• ८ पुस २०८१, सोमबार

हावाहुरीबाट तीनको मृत्यु : आन्तरिक उडान अवरुद्ध

blog

चितवन, जेठ ७ गते । शुक्रबार साँझ आएको हावाहुरीमा परी चितवनमा तीन जनाको मृत्यु भएको छ । यता राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दस वटाभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन महानगरपालिकाको वडा नं. ११, भोजाडमा अटोरिक्सा च्यापिँदा चालक प्रदीप लामा र एक महिलाको मृत्यु भएको छ । बसेनीमा म्याजिक भ्यान च्याँपिदा लोकनाथ न्यौपानेको मृत्यु भएको छ । हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 

हावाहुरीका कारण रुख ढल्दा चितवनमा बिजुलीका पोलहरू पनि ढलेका छन् । यसले गर्दा बिजुली सेवा अवरुद्ध भएको छ । यसैगरी चितवनको पहिलो एफएम रेडियो स्टेसन सिनर्जी एफएमको टावर ढल्दा प्रसारण अवरुद्ध भएको छ ।  केही दिनयता मुलुकभर हावाहुरी चल्ने, आकाश गर्जने, चट्याङ पर्नेलगायतका घटना हुँदा मानवीय र भौतिक क्षति हुने गरेको छ । चितवनका धेरै सडकमा बिजुलीका पोलहरू ढल्दा आवागमन पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Author

वसन्त पराजुली