• १७ जेठ २०८१, बिहिबार

स्याङ्जामा तीन महिला वडा अध्यक्ष विजयी

blog

अर्जुन काफ्ले
स्याङ्जा, जेठ ७ गते ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा तीन महिला वडाध्यक्ष विजयी भएका छन् । ९७ वडा रहेको स्याङ्जामा कालीगण्डकी गाउाँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको हो ।  

कालीगण्डकी गाउँपालिका २ मा नेपाली कांग्रेसका उम्मेदवार खगीसरा आले निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ३३३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार श्रीराम पाण्डेलले ४३१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मनकुमारी थापा विजयी हुनुभएको छ । थापाले ४९५ मत ल्याएर निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४१८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, चापाकोट नगरपालिका–६ मा काँग्रेसका उम्मेदवार तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित हुनुभएको छ । पोखरेलले ४३६ प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४१५ मत प्राप्त गर्नुभएको थियो।

२०७४ को स्थानिय तह निर्वाचनमा १६ जना महिलाले वडाध्यक्ष प्रतिस्पर्धा गरेकोमा नेकपा एमालेबाट फेदीखोला ५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी ४ मा जीतकुमारी चपाई  र हरिनास गाउँपालिका ७ मा केशमाया थापा विजयी हुनुभएको थियो ।

पहिलो स्थानीय तह निर्वाचमा पुतलीबजार नगरपालिकामा सीमाकुमारी क्षेत्रीले नगर प्रमुखमा जित निकालेकामा वैशाख ३० गतेको निर्वाचनमा प्रमुख दलले प्रमुख पदमा तीन महिलालाई प्रतिस्पर्धी गराएकोमा तीनै जना पराजित हुनुभएको हो ।