प्रतीक इच्छुक शर्मा
सल्यान, पुस १२ गते । नेपाली सेनाले सल्यानको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ६ सयले स्वास्थ्य सेवा लिएका छन् ।
श्री सिद्धिबक्स गणको आयोजनामा तथा श्री नं. १९ फि.ए. गुल्मको समन्वयमा आयोजना गरिएको एक दिने शिविरमा ओपीडी जाँच, प्रयोगशाला परीक्षण, अल्ट्रासाउन्ड, दन्त उपचार, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधी वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।
दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो । उपचारका लागि सदरमुकाम वा निजी अस्पताल धाउनुपर्ने बाध्यता रहेकाले गाउँमै सेवा पाउँदा स्थानीय खुशी देखिएका छन् । स्थानीय शारदा पुनले नेपाली सेनाले गाउँमै आएर सेवा दिएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
शिविर कुमाख गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानको सहकार्यमा सम्पन्न भएको हो । कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकलाई यस्ता शिविरले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
श्री सिद्धिबक्स गणका गणपती कर्णेल शिवनारायण श्रेष्ठका अनुसार नेपाली सेनाले दुर्गम भूभागमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न निरन्तर यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरु गर्दैआएको छ । स्वास्थ्य शिविरबाट कुमाख गाउँपालिका, दार्मा गाउँपालिका तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिका लगायतका स्थानीयले सेवा लिएका हुन् ।