• १२ पुस २०८२, शनिबार

भारतमा बेचिएका १० किशोरीको उद्धार

blog

पत्रकार सम्मेलनमा माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट । तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, पुस १२ गते । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० महिला तथा किशोरीहरूको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्म एक वर्षको अवधिमा १० जना किशोरी तथा महिलाको भारतको विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो । 

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार, उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबाद बाट एक–एक जना गरी ६ जना रहेका छन् । यसैगरी, भारतको दिल्ली, र गाजियाबाट दुई–दुई जना गरी ४ जनाको उद्धार गरिएको संयोजक भट्टले बताउनुभयो । 

भारतका फरक–फरक क्षेत्रमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उनीहरूको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार भएकामध्ये ८ जना बालिका र २ महिला रहेका छन् ।  

यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा विभिन्न स्थानबाट भारत लग्दै गरेको अवस्थामा २ सय ९ जनालाई रोकथाम गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको जनाएको छ । 

संयोजक भट्टका अनुसार, सीमानाका गड्डाचौकीबाट ८९ जना, चार लेन महाकाली पुलबाट ३१ जना, दोधारा चाँदनी झोलुङ्गे पुलबाट २९ जना, र जिल्ला प्रहरी कार्यालयको सहयोगमा विभिन्न स्थानबाट ६० जनालाई भारत जाँदैगर्दा उद्धार गरिएको छ । 

भारतमा पुगाएर बेचबिखन गर्ने योजनासहित नाका लगायतका क्षेत्रबाट रोकथाम गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन् । जसमध्ये, कञ्चनपुरका एकसय जना, कैलालीका ३२ जना, बैतडीका १४ जना, बझाङ्गका १० र डोटीका ८ जनालाई सीमा क्षेत्रमा नै रोकथाम गरी परिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताउनुभयो । 

दलालहरूले उनीहरूलाई भारत पुगाएर श्रम शोषण गर्ने, उत्तेजक नाचहरूमा लगाउने, शारीरिक अङ्गहरू विक्री गर्ने, भारतमा यौन पेसामा संलग्न गराउने जस्ता कामका लागि उनीहरूलाई विक्री गर्ने गरेको माइती नेपाल कञ्चनपुरका संयोजक भट्टले बताउनुभयो । 

यसैगरी, पछिल्लो एक वर्षको अवधिमा १८९ वटा खोजतलासका निवेदन समेत दर्ता भएको उहाँले बताउनुभयो । जसमा कञ्चनपुरका ६९, कैलालीका ४१, बझाङ्गका १३ र डोटी–डडेल्धुराका १०–१० जनासहित ८१ जना बालबालिका र १०८ महिला गरी १८९ निवेदन दर्ता भएको संयोजक भट्टले बताउनुभयो । उनीहरूमध्ये ८१ जना भेटिएका छन् । ११७ जना पछिल्लो एक वर्ष यता सम्पर्कविहीन छन् । उनीहरूलाई भारतको विभिन्न स्थानमा खोजी गर्ने कार्य हुँदैआएको छ ।  

माइती नेपाल आवधिक गृह, कञ्चनपुरले शनिवार महेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आयोजन गरेको पत्रकार सम्मेलनमा पछिल्लो एक वर्षमा गरिएका उद्धार तथा रोकथाम लगायत विषयमा जानकारी गराएको हो । 

कार्यक्रममा संयोजक भट्टले बालबालिका तथा महिलालाई जोखिममा पर्न नदिन समय समयमा मनोसामाजिक परामर्श पनि प्रदान गरिँदै आएको बताउनुभयो । उहाँका अनुसार, हालसम्म ४४ हजार ५८१ जनालाई सीमा नाकामा मानव बेचबिखन तथा सुरक्षित बसाई सराइबारे परामर्श प्रदान गरिएको छ । 

नाकाबाट रोकथाम गरी २१७ जनालाई परिवारसँग पुनर्मिलन, ३३ जनालाई नाकाबाट परामर्श प्रदान गरी सोझै घर फर्काइएको छ । २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।  यसैगरी, १२ हजार ८५८ सवारी साधनलाई रोकेर चेकजाँच समेत गरिएको छ । 

माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी १० वटा निवेदन, जबरजस्ती करणी ४ मुद्दा र मानव बेचबिखन विरुद्धमा एक जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुघा दर्ता गरेको जनाएको छ ।