कैलाली, जेठ ७ गते । लम्कीचुहा नगरपालिको प्रमुखमा सुशीला शाही र उपप्रमुखमा जुना चौधरी विजयी हुनुभएको छ ।
कांग्रेसबाट उम्मेदवार बन्नुभएका शाहीले गठबन्धनका तर्फबाट १२ हजार ७१३ मत प्राप्त गर्दै एमालेका उम्मेदवार तथा यस अघिका नगरप्रमुख महादेव बजगाईलाई दुई हजार २७८ मतले पराजित गर्नुभएको छ । बजगाईले १० हजार ४३५ मत पाउनु भएको छ ।
उपप्रमुखमा भने एमाले उम्मेदवार जुना चौधरीले ११ हजार ७०८ मत पाई गठवन्धनकी उम्मेदवार जानकीकुमारी सिंहलाई दुई हजार ४०० मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । सिंह माओवादीको तर्फबाट गठवन्धनकी उम्मेदवार हुनुहुन्छ । सिंहले आठ हजार ३०८ मत प्राप्त गर्नु भएको लम्कीचुहाका निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिनुभयो ।
प्रमुखमा विजयी शाही २०७४ को प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवार भैसक्नु भएको छ भने एमालेबाट उपप्रमुख विजयी चौधरी राष्ट्रिय नमूना मावि मोतिपुरमा १७ वर्ष सामाजिक विषय शिक्षक भई अध्यापनरत हुनुहुन्थ्यो ।
१० वटा वडा रहेको लम्कीचुहामा नेपाली कांग्रेसले पाँच वडा, नेकपा एमालेले दुई वडा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एकएक वटा वडामा विजय प्राप्त परेका छन् ।