• ७ जेठ २०८१, सोमबार

बुढीगण्डकी आयोजना यही वर्ष थाल्न मुख्यमन्त्री पोखरेलको प्रधानमन्त्री समक्ष अनुरोध

blog

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा शनिबार भेट गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)। तस्बिर सौजन्यः भरत कोइराला

पोखरा, ७ जेठ। संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउनुभएको छ। 

गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमार्फत् राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पुर्‍याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने गण्डकीका योजनाको सूची उहाँले प्रधानमन्त्रीलाई बुझाउनुभएको हो। 

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवालाई बुझाउनुभएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘‘राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्त्वका र अन्तर प्रदेश विकासमा समेत महत्वपूर्ण हुनसक्ने आयोजनामा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने, आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरुरी छ।"

राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्वाध रूपमा आयोजना सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक कानुन तथा मापदण्ड विकास गरेर निर्वाध रूपमा त्यस्ता आयोजना सञ्चालन हुने अवस्था विकास हुनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको हो।

स्थानीय तहको समृद्धि नै मुलुकको समृद्धि : प्रधानमन्त्री देउवा

ध्यानाकर्षण पत्र ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको बताउनुभएको हो। उहाँले गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले ध्यानाकर्षण पत्र राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिनुभएको छ। 

‘‘जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना चालु आवबाट नै  सुरु गर्ने गरी कार्य अगाडि बढाउन अनुरोधसहित गण्डकी प्रदेश सरकारको पनि लगानी साझेदारी हुने वातावरण बनाउन अनुरोध गर्छु’’, मुख्यमन्त्रीले बुझाउनुभएको ध्यानाकर्षण पत्रमा थप भनिएको छ।  

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय प्रवद्र्धन गर्न दुवै प्रदेशको समन्वय र लगानीमा, संघ सरकारको साझेदारीमा मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्ने मुख्यमन्त्री पोखरेलले माग गर्नुभएको छ। 

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने र पोखराको मुख्य आकर्षक फेवातालको संरक्षण र विकासको लागि फेवाताल संरक्षण र विकास गुरूयोजना कार्यान्वयनको लागि लगानी सुनिश्चित हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

गण्डकी प्रदेशसँग जोडिएका तीनवटा अन्तर्राष्ट्रिय नाका मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्के सीमा नाकामा भन्सार पूर्वाधार विकास गरेर नेपाल चीन २ देशीय व्यापार तथा वाणिज्य प्रवद्र्धन गर्नुपर्ने मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ। 

यसैगरी गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माणको लागि लगानी गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्र देवघाटको प्रवद्र्धन गर्न गण्डकी प्रदेशको तनहुँ र नवलपुर तथा बागमती प्रदेशको चितवन जोड्ने गरी त्रिकोणात्मक मोटरेबल पुल निर्माणका लागि उनले माग गर्नुभएको छ।

गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न साझेदारीमा लगानी सुनिश्चित हुने वातावरण विकासका लागि समेत मुख्यमन्त्रीले पोखरेलले आग्रह गर्नुभएको छ। 

मनाङको नार्पाभूमि गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको र विकट भएकाले प्रदेश सरकारको क्षमता नपुग्ने हुँदा केन्द्रीय योजनामा समावेश गर्न ध्यानाकर्षण पत्रमार्फत् अनुरोध गरिएको छ। नवलपुरको गैंडाकोटमा बीपी अन्तर्राष्ट्रिय खेलग्राम र नवलपुरमै ट्रमा सेन्टर स्थापनाका लागि पनि केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्रीसँगै प्रदेशका कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाको उपस्थिति थियो। मुख्यमन्त्री पोखरेल शनिबार नै पोखरा फर्किनुभएको छ।

 मुख्यमन्त्री पोखरेलले यसअघि दुई पटक काठमाठौं आएर प्रधानमन्त्री देउवालाई भेटेर बजेट तथा प्रदेशका योजनाका बारेमा ध्यानाकर्षण गरानउनुभएको थियो।