पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले आधा घण्टादेखि बैठक चलिरहेको जानकारी दिनुभयो।
काठमाडौं, वैशाख ५ गते। विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सोमबार सर्वोच्च अदालत काजमा झिकाउनुभएको हो।उहाँले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाउनुभएको थियो। मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उहाँले सजायको फैसला सुनाउनुभएको हो। उक्त कानून कार्यान्वयनमा छैन।यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो।रासस
काठमाडौँ, वैशाख ५ गते। काठमाडौँको फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक ‘फुटुङ्ग’ सार्वजनिक भएको छ। झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नुभएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक फुटुङ्गमै आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। पुस्तक विमोचन गर्दै इतिहासकार एवं लेखक प्रा डा राजेश गौतमले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो। पुस्तक साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो। कार्यक्रममा अर्थशास्त्री प्रा. डा. केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउनुभयो। विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो। उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो। कार्यक्रममा साहित्यकार लब गाउँले र डा. घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो। पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ। उहाँका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुप पुस्तक तयार भएको हो। पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश चित्रण गरिएको छ। त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ।
काठमाडौं, वैशाख ५ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयनको अवस्थाबारे विचारविमर्श भएको थियो। सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो। ऊर्जा एवं सिँचाइ क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तरराष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो।पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य सुरु भई विद्युत् व्यापार सुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीयस्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो खुलेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ। केही वर्षभित्र नै हामीले ती देशमा विद्युत् निर्यात गर्ने अवस्था आउँछ।’ आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत् उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एडीबीलाई आग्रह गर्नुभयो। उहाँले पूर्व–पश्चिम प्रशारण लाइन निर्माणमा पनि एडीबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।त्यस अवसरमा एडीबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत् व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्कीला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु।’ जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूर्ण १० आयोजनाको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालिरहेको बताउनुभयो। उहाँले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालित उद्योगलाई विद्युत्ले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडीबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरनौड काउसिसलगायत उच्च अधिकारीको सहभागिता थियो। रासस
राजन रावतहुुम्ला, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमालपारीको गाउँ लिमीका तीन जना बालबालिकालाई पढाइदिनुु हुनेभएको छ । लिमी पुुग्ने क्रममा त्यहाँका स्थानीयको पीरमर्का विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्न नपाएको गुनासो सुुनेपछि उहाँले तीन बालबालिकालाई आफूले पढाइदिने घोषणा गर्नुभएको हो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले आइतबार बिहान लिमी पुुग्ने क्रममा स्थानीयसँग अध्यक्ष ओलीले लिमीका तीनवटै विद्यालयका जेहेन्दार तीन जना विद्यार्थीलाई काठमाडौंमा लगेर आफूले निशुुल्क पढाई दिने प्रतिबद्धता जनाएको बताउनुुभयो । सो क्रममा अध्यक्ष ओलीले अध्ययन गर्न नपाएका, न्यून आयस्रोत भएका बिधार्थीलाई आफ्नै लगानीमा अध्ययन गराई दिने बताउनुुभएको हो । द्यावडा अध्यक्ष तामाङले नाम्खा गाउँपालिका –६ को हिमाली पारीको गाउँ निक्कै दुुर्गम र हालसम्म निकै बिधार्थीले अध्ययन गरेको जानकारी पाएको कारण पनि उहाँले ती विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराइदिने निर्णयमा पुुगेको बताउनुुभयो । तीनै जना विद्यार्थीले २०७९ सालको नयाँ शैक्षिकसत्रबाट अध्ययन गर्न पाउनेछन् । बिधार्थी छनौट गरेर पठाई दिन अध्यक्ष ओलीले लिमीका वडा अध्यक्षमार्फत आग्रह गर्नुभएको छ ।
काठमाडौँ, वैशाख ५ गते । यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुनुहुन्छ । टोलीलाई सोमबार नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ । च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने पनि संघले जनाएको छ ।
काठमाडौँ, वैशाख ५ गते । सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौँमका सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ ।काठमाडौँको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रतियोगितामा सहभागिता जनाउन सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौँ आइसकेका छन् । हामी सबै खेलाडी, प्रशिक्षक र अफिसियलको ब्यवस्थापनमा जुटेका छौँ,’ श्रेष्ठले भन्नुभयो । प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४-५७, ६०, ६४-६९, ६९-७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेश प्रदेशबाट सात पुरुष र पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, एपीएफबाट सात पुरुष र पाँच महिला र नेपाल पुलिस क्लबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने पनि प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकेको छ । सोमबार नियमित पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको जानकारी दिनुभयो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–३ मा स्थानीय बाबुराम गुरागाईं र भगीरथ गुरागाईंको घर मतान थलेर नष्ट भएको छ । सोमबार दिउँसो भएको आगलागीबाट गुरागाईं परिवारको घर र मतान थलेर नष्ट भएको हो ।
पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।
काठमाडौँ, वैशाख ५ गते। नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद गर्यो। नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौँ उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो। विद्युतीय सवारी साधन प्रयोग गर्दा वार्षिक रुपमा एक करोड बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ। सरकारी निकायले पनि क्रमशः विद्युतीय सवारी साधन प्रयोग गरून् भन्ने ध्येयका साथ प्राधिकरणले विद्युतीय सवारीतर्फको यात्रा अगाडि बढाएको हो।प्राधिकरणले खरिद गरेको टाटा नेक्शन इभी एक पटक चार्ज गर्दा ३१२ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ। काठमाडौँ उपत्यकामा २१६ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ। सो सवारीमा ३०.२ किलोवाट क्षमताको ‘लिथियम आयन ब्याट्री’ प्रयोग भएको छ। भारतीय कम्पनी टाटाले उत्पादन गरेको सो विद्युतीय सवारी नेपालको बाटो सुहाउँदो रहेको बताइन्छ।विद्युतको आन्तरिक खपत बढाउनका लागि लागिपरेको प्राधिकरण आफैँले नमूनाका रुपमा विद्युतीय सवारी साधन चलाउन लागेको हो। आगामी मनसुनमा ठूलो मात्रामा बिजुली खेर जाने जोखिम उत्तिकै छ। नेपाल आयल निगमका अनुसार चालु आवको हालसम्म झन्डै दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसलाई केही हदसम्म भए पनि घटाउने लक्ष्यका साथ सरकारले विद्युतीय सवारी साधन प्रवर्धनमा विशेष चासोका साथ काम गरिरहेको छ।सडक विभागले पनि केही समय पहिले विद्युतीय सवारी साधन आयात गरेर प्रयोगमा ल्याएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि विद्युतीय सवारीको प्रयोग भइरहेको छ।बजारमा आधा घण्टामा नै द्रुत रुपमा चार्ज गर्न सकिने विद्युतीय सवारी साधन उपलब्ध छन्। पछिल्ला दिनमा विद्युतीय मोटरसाइकल, स्कुटर उपलब्ध हुन थालेका छन्। अनौपचारिक अध्ययनअनुसार कूल १०० वटा सवारी साधन गुड्दा सहरी क्षेत्रमा ६ वटा विद्युतीय सवारी साधनको उपस्थिति देखिएको छ।वातावरण जोगाउन र मोटो रकम तिरेर आयात गरिने पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनमा जोड दिन लागिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र दुवैले मिलेर काम गर्नुपर्ने बताउनुहुन्छ। रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा विश्व बजारमा पर्दा इन्धनको मूल्य अकासिएको छ। त्यसबाट नेपाल पनि नराम्ररी प्रभावित भएको छ। इन्धनको मूल्य ओरालो लाग्ने सम्भावना कमै देखिन्छ। यस्तो अवस्थामा विद्युतीय सवारी साधनको प्रयोग गर्नुको विकल्प नै सबैभन्दा उत्तम हुन जान्छ।भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आवको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएको छ।विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारी साधन भित्रिएको छ। त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारी साधनको सङ्ख्या मात्रै १०१ वटा छन्। त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट बराबरको ब्याट्री क्षमता भएका ६५६ वटा विद्युतीय सवारी साधन स्वदेश भित्रिएका छन्।भारतबाट ४२४ वटा, दक्षिण कोरियाबाट विभिन्न क्षमताका १३२ वटा, अमेरिकाबाट १५ वटा, जापानबाट २८ वटा विद्युतीय सवारी साधनको आयात भएको छ। हाइब्रिडतर्फ ९जुन पेट्रोल र विद्युतीय दुवै० १४ वटा सवारी आयात भएका छन्। त्यसमा जर्मनीबाट दुई, दक्षिण कोरियाबाट चार, अमेरिकाबाट आठवटा त्यस्ता सवारी आयात भएका छन्।त्यस्तै, नेपालमा नै ल्याएर एसेम्बल गर्ने प्रयोजनका साथ चीनबाट ५८४ र भारतबाट १८० वटा विद्युतीय सवारी साधन आयात भएको विभागको विवरणमा उल्लेख छ।कार, जीप र भ्यानको आयात मूल्य हेर्दा तीन अर्ब ९७ करोड १० लाख ९४ हजार बराबर देखिन्छ। ती सवारी आयात गर्दा सरकारले रु. एक अर्ब आठ करोड १६ लाख ३३ हजार बराबरको भन्सार राजश्व सङ्कलन गरेको छ।यस्तै, साझा यातायातले ४० वटा विद्युतीय सवारी साधन आयात गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। तीमध्ये तीनवटा विद्युतीय बस नेपाल आइपुगेका छन्। निजी क्षेत्रको सुन्दर यातायातले काठमाडौँको चक्रपथमा विद्युतीय बसमार्फत सेवा दिइरहेको छ। यसबाट देशमा क्रमशः विद्युतीय सवारी साधनको हस्तक्षेप बढ्दै गएको देखिन्छ।त्यस्तै, सरकारले पेट्रोलियम पदार्थको प्रयोग हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न पाउने कानुनी प्रबन्ध गरेको छ। राजपत्रमा सूचना नै प्रकाशित गरेर त्यस्तो व्यवस्था गरिएको हो।विश्वव्यापी रुपमा हेर्दा चीनमा सन् २०२१ मा मात्रै ११ लाख ४९ हजार वटा नयाँ विद्युतीय सवारी साधन दर्ता भए। अमेरिकामा दुई लाख ९७ हजार, युरोपमा १० लाख ६० हजार वटा विद्युतीय सवारी साधन त्यस वर्ष दर्ता भएको देखिन्छ।नेपालमा पनि विद्युतीय सवारी साधनप्रतिको चासो बढ्दै गए पनि सहज रुपमा चार्जिङ स्टेशन उपलब्ध हुन सकेको छैन। प्राधिकरणले पहिलो चरणमा देशभर निर्माण गर्न लागेको ५० चार्जिङ स्टेशनको काम अगाडि बढिरहेको छ।निजी क्षेत्रबाट हुन्डाई कम्पनीले देशभर ४० वटा चार्जिङ स्टेशन निर्माण गरेको छ। निजी क्षेत्रका सवारी साधन बिक्रेता कम्पनीले आफ्नै सापेक्षतामा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिरहेको छ। विपी राजमार्गमा चल्ने दिगो सवारीले आफैँ चार्जिङ स्टेशन निर्माण गरेको छ। निजी क्षेत्रले समेत चासो देखाएको अवस्थामा सरकारले नीतिगत रुपमा थप प्रस्ट पार्नुपर्ने आवश्यकता बढेर गएको छ।सरकारले भन्सार दर न्यून गरेको छ। तर सहज रुपमा चार्जिङ स्टेशन निर्माण गर्ने विषयलाई प्राथमिकतामा साथ अगाडि बढाउनुपर्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले विद्युतीय स्कुटर निर्माण गरेर परीक्षण गरिसकेको छ। नास्टका प्रमुख वैज्ञानिक रवीन्द्र ढकालका अनुसार सरकारले केही नीतिगत विषयमा प्रस्ट पारेको खण्डमा पेट्रोलिय पदार्थको प्रयोग हुने सवारी साधनलाई विस्थापन गर्न सकिन्छ। रमेश लम्साल/रासस
गाउँपालिकाको आन्तरिक आम्दानी गरी युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले व्यवसायिक बाख्रा पालन गर्न गाउँपालिकाले बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ ।
ताप्लेजुङमा आसन्न स्थानीय तहको निर्वाचनमा याङ्मा मतदान केन्द्रमा जिल्लाकै थोरै मतदाता सहभागी हुने भएका छन् । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मास्थित याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६० जना मात्र मतदाता सहभागी हुने भएका हुन् ।
काठमाडौँ, वैशाख ५ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा दोस्रो स्थानको मार्सेलीलाई २-१ गोलले हराउँदै पीएसजी उपाधि नजिक पुगेको हो । पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले गोल गर्नुभयो । मार्सेलीका डुजे कालेटा कारले सान्त्वना गोल फर्काउनुभयो । नेयमारले १२औँ मिनेटमा खाता खोल्नुभएको थियो । ३१औँ मिनेटमा डुजे कालेटा कारले गोल गर्दै मार्सेलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाउनुभयो । त्यसपछि थप गोल नहुँदा पीएसजी विजयी भयो । जितसँगै पीएसजीले शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीको ३२ खेलबाट ७४ अंक पुगेको छ । पराजित मार्सेली ५९ अंक सहित दोस्रो स्थानमा छ । एजेन्सी
काठमाडौँ, वैशाख ५ गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धा ‘सूर्य नेपाल च्यालेन्ज’ मंगलबार देखि पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । नेपालकै पूरानो गल्फ कोर्समा सञ्चालन हुने चार दिने प्रतियोगितामा सात जना नेपाली मूलका बेलायती गल्फरको समेत सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । ‘घरेलु गल्फ टुरका कारण पछिल्लो समय नेपाली गल्फरको स्तर बढेको छ । अधिकांश खेलाडीले अन्डर पार स्कोर खेल्न थालेका छन् । यही मेसोमा वेलायतमा रहेका राम्रा एमेच्योर खेलाडीलाई प्रतियोगिातमा सहभागिताको मौका दिईएको हो,’ आचार्यले भन्नुभयो । उहाँका अनुसार पाँच ह्यान्डीक्याप मुनिका सात जना बेलायती गल्फरले नेपाली गल्फरसँग प्रतिस्पर्धा गर्नेछन् । बेलायतका खेलाडीहरुमा महेन्द्र फगामी, विष्णु थापा, राजु तामाङ, समक लिम्बु, गजेन्द्र गुरुङ, भक्त शेरचन र देव राना हुनुहुन्छ । यी मध्ये गजेन्द्र शुन्य ह्यान्डीक्याप खेलाडी हुनुहुन्छ । चारदिने प्रतियोगितामा ३६ प्रो र २० एमेच्योर गरी ५६ खेलाडीको सहभागिता रहनेछ । कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । कूल ७२ होलको स्पर्धामा ३६ होलको समाप्तिसँगै २१ जना शीर्ष खेलाडी थप ३६ होलको फाइनलका लागि छनोट हुनेछन् । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् । प्रोतर्फ भुवन नगरकोटी, घरेलु प्रो जयराम श्रेष्ठ, सन्जय लामा, रवि खड्का र राम थापामगरलाई उपाधि दावेदार मानिएको छ । एमेच्योरतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङ मुख्य दावेदार भएको एसोसिएसनले जनाएको छ ।