• ७ मंसिर २०८१, शुक्रबार

यसरी हुनसक्छ सडक दुर्घटना न्यूनीकरण

blog

सडक दुर्घटना अन्तर्राष्ट्रिय समस्या हो । विश्वभर सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेको सङ्ख्या करिब १३ लाख रहेको तथ्याङ्कले देखाउँछ । दुर्घटना न्यूनीकरण गर्न विश्वभर नै विभिन्न सङ्घसंस्था क्रियाशील भए पनि अपेक्षित नतिजा आउन सकेको छैन । नेपालमा पनि सडक दुर्घटनामा परी दैनिक सात-आठजनाले ज्यान गुमाइरहेका छन् ।

टिप्पर र ट्रक दुर्घटनाले ठूलै हिस्सा ओगटेको पाइन्छ । विगत चार वर्षमा टिप्पर-ट्रकबाट २६४९ दुर्घटना भएको पाइन्छ भने प्रत्येक दिन सरदर दुई वटा टिप्पर दुर्घटनामा परेको अवस्था छ । केही हप्ताअघि साँखुमा टिप्पर दुर्घटनाबाट दुईजना स्कुले बालिकाले ज्यान गुमाएका थिए ।  टिप्पर-ट्रक दुर्घटना किन र कसरी भइरहेको छ भनेर सबैको चासोको विषय बनेको छ । यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले प्रयास गरिरहे पनि अपेक्षित नतिजा हासिल हुन सकेको छैन । 

ब्लाइन्ड स्पट (चालकले नदेख्ने ठाउँ) न्यूनीकरण गर्ने

सडकमा गुड्ने  टिप्पर-ट्रक यस्तो साधन हो जसमा चालकले यसको पछाडि र साइडको धेरै भाग देख्न सक्दैन । ब्लाइन्ड स्पट धेरै हुने हुँदा दुर्घटनाका सम्भावना बढ्नु स्वाभाविक हो । प्रायजसो टिप्पर-ट्रकमा यस्ता ब्लाइन्ड स्पट न्यूनीकरण गर्न चालकको दुवै साइडतिर एक–एक वटा ‘रिएर भिउ मिरर’ जडान गरिएको हुन्छ । यसबाट जति मात्रामा टिप्पर-ट्रकका पछाडिका र साइडतिरका भाग देख्नुपर्ने हो त्यति मात्रामा देख्न नसक्दा ब्लाइन्ड स्पट सिर्जित हुन गई दुर्घटनाका सम्भावना बढेर जान्छ ।  टिप्पर-ट्रकको विण्डसिल्डमा विभिन्न प्रकारका स्टिकर टाँसिनु र क्यबिनमा विभिन्न सजावटका वस्तु राखिनु दुर्घटनाको कारक हो । 

दुर्घटना घटाउन टिप्पर-ट्रकले दायाँबायाँ साइडमा दुई–दुई थान रिएर भिउ मिरर जडान गर्नुपर्छ । ट्रकको अगाडिको भाग पनि देखिने गरी थप एक थान मिरर जडान गरी सेफ्टी कोड नै लागू गर्नुपर्छ । यस्तो प्रावधानले ट्रकको ब्लाइन्ड स्पट न्यूनीकरण भई दुर्घटनामा कमी आउँछ ।  टिप्पर-ट्रकको विण्डसिल्डमा स्टिकर टाँस्न बन्देज गर्ने र क्याबिनभित्र सजावटका सामग्री प्रयोग गर्नसमेत बन्देज लगाउन जरुरी छ । यसो गर्न सके ब्लाइन्ड स्पट स्वतः कम हुन गई दुर्घटना न्यून हुनेछ । 

चालकलाई जुत्ता अनिवार्य 

टिप्पर-चालक पानी हिलोमा समेत हिँडडुल गर्नुपर्ने बाध्यता हुने भएकाले कतिपयले सजिलोका लागि जुत्ताको सट्टा चप्पल लगाउने गर्छन् । यसरी चप्पल प्रयोग गर्दा चप्पल चिप्लेर वा अल्झेर ब्रेक, क्लच र एक्सलरेटर कन्ट्रोल गर्न समस्या भई दुर्घटनाका सम्भावना बढ्छन् । टिप्पर-ट्रकलगायत अन्य सवारी चालकलाई पनि जुत्ता अनिवार्य गरिएमा यस्ता साधन कन्ट्रोल गर्ने मुख्य पार्टजस्तै ब्रेक, क्लच र एक्सलरेटर पेडल आदि प्रभावकारी रूपमा कन्ट्रोल हुन गई दुर्घटना न्यूनीकरण हुने देखिन्छ । 

ओभरलोड र हाइस्पिडको अनुगमन प्रभावकारी बनाउने

नेपालका सडकमा गुड्ने टिप्पर-ट्रक तथा अन्य हेभी सवारी साधन प्रायःजसोले तोकिएको लोड क्षमताभन्दा बढी बोकेर गुडिरहेका हुन्छन् । यस्ता सवारीका स्पिड पनि प्रायः गरी तोकिएको भन्दा बढीमा सञ्चालन भइरहेको पाइन्छ । यस्तो हुँदा भनेको ठाउँमा गाडी नरोकिने, कन्ट्रोल गर्न समस्या हुनुका साथै अन्य मेकानिकल पार्टपुर्जासमेत बिग्रन गई दुर्घटनाका सम्भावना बढ्न जाने देखिन्छ । 

सडकको इन्ट्री प्वाइन्टमा व्यापक रूपमा ‘ओइङ ब्रीज’ अर्थात् गाडीको लोड नाप्ने मेसिन जडान गर्नुपर्ने, सडकका किनारमा सिसी टिभी क्यामेरा जडान गर्ने, ट्राफिक प्रहरीको अनुगमन कार्यलाई व्यापक बनाउनुपर्छ । यसो भएमा ओभरलोड र ओभर स्पिड अनुगमन कार्य प्रभावकारी भई दुर्घटना न्यून हुनेछ । 

ट्रिप भत्तालाई वैज्ञानिक बनाउने

 टिप्पर-ट्रक सञ्चालन गर्ने व्यवसायीले  टिप्पर सञ्चालनबाट अधिकतम फाइदा लिन चालकलाई ट्रिप भत्ताको व्यवस्था गरेको हुन्छ । यस्तो प्रावधानबाट चालकले स्वतः गाडी हाई स्पिडमा चालउनुको साथै गाडीमा लोड पनि क्षमताभन्दा बढी बोकेर हिँड्ने गरेका हुन्छन् । यस्तो परिस्थितिमा चालकले कतिपय सुरक्षाका विषयमा सम्झौता गरी दुर्घटना बढ्छ । 

सर्वप्रथमः ट्रिप भत्ता दिने प्रथा हटाउन सके अति राम्रो हुने हुन्छ । व्यवहारमा यो लागू हुन सक्दैन । ट्रिप भत्ता हिसाब गर्दा प्राविधिकलाई संलग्न गरी गाडीले कति लोड बोक्ने, कति स्पिडमा सञ्चालन गर्ने भनी एक ट्रिपमा यति लोड र यो स्पिडमा सञ्चालन गर्ने भनेर मात्र ट्रिप इन्सेन्टिभ तोक्दा वैज्ञानिक र व्यावहारिक दुवै हुने हुन्छ । यसो भएबाट १५ ट्रिपको सट्टा १२ ट्रिप हुन सक्ला तर दुर्घटना न्यूनीकरण गर्न सकिन्न । यसका साथै  टिप्पर-ट्रक व्यवसायीलाई यस विषयमा संवेदनशील बन्न सरकारका तर्फबाट पनि पहल गर्नुपर्छ । व्यवसायी आफैँ पनि यस विषयमा बढी संवेदनशील बन्नुपर्छ । 

जसको गल्ती उसैलाई कारबाही 

सार्वजनिक सडकमा सञ्चालन हुने सबै प्रकारका सवारी तथा वाहनका चालक (साइकल चालकसमेत) ले ट्राफिक नियम पालना गर्नुपर्छ । साइकल, मोटरसाइकल र रिक्सा चालक सडकमा आफ्नो वाहन चलाउँदा जति जिम्मेवार हुनुपर्ने हो त्यति मात्रामा भएको पाइँदैन । चालकको गल्तीले ठूला सवारीसँग ठोकिन गई दुर्घटना भएमा क्षतिपूर्ति ठूला चालकले बेहोर्नुपर्ने परिपाटी धेरै समयदेखि चलिआएको छ । यसो हुँदा साना साधनका चालकको लापरबाहीले गर्दा दुर्घटनाका सम्भावना बढेर जाने देखिन्छ । 

सानो र ठूलो सवारीसाधन सञ्चालन गर्ने चालक भनी नछुटाइ जसको गल्ती हो उसलाई नै कारबाही गर्ने, नियम निर्माण गर्ने वा भएकोलाई संशोधन गर्नुपर्छ । सार्वजनिक सडकमा आएपछि मोटरसाइकलमा तीनजना राखे पनि खासै कारबाही हुँदैन । मोटरसाइकलमा दुईजनाभन्दा बढी व्यक्ति सवार हुँदा पनि दुर्घटना बढेको छ । मोटरसाइकलमा सवार दुईजनामध्ये चालकले मात्रै हेल्मेट लगाए हुने भएकाले पछाडि बस्ने जोखिमा हुने भयो । 

चालकलाई तालिमको व्यवस्था

 टिप्पर-ट्रक र हेभी गाडीको लाइसेन्स प्राप्त गर्न तालिमको आवश्यकता पर्दैन । मात्रै दुई वर्ष पुरानो लाइट गाडीको लाइसेन्स भई ट्रायल पास भए हुन्छ । यस्तो प्रावधानले हेभी गाडी सञ्चालन गर्ने चालकले सुरक्षासम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान जति प्राप्त गर्नुपर्ने हो त्यति प्राप्त गर्न नसक्दा दुर्घटना बढ्ने भयो । हेभी गाडीको लाइसेन्स प्राप्त गर्न चालकले तालिम प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने कानुनी व्यवस्था हुनुपर्छ । यसले पनि दुर्घटना न्यूनीकरण हुन्छ । 

चालकलाई लाइसेन्स प्राप्त गर्न उमेरको हद संशोधन 

हेभी सवारी लाइसेन्स प्राप्त गर्न २१ वर्ष उमेर पुगेको हुनुपर्छ । साधारणतया २१ वर्षका युवा भनेको नेपालको परिवेशमा आलाकाँचा र जोसिलासमेत हुन्छन् । यो उमेरमा पारिवारिक जिम्मेवारी पनि कम हुने हुनाले यस्ता युवा चालकले धेरै रिस्क लिने र सुरक्षाको मामिलामा धेरै सम्झौतासमेत गर्ने भएकाले दुर्घटना बढी हुन्छ । हेभी गाडीको लाइसेन्स प्राप्त गर्न विद्यमान २१ वर्ष उमेरको हदलाई संशोधन गरी कम्तीमा २५ वर्ष कायम गर्नुपर्छ । यसो भएमा चालक परिपक्व हुनुका साथै यो उमेरसम्ममा साधारणतया उनीहरूको पारिवारिक जिम्मेवारीसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरण हुन सक्छ । 

आधारभूत शिक्षाको हद तोक्नुपर्ने

हेभी सवारीसाधन विदेशी मुलुकमा निर्माण हुन्छन् । निर्माता कम्पनीले गाडी सम्बन्धित मेनुवल प्रायः अङ्ग्रेजी भाषामा प्रकाशन गरेका हुन्छन् । चालकले लाइसेन्स प्राप्त गर्न साधारण लेखपढ भए पुग्ने भएकाले उनीहरूले गाडी निर्माता कम्पनीबाट जारी गरिएका मेनुवल पढ्न सक्ने सम्भावना हुँदैन । चालकले सुरक्षासम्बन्धी ज्ञान जति हासिल गर्नुपर्ने हो त्यो नभई दुर्घटनाका सम्भावना बढेर जाने देखिन्छ । साथै चालकलाई सम्बन्धित तालिममा पठाउँदा पनि आधारभूत शिक्षाको कमीले गर्दा तालिमबाट पनि अपेक्षित लाभ लिन नसक्दा दुर्घटनाका सम्भावना बढ्ने भयो । 

हेभी सवारी चालक बन्न कम्तीमा पनि एसईईसम्मको शिक्षा प्राप्त गर्नुपर्ने देखिन्छ । यस्तो प्रावधान भए चालकले मेसिन निर्माता कम्पनीबाट जारी गरिएका मेनुवल पढ्न सक्षम हुने र मेनुवलमा लेखिएका विषय व्यवहारमा लागू हुने अपेक्षा गरिन्छ । यसबाहेक चालकलाई सम्बन्धित तालिममा पठाइँदा तालिमबाट फाइदा हुनसक्छ जसले दुर्घटना न्यूनीकरणमा ठूलो योगदान पुग्छ । 

दुर्घटना जाँचबुझ समिति गठन

प्लेन दुर्घटना भई कोही व्यक्ति हताहत नहुँदा पनि जाँचबुझ समिति गठन भएको पाइन्छ र त्यस्ता दुर्घटनाको सत्यतथ्य पत्ता लागि भविष्यमा यस्ता दुर्घटना नदोहोरियोस् भनेर रोकथामका उपाय अवलम्बन गरिन्छ । ट्रक÷बस दुर्घटना भई ठूलो जनधनको क्षति भए पनि जाँचबुझ समिति गठन भएको बिरलै पाइन्छ । यसका लागि पनि दुर्घटना छानबिन समिति बनाउन आवश्यक छ । 

जुनसुकै प्रकारका सवारी दुर्घटना भई एउटा व्यक्ति मात्र हताहत भए पनि प्राविधिकसमेत समावेश भएको जाँचबुझ समिति गठन गरी सत्यतथ्य पत्ता लगाइनुपर्छ । जाँचबुझ समितिको निष्कर्षको आधारमा परेमा नयाँ नियम कानुन निर्माण गर्नुपर्ने वा भएकालाई संशोधन गरिनुपर्छ । यसरी एकै प्रकृतिका दुर्घटना पटक पटक दोहोरिने सम्भावना कम भई दुर्घटनाका कमी आउँछ ।

माथिका बुँदामा उल्लिखित विषयबाहेक टिप्पर÷ट्रकबाट हुने सडक दुर्घटना न्यूनीकरण गर्ने अन्य धेरै उपाय हुन्छन् । यस्ता धेरै उपायमध्ये माथि उल्लिखित उपाय मात्र अवलम्बन गर्न गर्न सकिएमा हाल भइरहेका दुर्घटनामा कमी आउनेछ ।  टिप्पर चालकलाई मात्रै दोष नदिएर हामी पैदलयात्री तथा स–साना साधनवाहकका सवारी चलाउँदा जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । 

Author

बाबुराम गुरुङ