• १३ साउन २०८१, आइतबार

बागमतीमा गठबन्धन अगाडि

blog

हेटौँडा, जेठ ७ गते । स्थानीय तह सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका अधिकांश स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार पाँचदलीय गठबन्धन अगाडि रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो स्थानमा छ । मत परिणाम सार्वजनिक भएका स्थानीय तहहरूमा धमाधम पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण सुरु भएको छ । 

सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । कमलामाई नगरपालिका प्रमुखमा सत्तारूढ गठबन्धनबाट नेपाली काँग्रेसका उपेन्द्रकुमार पोख्रेल निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार १८७ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेन्द्रदेव श्रेष्ठले १२ हजार ५७६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा (एमाले)का मञ्जु देवकोटा १२ हजार ६९४ मत प्राप्त गरी पुनः निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत प्राप्त गर्नुभएको छ ।

पछिल्लो परिणामअनुसार सिन्धुलीको नौवटा स्थानीय तहमध्ये सातवटा पालिका सत्तारूढ गठबन्धनको पोल्टामा गएको छ । नेकपा (एमाले) ले दुईवटा पालिका जितेको छ । सत्तारूढ गठबन्धनले कमलामाई नगरपालिका, दूधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा जितेको हो ।

त्यस्तै, नेकपा (एमाले)ले फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिका जितेको छ । जिल्लाको ७९ वडामध्ये काँग्रेसले ३० वटा, नेकपा (माओवादी केन्द्र)ले २६ वटा र नेकपा (एमाले)ले २३ वडा जित्न सफल भएको छ । 

धादिङ समाचारदाताका अनुसार धादिङको १३ स्थानीय तहमध्ये सातवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (माओवादी केन्द्र), दुईवटामा नेकपा (एमाले) र एउटा पालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । 

काँग्रेसबाट नीलकण्ठ नगरपालिकाको प्रमुखमा भीमप्रसाद ढुङ्गाना, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा राजु उप्रेती, खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल, ज्वालामुखी गाउँपालिकामा यमनाथ दनै, गङ्गाजमुना गाउँपालिकामा भक्तबहादुर लामा र सिद्धलेक गाउँपालिकामा परशुराम खतिवडा विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ र बेनिघाटरोराङ गाउँपालिकामा कृष्णबहादुर थपलिया विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै नेकपा (एमाले)बाट गल्छी गाउँपालिका अध्यक्षमा केदार खतिवडा र थार्के गाउँपालिकामा रामकुमार आचार्य विजयी हुनुभएको छ । धुनीबेँसी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का बालकृष्ण आचार्य विजयी हुनुभएको छ । गाउँपालिका उपाध्यक्षहरूमा नेपाली काँग्रेसबाट रुबीभ्यालीमा फेलामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकामा सीतामाया गुरुङ, गल्छी गाउँपालिकामा भाइकाजी तिवारी, धुनीबेँसी नगरपालिकामा सुरज उप्रेती, गजुरी गाउँपालिकाको उपाध्यक्षमा शर्मिला विसुराल निर्वाचित हुनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का तर्फबाट नीलकण्ठ नगरपालिकाबाट उपप्रमुखमा दीपक विश्वकर्मा, त्रिपुरासुन्दरी गाउँपालिकाबाट उपाध्यक्षमा देवराज धरेल, खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ, गङ्गाजमुना गाउँपालिकाको उपाध्यक्षमा रामेश्वर सिंखडा र थार्के गाउँपालिकाको उपाध्यक्षमा यन्त्रबहादुर थापा निर्वाचित हुनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी)बाट ज्वालामुखी गाउँपालिका उपाध्यक्षमा धर्मबहादुर अर्याल, सिद्धलेक गाउँपालिकाको उपाध्यक्षमा सविता अर्याल र बेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षमा टापबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । जिल्लामा १०४ वडा रहेकोमा काँग्रेसले ३६ वटा, नेकपा (माओवादी केन्द्र)ले ३२ वटा, नेकपा (एमाले)ले २१, नेकपा (एकीकृत समाजवादी)ले छ, राप्रपाले चार, स्वतन्त्रबाट चार र जनता समाजवादीबाट एक जना वडाध्यक्ष विजयी भएका छन् ।

दोलखा समाचारदाताका अनुसार  दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनका ईश्वरनारायण मानन्धर विजयी हुनुभएको छ । नेपाली काँग्रेसबाट नगरप्रमुखका विजयी मानन्धरले आठ हजार ७२३ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का हरिवंश चौलागाईंले सात हजार ३०१ मत पाउनुभएको छ । 

उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कमला बस्नेत विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)की सङ्गीता पाख्रिनलाई ३४३ मत अन्तरले कमला बस्नेत उपप्रमुखमा विजयी हुनुभएको हो ।

विजयी बस्नेतले सात हजार २६४ मत ल्याउनुभएको छ । पाख्रिनले छ हजार ९२१ मत पाउनुभएको छ । नगरका नौ वडामध्ये चार वडामा सत्ता गठबन्धन र पाँच वडाको वडाध्यक्षमा नेकपा (एमाले) विजयी भएका छन् ।बनेपा समाचारदाताका अनुसार काभ्रेको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का अशोककुमार ब्याञ्जू निर्वाचित हुनुभएको छ ।

ब्याञ्जूले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका निराजन जङ्गम विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)की लालतारा अधिकारीलाई पराजित गर्नुभएको हो । 

शुक्रबार सार्वजनिक मत परिणामअनुसार पनौती नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले)की गीता बञ्जारा विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । बेथानचोक गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की तारा राना तिमल्सिना निर्वाचित हुनुभएको छ । 

रोसी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दिनेश लामा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मिमबहादुर वाइबा विजयी हुनुभएको छ । १३ वटा स्थानीय तह रहेको काभ्रेमा शुक्रबार साँझसम्म ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । महाभारत गाउँपालिका र पाँचखाल नगरपालिकाको मतगणना भइरहेको छ । 

रामेछाप समाचारदाताका अनुसार जिल्लाका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूले शपथग्रहण गरेका हुन् ।

रामेछापका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीले उहाँहरूलाई शपथ गराउनुभएको हो । शपथग्रहण गराउँदै ओलीले दलका प्रतिनिधिले राम्रो काम गर्न नसक्दा दल र आफ्नो पनि भविष्य बर्बाद हुने भएकाले त्यसलाई ध्यानमा राखेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो । मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जनप्रतिनिधिले नमुना काम गरेको सुन्न र देख्न चाहेको बताउनुभयो । 

कार्यक्रममा मन्थली नगरपालिका नवनिर्वाचित प्रमुख लव श्रेष्ठले सबै जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, स्थानीयवासी र कर्मचारीसँग समन्वय गरी विकास निर्माणको काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामेछापका आठवटा स्थानीय तहमध्ये नेकपा (एमाले)बाट मन्थली नगरपालिका प्रमुखमा लव श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र खाँडादेवी गाउँपालिका अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसैगरी नेपाली काँग्रेसबाट रामेछाप नगरपालिका प्रमुखमा लवश्री न्यौपाने, गोकुलगङ्गा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा केशव महत निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) बाट दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा मैनकुमार मोक्तान र सुनापति गाउँपालिका अध्यक्षमा ठूलोकान्छा तामाङ निर्वाचित हुनुभएको छ ।

Author

बागमती प्रदेश ब्युरो