• १३ साउन २०८१, आइतबार

मालपोतबाट एक अर्ब बढी राजस्व संङ्कलन

blog

सिमरा मालपोत कार्यालय । तस्बिरः शिवशंङ्कर मिश्र

बारा, भदौ ३१ गते । मालपोत कार्यालय कलैया र सिमरा बाराले आर्थिक वर्ष ०७८/७९ मा एक अर्ब छ करोड १७ लाख ८२ हजार २८३ रुपियाँ राजस्व संङ्कलन गरेको जनाएको छ । 

मालपोत कार्यालय बाराले बिगत केही वर्षदेखि जिल्लाको कलैया बाहेक जितपुरसिमराबाट पनि घर, जग्गाको कारोबार गर्न कार्यालय स्थापना गरी सेवाग्रहीहरुको सेवा सुविधा दिनुको साथै राजस्वमा वृद्धि गरेको जनाएको हो ।

सिमरा मालपोत कार्यालयले जितपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका गरी दुई स्थानीय पालिकाबाट आर्थिक वर्ष ०७८/७९ मा ५१ करोड १३ लाख ७१ हजार ७७० रुपियाँ राजस्व सङ्कलन गरेको प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । 

जिल्ला मालपोत कार्यालय कलैयाले १४ वटा पालिकाबाट मात्र ५५ करोड ४ लाख १० हजार ५१३ रुपियाँ राजश्व सङ्कलन गरेको छ । 

पथलैयादेखि पर्सा जिल्लाको वीरगन्जसम्म निर्माण भएको छ लाइन सडक आसपास क्षेत्रमा थोरै जग्गा खरिद गरी घर बनाउनु भन्दा पनि प्लटिङ्ग र उद्योग स्थापनाको लागि जग्गाको कारोबार बढी हुने गरेको उहाँले बताउनुभयो । 

सिमरा मालपोतमा सबैभन्दा बढी भदौ, मङ्सिर, पुस, माघ र फागुन महिनामा भने, साढे तीन करोडसम्म राजस्व आएको छ भने, चैत्र र वैशाख महिनामा करिब सावाँ करोडको हाराहारीमा राजस्व उठेको लेखापाल तेजेन्द्र लम्सालले जानकारी दिनुभयो ।

घर, जग्गा रजिष्ट्रेसन दस्तुरबाट ३१ करोड ८१ लाख ९ हजार ७९८ रुपियाँ, पुजिगत लाभकरबाट १६ करोड ७४ लाख ७४२ रुपियाँ, रोक्काबाट २ करोड ८५ लाख छ हजार ५३० रुपियाँ, सेवा शुल्कबाट एक करोड ५८ लाख ९ सय र अन्य विविधबाट ३५ लाख ९७ हजार ९ रुपियाँसमेत गरी ५१ करोड १३ लाख ७१ हजार ७ सय ७० रुपियाँ राजस्व सङ्कलन भएको लेखापाल लम्सालले बताउनुभयो ।

गतबर्ष ०७७/७८ मा ४६ करोड ४० लाख ४० हजार ५२ रुपियाँ राजस्व प्राप्त भएको थियो । 

यसैगरी जिल्ला मालपोत कार्यालय बाराले आर्थिकबर्ष ०७८/७९ मा छ वटा शिर्षकको गरी कुल ५५ करोड ४ लाख १० हजार ५१३ रुपियाँ राजश्व सङ्कलन गरेको लेखापाल छोटेबाबु प्रसाद यादवले बताउनुभयो । गतवर्ष ०७७/७८ मा ३२ करोड २९ लाख ८५ हजार ३८४ रुपियाँ राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । 

Author

शिवशंङ्कर मिश्र