टोपलाल अर्याल
रेसुङ्गा, जेठ २६ गते । गुल्मी पश्चिमका गाउँहरुमा चिटिक्कका विद्यालयहरु धमाधम बनिरहेका छन् । अहिलेसम्म सात पालिकामा २० विद्यालय बने । जुन विद्यालयहरुको संरचना, रङ र शिक्षा एउटै छ । यु.डब्लु.एस नेपालले २०७४ सालबाट जिल्लाको शैक्षिक विकासमा काम गरिरहेको छ । जिल्लाका सात स्थानीय तहमा काम गरिरहेको यु.डब्लु.एस नेपाल एक गैर–सरकारी संस्था हो । यु.डब्लु.एस नेपालले स्थानीय तह र समुदायसँग मिलेर गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गरिरहेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका र इस्मा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । यु.डब्लु.एस नेपाले अहिले क्षेत्र नं १ को रुरुक्षेत्र गाउँपालिकामा भवन तथा शौचालय निर्माणको काम सञ्चालनमा रहेको छ । संस्थाले ०७४ मा धुर्कोट गाउँपालिका–७ वाग्लाको श्री रामपोखरी प्राविबाट आफ्ना कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
संस्थाले सम्झौताको पाँच वर्षपछि ती विद्यालयहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने सम्झौता गरेको छ । सोही सम्झौता अनुसार पशुपति निमावि, साउनेथुम आधारभूत विद्यालय, पन्चमीपोखरी प्रावि, सिद्ध प्रावि, देविस्थान प्रावि, रामपोखरी प्रावि समुदाय र स्थानीय सरकारलाई हस्तान्तरण गरी आवश्यक अनुगमनको काम भइरहेको यु.डब्लु.एस नेपालले जनाएको छ । यस्तै, पालुखा मावि, बरारुख आधारभूत विद्यालय पनि समुदाय र स्थानीय सरकारलाई हस्तान्तरण गरिनेछ ।
यु.डब्लु.एस नेपालले जिल्लाका सात पालिकामा २० वटा विद्यालय तथा शौचालय निर्माण गरिसकेको छ । रेसुङ्गा नगरपालिका–६ मा साउनेथुम आधारभुत विद्यालय र मुसिकोट–४ को वडागाउँमा पशुपति निमावि तथा वडा नं ८ वामी मैदानको मालारानी प्राविको भवन निर्माण गरिएको छ ।
त्यस्तै, इस्मा गाउँपालिका–६ मा बुल्म प्रावि र वडा नं २ मा पालुखा मावि, वडा नं ३ मा सुन्तलादेवी आधारभूत विद्यालय, मालिका गाउँपालिका–२ मा च्यानडाँडा मावि र सिद्ध मालिका आधारभूत विद्यालय वार्ड नं ५ मा सिद्ध प्रावि निर्माण गरिएको छ । त्यस्तै वडा नं ४ मा ठुलीचौर आधारभुत विद्यालय, वडा नं ८ मा सिद्धेश्वरी प्रावि, वडा नं ७ को बरारुख आधारभुत विद्यालय वार्ड नं ६ मा रानीपोखरी आधाभूत विद्यालय निर्माण गरिएको यु.डब्लु.एस नेपालका कन्ट्रक्सन अफिसर मेघराज खनालले जानकारी दिनुभयो ।
त्यस्तै, मदाने गाउँपालिका–१ मा बालविकास प्रावि, वडा नं २ मा पञ्चमी पोखरी प्रावि, वडा नं ३ मा खन्युखर्क आधारभूत विद्यालय र धुर्कोट गाउँपालिका–३ मा जनज्योती आधारभूत विद्यालय, वडा नं ४ मा देविस्थान प्रावि वडा नं ५ मा हिमालय माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । प्रत्येक ठाउँमा पाँचदेखि ११ कोठासम्मको विद्यालय आवश्यकताको आधारमा निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेको खनालले बताउनुभयो ।
उहाँका अनुसार आफ्नै कालिगडद्वारा विद्यालय संरचनासँगै शौचालय र खेलकुदका सामग्रीहरु निर्माण संस्थाले गर्छ । भौतिक संरचनाका लागि विद्यालय तथा स्थानीय समुदाय, स्थानीय सरकार र यु.डब्लु. एस नेपालको त्रिपक्षिय साझेदारीमा भौतिक पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गर्दछ । अहिले रुरुक्षेत्र गाउँपालिकाको बोटेगाउँमा विद्यालय निर्माण भइरहेको छ ।
यु.डब्लु.एस नेपालको उद्देश्य विद्यार्थीहरुलाई गन्न, पढ्न, लेख्न र सपना देख्न सक्षम बनाउनका लागि पढासँगै उत्प्रेरित गर्ने प्रमुख उद्देश्य रहेको छ । भौगोलिक रुपले विकट गरिब तथा दलित एवम् विपन्न बस्तीहरुमा संस्थाले सहयोग गर्दै आएको छ । वातारणीय पक्ष, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति, कक्षाकोठाको व्यवस्थापन र सिकाई क्रियाकलापसँगै पढाईको गुणस्तर हेरेर विद्यालयको वर्गीकरण गरिने यु.डब्लु.एस नेपालका शिक्षा संयोजक अनुज प्रसाद सिग्देलले जानकारी दिनुभयो ।
सिग्देलका अनुसार बालसुरक्षा आचारसंहिता, समावेशी शिक्षा नीति, पेसागत विकास तालिम, कक्षा अनुगमन, बालमैत्री वातावरणमा पठनपाठन सञ्चालन गरिएको छ । सन २०२५ देखि शून्य शैक्षिक गरिबी कार्यक्रमअन्तर्गत स्थानीय सरकासँगको साझेदारीमा मालिका गाउँपालिकामा सातवटा विद्यालय र इस्मा गाउँपालिकामा दस वटा गरी कुल १७ वटा विद्यालयमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको यु.डब्लु.एस नेपालका राष्ट्रिय निर्देशक अभिनाश झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०३० सम्ममा गुणस्तरिय शिक्षाको प्रत्याभुती गराएर दुई पालिकालाई शून्य शैक्षिक गरिबी पालिका घोषणा गरिने छ । विस्तारै जिल्लाका अरु पालिकामा पनि कार्यक्रम विस्तार गर्ने लक्ष्यसहित योजना निर्माणमा लागेको झाले बताउनुभयो । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले यु.डब्लु.एस नेपालको शिक्षा क्षेत्रमा काम गर्ने मोडालिडी निकै उत्कृष्ट भएकाले आफुहरुले पनि सहकार्य थालेको बताउनुभयो । समयमै भौतिक पूर्वाधार निर्माण गर्ने, समुदाय र सरकारसँगको साझेदारी तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यु.डब्लु.एस नेपालले उत्कृष्ट काम गरिरहेको ज्ञवालीले बताउनुभयो ।