• १२ असार २०८१, बुधबार

सुर्खेतमा एमाले र काँग्रेस बराबर

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, जेठ ७  गते । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका सबै पालिकाको मतगणना परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौवटै स्थानीय तहको परिणाम सार्वजनिक भएको हो । यस पटकको निर्वाचनमा सुर्खेतमा नेकपा एमालेले केही सुधार गरेर एमाले र काँग्रेस बराबर रहेका छन् ।

नेपाली काँग्रेसले २०७४ को निर्वाचनमा छवटा पालिका जितेकोमा यस पटक चारवटा पालिकामा सीमित रहेको छ । काँग्रेसले पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका र बराहताल गाउँपालिकामा जितेको छ भने चौकुने गाउँपालिकाको उपाध्यक्ष जितेको छ । काँग्रेसले २०७४ मा जितेका वीरेन्द्रनगर नगरपालिका, भेरीगङ्गा नगरपालिका र चिङ्गाड गाउँपालिका यस पटकको निर्वाचनमा एमालेले जितेको छ । 

यता नेकपा एमालेले भने केही सुधार गरेर चारवटा पालिका जितेको छ । उसले दुईवटा नगरपालिकाको प्रमुख, तीनवटा नगरपालिकाको उपप्रमुखसहित दुईवटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेले वीरेन्द्रनगर नगरपालिका, भेरीगङ्गा नगरपालिका, चिङ्गाड गाउँपालिका र सिम्ता गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै र लेकबेँसी नगरपालिकाको उपप्रमुख जितेको छ । तुलानात्मक रूपमा एमालेले अघिल्लो निर्वाचनभन्दा आफ्नो नतिजामा केही सुधार गरेको छ । अघिल्लो निर्वाचनमा दुई गाउँपालिका र एक नगरपालिका गरेर तीनवटा पालिका जितेको थियो । एमालेले अघिल्लो निर्वाचनमा जितेका दुईवटा पालिकामा हार व्यहोरेको छ भने काँग्रेसले जितेका दुईवटा पालिकामा जित हासिल गरेको हो । 

नेकपा माओवादी केन्द्रलाई यस पटक सुर्खेतमा तुलात्मक रूपमा केही फाइदा भएको छ । अघिल्लो निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादी केन्द्रले यस पटक एउटा गाउँपालिकाको अध्यक्ष जितेको छ । चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्क विक निर्वाचित हुनुभएको छ । 

सुर्खेतका पाँचवटा पालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र र एउटा पालिकामा काँग्रेस र एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धन गरेका थिए । काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका पाँच पालिकामध्ये एउटामा मात्रै गठबन्धनले जित्न सफल भएको छ । गठबन्धन भएका अन्य चार पालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

काँग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको लेकबेँसी नगरपालिकामा भने प्रमुखमा काँग्रेस विजयी भए पनि उपप्रमुखमा एकीकृत समाजवादीकी उम्मेदवारलाई हराउँदै नेकपा एमालेकी विमला खड्लुक मगर निर्वाचित हुनुभएको छ । यता प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा एमालेले जितेको छ ।

काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै प्रमुखमा एमालेका मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी हुनुभएको छ । ढकाल अघिल्लो निर्वाचनमा नगरको उपप्रमुखमा विजयी हुनुभएको थियो । प्रमुखमा ढकालले १६ हजार ३८ मत र उपप्रमुखमा खनालले २० हजार ३६४ मत ल्याएर विजयी हुनुभएको हो । 

नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत र नेकपा माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित हुनुभएको छ । समग्रमा सुर्खेतमा एमालेले चारवटा पालिकाको प्रमुख, पाँचवटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष, नेपाली काँग्रेसले चारवटा पालिकाको प्रमुख र पाँचवटा पालिकाको उपाध्यक्ष र नेकपा माओवादी केन्द्रले एउटा पालिकाको अध्यक्ष जितेको छ । ९९ वटा वडा रहेको सुर्खेतमा नेपाली काँग्रेसले ५२, एमालेले ४० र माओवादी केन्द्रले सातवटा वडाध्यक्ष जितेका छन् ।