार ५७२, महालक्ष्मी विकास बैंक तीन करोड ८३ लाख २१ हजार, अरुण भ्याली हाइड्रोपावर तीन करोड ५५ लाख ७३ हजार ३६९ र अपि पावर कम्पनी तीन करोड ३८ लाख ४४ हजार ४८१ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।हरियाली छाएको बजारमा नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्यो । मेगा म्युचुअल फण्ड एक ५.४२, शिवश्री हाइड्रोपावर ४.२९ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले कमाए ।त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.८२, कालिका लघुवित्त वित्तीय संस्था ३.६४, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, एनआइसी एशिया ब्लालेन्स फण्ड २.४१ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले २.३८ प्रतिशतले गुमाए । रासस
काठमाडौँ, वैशाख ६ गते । ‘सूर्य नेपाल च्यालेन्ज’ गल्फ प्रतियोगिातको पहिलो दिन रवि खड्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा रविले ६ अन्डर ६२ खेल्नुभयो । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धामा रविले पहिलो नौ होलमा चार अन्डर ३० र पछिल्लो नौ होलमा दुई अन्डर ३२ स्कोर राख्नुभयो । चारअन्डर ६४ स्कोरका साथ दीपक थापा र भुवन कुमार रोका संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ । तीन अन्डर ६५ स्कोरका साग सूर्यप्रसाद शर्मा र भुवन नगरकोटी चौथो स्थानमा हुनुहुन्छ । दुई अन्डर ६६ स्कोर खेल्नेमा एमेच्योर सुवास तामाङ सहित प्रोहरु सन्जय लामा, निरज तामाङ र राम मगर हुनुहुन्छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको चारदिने प्रतियोगितामा २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको छ । ३६ होलको समाप्तिसँगै शीर्ष २१ खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गर्नेछन् । कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
भोजपुर, वैशाख ६ गते। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोजपुरमा सत्ता गठबन्धनले तालमेल मिलाएको छ। भोजपुरमा नेपाली काँङग्रेसले पाँच पालिका पाएको छ। नेकपा (माओवादी केन्द्र)लाई २ पालिका र बाँकी दुई पालिका भने स्वतन्त्र गरेर तालमेल भएको छ। नेपाली कांग्रेसले भोजपुर र नगरपालिकामा मेयर, टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष, साल्पासिलीछो गाउँपालिका अध्यक्ष र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ। सँगै माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका अध्यक्ष, रामप्रसाद राई गाउँपालिका अध्यक्ष पाएको छ।सहमति अनुसार कांग्रेसले रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकामा उपाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकमा उपाध्यक्ष पद पाएको छ। नेकपा एकीकृत (समाजवादीले) भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष पद पाएको छ।यता आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफनो पार्टीबाट उम्मेदवार उठाउने भएका छन्। स्थानीय तहका ८१ वडामध्ये कुनकुन वडामा गठबन्धन गर्ने भन्ने विषयमा छलफल जारी रहेको गठबन्धन दलका वार्ता संयोजक नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवाले जानकारी दिनुभयो। यता जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र माओवादीलाई उपप्रमुख दिने सहमति भएको छ।
काठमाडौं, वैशाख ६ गते। सर्वोच्च आदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा आल्पकालीन अन्तरिम आदेश दिएको हो। उक्त रिटमाथि न्यायाधीश फुयालले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत दिनुभएको छ। २०७८ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै गर्भनर अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो।अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गर्नुभएको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै काममा फर्किन न अन्तरिम आदेशको माग गर्नुभएको थियो। अधिकारीले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।
स्थानयी तह निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आचारसंहिताविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदन खारेज गरेको हो।
काठमाडौं, वैशाख ६ गते । कमेडी विधामा आधारित फिल्म 'सिल्ली फो' प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै असार ३१ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गर्नुभएको हो । मनोज डिकेले निर्माण गर्नुभएको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता हुनुहुन्छ । फिल्म दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेले छायांकन गर्नुभएको हो ।यस्तै, फिल्ममा केकीका साथै धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापाको अभिनय रहेको छ ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको आपसीसम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।
काठमाडौं, वैशाख ६ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारी महाशाखा प्रमुख श्रीधर ज्ञवाली, आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरुविरुद्ध गैरकानुनी लाभ तथा सरकारी सम्पत्ति हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो। किसानलाई उपकरण उपलब्ध गराउने भन्दै झुटो बिल भरपाई बनाएर दोहोरो बिल भुक्तानी गरेको आरोप उनीहरुमाथि लगाइएको छ। सम्झौता विपरितको उपकरण खरिद गरेको आरोपमा अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारी महाशाखा प्रमुख ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली र आधुनिक कृषि किसान संसार र त्यसका निर्देशक राजाराम तिवारी विरुद्ध ४३ लाख ३७ हजार पाँच सय बिगो, तीन महिनादेखि ३ वर्षसम्म कैद र सोही बमोजिमको जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो।
काठमाडौं, वैशाख ६ गते । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको यस फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले निर्माण गर्नुभएको हो । फिल्ममा पूजा र आकाशसँगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको अभिनय देख्न सकिन्छ ।फिल्मको संवाद लेखन शिशिर राणाको रहेको छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको 'सम्झना-बिर्सना' मा शिव ढकालको छायांकन र तारा थापा 'किम्भे'को सम्पादन छ ।फिल्म जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले राजनीतिक दलहरुसँग आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।
काठमाडौं, वैशाख ६ गते । 'मिस नेपाल २०२२'का लागि आवेदन खुला गरिएको छ । 'द हिडन ट्रेजर'ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।प्रतियोगितामा भाग लिनका लागि सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिनेछ । यस्तै, यसको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७ वर्ष हुनुपर्ने छ । अडिसन काठमाडौंलगायत धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुने आयोजकले जानकारी दिएको हो ।'हिडन ट्रेजर'ले 'मिस नेपाल २०२२' को फाइनल भने असार चार मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।
काठमाडौँ, वैशाख ६ गते। सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ’ प्रतियोगिता मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं स्वर्गीय गणेशमानका छोरा प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो। बसन्तपुर डबलीमा सञ्चालित प्रतियोगिताको उद्घाटन गर्दै प्रकाशमानले नेपालमा प्रजातन्त्र ल्याउन महत्वपूर्ण योगदान दिनुभएका गणेशमानको स्मृतिमा बक्सिङसँगै रोडरेस, ब्याडमिन्टन जस्ता खेलकुद प्रतियोगिता आयोजना गर्ने बताउनुभयो। उहाँले गणेशमान सिंह फाउन्डेसनले यस प्रतियोगितालाई सरकार र विभिन्न संस्थाको सहयोगमा आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना गरेको प्रतियोगिातमा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ। जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट भएर आएका खेलाडीबीच अन्तिममा वसन्तपुर डबलीमा भिडन्त भएको हो। प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी महिलातर्फ ४८, ५४–५७, ६०, ६४–६९, ६९–७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पहिलो दिन मंगलबार पुरुषतर्फ नौ र महिलातर्फ चार तौल समूहमा प्रतिस्पर्धा भएको छ। प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेस प्रदेशबाट सात पुरुष र पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, एपीएफबाट सात पुरुष र पाँच महिला र नेपाल पुलिस क्लबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी कूल १०२ जना खेलाडी सहभागी छन्। प्रतियोगितामा हरेक तौल समूहका विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन्। यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपियाँ पुरस्कार पाउनेछन्। यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो। तस्बिर: मनोजरत्न शाही