• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा नेपाली काँग्रेस अगाडि

blog

पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष राजसमझ चौधरी । तस्बिर सौजन्य : कुलराज चौधरी

धनगढी, जेठ ७ गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये शुक्रबार साँझसम्म ७८ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले ३५, नेकपा (एमाले) ले २३, नेकपा (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले तीन, एकीकृत समाजवादी दुई र बैतडीको डिलासैनीमा एमालेबाट विद्रोह गरेका एक स्वतन्त्रले पालिका प्रमुख जितेका छन् ।अब कैलालीका चार, अछामको एक, बाजुराका दुई र कञ्चनपुरका चारवटा पालिका गरेर १० वटा पालिकाको नतिजा आउन बाँकी छ । 

सुदूरपश्चिममा पहिलो महिला नगरप्रमुख

यस पटकको निर्वाचनबाट सुदूरपश्चिममा पहिलो महिला नगरप्रमुखका रूपमा पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने निर्वाचित हुनुभएको छ । 

नेपाली काँग्रेसकी उम्मेदवार चलाउनेले तीन हजार ६५३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी माओवादीका रामबहादुर विकले तीन हजार १७२ मत प्राप्त गर्नुभयो । यस्तै एमालेबाट प्रमुख उम्मेदवार नन्दबहादुर कडायतले दुई हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्टले ६९२ र स्वतन्त्र उम्मेदवार टङ्क तिमिल्सेनाले १५४ मत प्राप्त गर्नुभयो ।

निवर्तमान नगर उपप्रमुखसमेत रहनुभएकी चलाउने काँग्रेस सुदूरपश्चिम प्रदेशको सहमहामन्त्रीसमेत हुनुहुन्छ ।

०७४ को स्थानीय तहको चुनावमा भने डोटीको दीपायल सिलगढी नगरपालिकाबाट एमालेकी मञ्जु मलासी प्रमुखमा विजयी हुनुभएको थियो । यस पटक लम्कीचुहामा पनि काँग्रेसकी सुशीला शाही प्रमुखमा निर्वाचित हुने सम्भावना बढेको छ । नगरप्रमुखमा उठेका अमरगढीमा सङ्गीता भण्डारी, बेलौरीमा कमल बोहरा, वेदकोट नगरपालिकामा सुशीला सिंह भने पराजित भइसक्नुभएको छ । अछामको साँफेबगरको एउटा वडामा शुक्रबार चुनाव सम्पन्न भएको छ । साँफेबगरमा एमालेकी पशुपति कुँवर प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै पञ्चदेवल विनायक नगरपालिकाको उपप्रमुखमा पनि काँग्रेसकै हर्कबहादुर रावल विजयी हुनुभएको छ । उहाँले चार हजार १८८ र निकटतम प्रतिद्वन्द्वी माओवादीकी रीता रावलले दुई हजार ६१८ मत पाउनुभयो । यस्तै, एमालेका राजु सञ्ज्यालले एक हजार दुई र समाजवादीकी कृष्णा जैसी न्यौपानेले ८७८ मत पाउनुभयो । 

अछाम समाचारदाताका अनुसार नौ वडा रहेको सो पालिकामा नेपाली काँग्रेस सात वडामा विजयी भएको छ । काँग्रेसबाट वडाध्यक्षमा विजयी हुनेमा वडा नम्बर १ मा दुर्गाप्रसाद तिमिल्सेना, ४ मा हर्क बडुवाल, ६ मा कमल रावल, ७ पुल्लेतोलामा सुरत रावल, ८ बारलामा छत्रबहादुर शाही, ९ कालेकाँडामा रामप्रसाद जैसी रहनुभएको छ । यस्तै वडा नम्बर २ मा एकीकृत समाजवादीका कृपाराम धामी, ३ मा एमालेका बज्जिर शाही र ५ मा माओवादीका हेमबहादुर शाही वडाध्यक्षमा विजयी हुनुभएको छ । 

वैशाख ३० गते भएको मतदानका क्रममा पञ्चदेवल विनायक नगरपालिका–५, लयाँटीमा मतदानका क्रममा झडप भएपछि सो स्थानमा मङ्गलबार पुुनः मतदान भएर मतगणनामा ढिलाइ भएको थियो । 

पद तथा गोपनीयताको शपथ

बझाङ समाचारदाताका अनुसार बझाङ जिल्लाका १२ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङमा जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीले नवनिर्वाचित पालिकाका प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९ अनुसूची २ अनुसार पालिकाका प्रमुख तथा अध्यक्षलाई शपथ गराउनुभएको हो । बझाङका १२ वटा पालिकामध्ये दुईवटा नगरपालिका र चारवटा गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ भने तीन गाउँपालिकामा एमालेले जितेको छ । त्यस्तै दुई गाउँपालिकामा माओवादी र एक गाउँपालिकामा एकीकृत समाजवादीले विजय हासिल गरेको छ । 

बझाङमा तीनदलीय गठबन्धन गरेर काँग्रेस, माओवादी र समाजवादी निर्वाचनमा होमिएका भए पनि साइपाल गाउँपालिका, थलारा गाउँपालिका र तल्कोट गाउँपालिकामा भने एमालेले जितेको छ । गठबन्धनभित्र भएको आन्तरिक विवादको फाइदा एमालेले लिएको गठबन्धनका दलहरूको बुझाइ छ । 

यद्यपि अघिल्लो स्थानीय तहको निर्वाचनमा आठवटा पालिकाका प्रमुख/उपप्रमुख जितेको एमालेलाई यस पटक गठबन्धनका कारण ठूलो क्षति पुगेको छ ।

कञ्चनपुरमा पाँच प्रमुखको शपथ 

कञ्चनपुर समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनमा निर्वाचित कञ्चनपुरका पाँच पालिकाका पाँच जना प्रमुख/अध्यक्षले शपथग्रहण गरेका छन् । 

शुक्रबार जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृत मदन धामीले प्रमुख/अध्यक्षलाई शपथग्रहण गराउनुभएको हो । शपथग्रहण गर्नेमा वेदकोट नगरपालिका, बेलौरी नगरपालिका, दोधाराचाँदनी नगरपालिका, बेल्डाँडी गाउँपालिकाका र लालझाँडी गाउँपालिकाका प्रमुख/अध्यक्ष छन् । कञ्चनपुरका चार पालिकाको अझै गणना भइरहेको छ । 

पदभार ग्रहण

धनगढी समाचारदाताका अनुसार कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवती चौधरीले पदभार ग्रहण गर्नुभएको हो । वडाध्यक्षले भने आ–आफ्नो वडामा समय मिलाएर पदभार ग्रहण गर्ने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो । 

पदभार ग्रहण गर्नुभन्दा अगाडि गाउँपालिका अध्यक्ष चौधरीले उपाध्यक्षसहित वडाध्यक्ष, सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । यसैगरी निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

कैलारी गाउँपालिकामा नेकपा माओवादीलाई ‘क्लिन स्विप’ गर्दै नेपाली काँग्रेस विजयी भएको छ । १ देखि ९ सम्मको वडाध्यक्षमा क्रमशः ध्वज हरिपाल बोहरा, विकास चौधरी, सन्तराम चौधरी, ठगुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी, दीपेन्द्र बम, तारामल कठरिया र खेमराज चौधरी निर्वाचित हुनुभएको छ । 

मोहन्यालका अध्यक्षको शपथ नहुने 

टीकापुर समाचारदाताका अनुसार निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीको उम्मेदवार भएर निर्वाचित हुनुभएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथग्रहण रोक्न निर्देशन दिएको छ । कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन आयोगको निर्देशनअनुसार उहाँको शपथ रोकिएको बताउनुभयो । 

उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन छ । ०७४ को स्थानीय तह निर्वाचनमा वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उहाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । मोहन्यालकै नेपाली काँग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा जित्नुभएका नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

Author

सुदूरपश्चिम ब्युरो