• १० वैशाख २०८३, बिहिबार

भेरी नगर अस्पताल भवन निर्माण अन्तिम चरणमा

blog

भेरी नगरपालिका–७ मा निर्माणाधीन अत्याधुनिक अस्पताल भवन अन्तिम चरणमा। तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा
जाजरकोट, वैशाख १० गते ।
भेरी नगरपालिकामा निर्माणाधीन नगर अस्पताल भवन अन्तिम चरणमा पुगेको छ। भेरी नगरपालिका–७ स्थित स्याउली बजारमा निर्माण भइरहेको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको हो।

गाउँवस्तीका सर्वसाधारण बिरामी परेपछि सेवा दिन निर्माण थालिएको अस्पताल भवनको काम अघि बढिरहेको छ। भेरी नगरपालिकाले २०८१ फागुन १७ गते पाँच शय्याको अस्पताल भवन निर्माणका लागि चार करोड ३४ लाख नौ हजार ८०० रुपियाँमा २०८२ असार १५ गतेसम्म सम्पन्न गर्ने गरी वाइ के कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो।

निर्माण व्यवसायी नरेश आचार्यका अनुसार ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी ५ प्रतिशत काम असारको पहिलो हप्ताभित्र सम्पन्न गरी भेरी नगरपालिकालाई हस्तान्तरण गरिनेछ। भवन निर्माण भए पनि केही साना काम बाँकी रहेकाले ती काम समयमै सम्पन्न हुने उहाँले बताउनुभयो।

गाउँवस्तीका सर्वसाधारण बिरामी परेपछि उपचारका लागि निजी सवारी साधनमा महँगो भाडा तिरेर नेपालगञ्ज, सुर्खेत र काठमाडौँ जानुपर्ने बाध्यता छ। सोही बाध्यता अन्त्य गर्न स्थानीय सरकारले अस्पताल भवन निर्माण गरेको हो।

भेरी नगरपालिकाका इन्जिनियर मोहन मल्लका अनुसार सरकारले नगरपालिकामा १५ शय्याको अस्पताल अनिवार्य हुने मापदण्ड भए पनि जाजरकोट सदरमुकामस्थित भेरी नगरपालिकामा ५० शय्याको अस्पताल भएकाले स्थानीयबासीको पहुँच पुग्ने स्थानमा स्थानीय सरकारले भवन निर्माण गरेको हो।

भेरी नगरपालिका–८ का गोरख चन्दले स्थानीय सरकारले निर्माण गर्न थालेको नगर अस्पतालले गाउँवस्तीका सर्वसाधारणलाई सहज हुने बताउनुभयो। उहाँले अस्पताल छिट्टै सञ्चालनमा ल्याउन पनि आग्रह गर्नुभयो। गाउँबस्तीमै अस्पताल भवन निर्माण भएपछि गरिब, दलित र विपन्न आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोग्दै आएका सर्वसाधारण खुसी भएका छन्।