रुपन्देही सैनामैनाको इगुरियाखोलामा पुल नबन्दा खोला तर्नेक्रममा बगेर १५ वर्षमा १० जनाको ज्यान गएको छ। यो खोलाले चार वर्षअगाडि स्थानीय हरिहर मल्लाह र उहाँकी सात वर्षीय छोरीलाई बगाएको थियो। स्थानीयका अनुसार प्रत्येक चुनावमा इगुरियाखोलामा पुल हालिदिने, बाटो कालोपत्रे गर्ने आश्वासन देखाएर भोट माग्ने नेताहरूले चुनावपछि बिर्सिने गरेको आरोप लगाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले साउन र भदौ महिनामा २७७ जनामा डेङ्गु र ११९ जनामा स्क्राब टाइफस देखिएको जनाएको छ। सत्यवती गाउँपालिकामा ११२, छत्रकोट गाउँपालिकामा १११, रेसुङ्गा नगरपालिकामा ४७, मुसिकोट नगरपालिकामा तीन, रुरुक्षेत्र गाउँपालिकामा १४, गुल्मी दरबार गाउँपालिकामा एकजना गरी २७७ जनामा डेङ्गु देखिएको हो।
निरन्तर परेको वर्ष शुक्रबार पनि निरन्तर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसममा सामान्यतया बदली रहदाँ यसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दाङमा करिब दुई वर्षपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीले दिएको निवेदनको अभिलेख गर्न थालिएको छ। सरकारले गत साउनमा राष्ट्रिय भूमि आयोगको जिल्ला समिति गठन गरेपछि लामो समयदेखि पालिकाहरूमा थन्किएका निवेदन अभिलेख हुन थालेका हुन्। सो समिति गठनसँगै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया अघि बढेको छ। पहिलो चरणमा बबई गाउँपालिका र घोराही उपमहानगरपालिकालगायत सातवटा पालिकाको निवेदन सङ्कलन गरिएको छ।
नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकोक्ति प्रचलित छ। सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन कार्य यो लोकोक्तिसँग ठ्याक्कै मेल खान्छ। देशभरिका निर्माण व्यवसायीका छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घका पदाधिकारी एवं ठूला नेताहरूले जिम्मा लिएको बेनी अस्पताल निर्माणाधीन भवन दुई वर्षदेखि अलपत्र छ। निर्माणाधीन भवनको फलामे रडमा खिया लागेको छ। निर्माण सम्पन्न नहुँदै भवन जीर्ण र पुरानोजस्तो देखिन थालेको छ। छ वर्षअघि निर्माण सुरु गरिएको अस्पताल भवन दुई वर्षयता अलपत्रजस्तै छ। भवन निर्माणलाई गति दिन सरकारी निकायबाट सात पटकसम्म पत्र काटिएको बताइएको छ। तर उक्त पत्रले निर्माण व्यवसायीको रौँ हल्लाएको छैन। भवन अलपत्र पार्ने ठेकेदारको फोटो टाँसेर स्थानीय युवाले गत हप्ता विरोध पनि गरे।
मालपोत कार्यालय कलैया र सिमरा बाराले आर्थिकबर्ष ०७८/७९ मा एक अर्ब छ करोड १७ लाख ८२ हजार २८३ रुपियाँ राजस्व संङ्कलन गरेको जनाएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङलाई म्याग्दी हुँदै राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले सडकको विभिन्न स्थानमा पहिरो तथा बाढी जाँदा अवरुद्ध भएको हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मार्ग बेनी–जोमसोम सडक एकमात्रै सडक खण्ड हो। सो सडकको सात ठाउँमा खोला र पहिरोले अवरुद्ध गराएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनुभयो।
तातोपानी नाका आंशिक रूपमा खुला भएको छ । अहिले यो नाकाबाट दैनिक दुई–तीन मालवाहक कन्टेनर नेपाल भित्रिने गरेका छन् ।तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत लक्ष्मण बास्तोलाले बिहीबार चीनको खासाबाट दुईवटा कन्टेनर भित्रिएको जानकारी दिनुभयो । उक्त दुई गाडीमध्ये एउटाले जलविद्युत् आयोजनाका उपकरण र अर्कोले ऊन लिएर आएको बास्तोलाले बताउनुभयो ।
चाडपर्व (दशैँ, तिहार, छठ)सम्म व्यापार गर्न पाउनुपर्नेलगायतका माग राख्दै सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घको नेतृत्वमा बिहीबार काठमाडौँका सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले महानगरको कार्यालय घेराउ गरेका हुन् । घेराउकर्ताले दशैँ, तिहारका बेला बिहान वा साँझको समयमा सडक आवागमनमा असर नपर्ने गरी सडकपेटीमा व्यापार गर्न दिनुपर्ने माग गरेका हुन् ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने बताउनुभएको छ। भौतिक विकास सबै थोक होइन, समाजका युवा विद्यालय जाने उमेरका विद्यार्थीसमेत लागूऔषध सेवनमा लागेर बर्बाद हुन थाले भनेर लहानका सहरी क्षेत्रका वडाबाट यस समस्यालाई समाधान गर्न गुहार्न थालेपछि समस्या समाधान गर्न गृहकार्यमा लागेको नगरप्रमुख चौधरीले बताउनुभयो।
सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान भएका छन्। गाउँघर तथा बजार क्षेत्रमा यसअघिदेखि नै मागेर खाँदै हिँड्ने मानिसलाई समेत अहिले हल्लाकै भरमा ‘बच्चा चोर’को आरोप लगाई कुटपिट गरेर प्रहरीलाई बुझाउने क्रम बढ्दो छ। बुधबार राति मात्रै लालबन्दी नगरपालिका–९, बस्तीपुर क्षेत्रबाट स्थानीयले ‘बच्चा चोर’ भन्दै एक पुरुषलाई प्रहरीको जिम्मा लगाएका थिए तर सोधखोज गर्दा ती व्यक्ति ‘बच्चा चोर’ नभई एक/डेढ महिनादेखि लालबन्दी बजार क्षेत्रमा मागेर खाँदै हिँड्ने बेवारिसे मानिस भएको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
चुरे भेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, हिरिरे डाँडामा पनि बिजुली पुगेको छ। कच्ची गोरेटो बाटो भएर पैदल हिँडेर जानुपर्ने हिरिरे डाँडामा बिजुलीबाट ६० भन्दा बढी घरधुरी लाभान्वित भएको वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले जानकारी दिनुभयो।
विशेषगरी सहरी क्षेत्रमा मात्र पढाइ हुने गरेको कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ ओखलढुङ्गाको दुर्गम गाउँमा सुरु गरिएको छ। जिल्लाको सुनकोसी गाउँपालिका–५, डाँडाखर्क मूलखर्कमा चालू शैक्षिक सत्र २०७९ देखि कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरिएको हो।
सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बढ्न थालेसँगै ‘अफ सिजन’मा बाहिर गएका खुम्बुका पर्यटन व्यवसायी धमाधम फर्किन थालेका छन्। पछिल्लो समय सो क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको चाप बढेसँगै भ्रमण तथा अन्य कामका लागि अन्यत्र गएकाहरू खुम्बु फर्किने क्रम सुरु भएको हो।
मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वल्र्ड नेपाल –२०२२’ उपाधि जित्नुभएको छ। भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा पाँच फिट ११ इन्च शारीरिक उचाइ हुनुभएका मोडल तण्डुकारले आफ्नो २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुम्नुभएको हो।