• १३ साउन २०८१, आइतबार

बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका पाण्डेय विजयी

blog

कबिन्द्र नेपाल
मणिग्राम (रुपन्देही), जेठ ७ गते ।
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेय प्रमुखमा विजयी हुनुभएको छ ।

नेकपा एमालेको विरासत तोड्दै कांग्रेसका नगरसभापति समेत रहनुभएको पाण्डेय विजयी हुनुभएको हो ।

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा १२ वटा वडासहित प्रमुखमा कांग्रेस निर्वाचित भएको हो ।

२०४९ सालको निर्वाचनमा काँग्रेसबाट स्वर्गीय सूर्यप्रसाद प्रधान बुटवलको प्रमुखमा निर्वाचित हुनुभएको थियो । त्यसयता बुटवलमा कांग्रेसले जित्न सकेको थिएन ।

अघिल्लो निर्वाचनमा पनि पाण्डेयलाई दुई हजार तीन सय मत अन्तरले पराजित गर्दै बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी निर्वाचित हुनुभएको थियो ।

पाँच दलीय गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकाको प्रमुखमा पदका उम्मेदवार पाण्डेयले ३० हजार १३० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

यस्तै, उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङलाई पछि पार्दै एमाले उम्मेदवार सावित्रा अर्याल विजयी हुनुभएको छ ।

उपप्रमुखमा निर्वाचित अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार गुरुङले १६ हजार ९८० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाका उम्मेदवार भगवती पाण्डेले छ हजार ५२९ मत प्राप्त गर्नुभयो ।

१९ वडा रहेको बुटवलमा ११ वटा वडामा कांग्रेसले जितेको छ भने पाँच वटा वडा एमालेले जितेको छ ।

बुटवलमा माओवादी केन्द्रले एक, नेकपा एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

वडा नं. ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ कांग्रेसले जितेको हो । जसमा ४ को अध्यक्षमा नरिशवर शर्मा, ५ को अध्यक्षमा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदिपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी हुनु भएको हो ।

त्यस्तै, एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ । एमालेले जितेको वडा नं. १० को अध्यक्षमा बलबहादुर पुन, ११ को अध्यक्षमा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र वडा नं. १९ को अध्यक्षमा चन्द्रसिंह थापा मगर निर्वाचित हुनुभएको छ । वडा नं. १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ । उहाँले कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । वडा नं. २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य र वडा नं. ३ मा पनि गठबन्धनबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी हुनुभएको छ । ढकाल रुख चिह्नबाट निर्वाचित हुनुभएको हो ।