काठमाडौँ, पुस १३ गते । जेनजी आन्दोलनका कारण रोकिएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन गरी अवार्डको नयाँ मिति सार्वजनिक गरेको हो ।
पोखरा सभागृहमा आयोजना हुने अवार्डअघि पुस २२ गते ‘एनएसजेएफ स्पोर्ट्स समिट’ पनि आयोजना गरिनेछ । समिटमा एडेभेन्चर स्पोर्ट्ससँग सम्बन्धित दुई सेसन हुनेछ ।
अवार्डका लागि सहप्रायोजकको रुपमा यती एयरलाइन्स र नासा सेक्युरिटिज थपिएको छ । स्पोर्ट्स अवार्डमा १० विधामा पुरस्कार प्रदान गरिनेछ ।
जसमा वर्षको उत्कृष्ट खेलाडी (पुरुष, महिला र युवा), वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधाका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।