• १३ साउन २०८१, आइतबार

हिरिरे डाँडामा पनि बिजुली

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ ३१ गते । चुरे भेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, हिरिरे डाँडामा पनि बिजुली पुगेको छ। कच्ची गोरेटो बाटो भएर पैदल हिँडेर जानुपर्ने हिरिरे डाँडामा बिजुलीबाट ६० भन्दा बढी घरधुरी लाभान्वित भएको वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले जानकारी दिनुभयो। 

यहाँका स्थानीय बिजुली नपुग्दा टुकीबत्ती र सोलारको भरमा थिए। “बिजुली नहुँदा अधिकांश स्थानीय टुकीबत्ती बालेर रात काट्न बाध्य थिए। आर्थिक अवस्था सबल भएका केहीले मात्रै सोलारबत्ती बाल्ने गर्थे,” उहाँले भन्नुभयो, “अब त बिजुलीबत्ती नै पुग्यो, स्थानीय खुसी हुनुहुन्छ।”

हिरिरे डाँडा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको ठूलो कौवासँगै सीमा जोडिएको बस्ती हो। गाउँमा बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्नदेखि विद्युत्बाट हुने अन्य काम गर्न लामो समय लगाएर चुरे डाँडा तलको बस्तीमा झर्न बाध्य थिए। नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले एक वर्षको प्रयासपछि हिरिरे डाँडामा बिजुली पु¥याइएको जनाएको छ। वितरण केन्द्र प्रमुख सञ्जीवकुमार साहले २५ केभीको ट्रान्सफर्मर लगेर जोडेपछि बुधबारबाट हिरिरे डाँडामा बत्ती बल्न थालिसकेको जानकारी दिनुभयो। 

“एक वर्षदेखिको प्रयासले त्यहाँ बत्ती पु-याउन सफल भयौँ, अधिकांश स्थानीयले मिटर जडान गरेर बत्ती बाल्न थालिसकेका छन्। बाँकीले पनि मिटरका लागि फाराम भरेर गइसकेका छन्,” वितरण केन्द्र प्रमुख साहले भन्नुभयो। ट्रान्सफर्मर चालू गरी विद्युत्को उद्घाटन गर्न गाउँमा पुग्नुभएका बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तान, वडाध्यक्ष पाख्रिन, प्राधिकरणको वितरण केन्द्रका प्रमुख साहलगायतलाई स्थानीयले अबिर र खादाले स्वागत गरेका छन्। हिरिरे डाँडामा बत्ती पुगेसँगै लालबन्दी वितरण केन्द्रअन्तर्गत पर्ने छवटा पालिकाका ६० वटै वडामा पूर्ण विद्युतीकरण भएको वितरण केन्द्र प्रमुख साहले बताउनुभयो।