नियमावली निलम्बन गरेर विधेयक पारित प्रक्रियामा सहमति नभएपछि केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको बाँकी अवधिमा फिर्ता नहुने निश्चित भएको छ। कार्यकाल अन्योलता जारी रहेकै बेला विधेयक नियमित प्रक्रियाबाट अघि बढाइएको हो। नियम निलम्बनको प्रस्तावमा कार्यव्यवस्था परामर्श समितिमा सहमति नभएको हो । उत्पत्ति भएको सदनमा फिर्ता भई प्रमाणित गरेर नपठाएसम्म प्रमाणीकरणको प्रक्रिया अघि बढ्न सक्दैन। असोज १ सम्म विधेयक प्रतिनिधि सभामा फिर्ताको अवस्था छैन। यसअघि धेरै विधेयकमा नियम निलम्बन गर्ने सरकारको प्रस्ताव मानेको माथिल्लो सभाले यो पटक सरकारको प्रस्ताव अस्वीकार गरेको हो।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ।
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको छ। गृह मन्त्रालयले गत आइतबार निर्वाचन विशेष सुरक्षा योजना पारित गरेसँगै निर्वाचन सुरक्षा तयारी अघि बढेको हो। जसअनुसार बिहीबारदेखि निर्वाचन सुरक्षाका लागि आवश्यक एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ।
सामाजिक संजाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्याम संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् ।
राधा लुइटेलफिदिम, भदौ ३० गते । पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) को निधन भएको छ। उहाँको ५४ वर्षको उमेरमा झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा बिहीबार साँझ निधन भएको समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी दिनुभयो । बेघाका अनुसार सामान्य ज्वरो आएर फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका समथिङको स्वास्थ्यमा सुधार नआएपछि दुई दिन अघि झापाका लागि रेफर गरिएको थियो।उहाँको शरीरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। समथिङद्वारा लिखित राजनीति, साहित्य र उपन्याससँगै विभिन्न विधाका ५४ वटा पुस्तक प्रकाशित छन्। पछिल्लो पटक उहाँका स्थानीय तह निर्वाचन २०७९ र ओयामका जनप्रतिनिधि नामक पुस्तक प्रकाशन भएका छन्। यसअघि उहाँले २२ वटा पुस्तक एकैसाथ सार्वजनिक गर्नुभएको थियो।सामाजिक कार्यमा सक्रिय समथिङ ९ हजार ३ सय ९२ दिन निरन्तर दैनिकी लेख्दै आउनु भएको थियो। उहाँको संरक्षकत्वमा समथिङ फाउण्डेसन नामक संस्था दर्ता भएर सामाजिक र साहित्यिक गतिविधिमा सक्रिय छ।नेपाल पत्रकार महासङ्घका सदस्यसमेत रहनुभएका समथिङ मानव अधिकारको क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो।
गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट बिहीबारदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ।
बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो।
तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा रहेको एन.आर. कलेजले विभिन्न कार्यक्रमका साथ १६ औं वार्षिकोत्सव मनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेलाई हार्ने छुट नरभएको बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतालाई भोट हालेर देश विगार्ने काम जनताले नै गरिरहेको बताउनुभएको छ । बिहीबार इलाममा पार्टीले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको निर्णयको स्वागत गरेको छ। कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टीका नेतामाथि लागेका मुद्दा फिर्ता लिने निर्णयको स्वागत गर्नुभएको हो।
बाँकेको नरैनापुर गाउँपालिकाले २६ जना उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । विद्यालयले उत्कृष्ट काम गरेकालाई सम्मान र पुरस्कृत गरिएको पालिकाले जनाएको छ ।
प्रेम अधिकारी पशुपतिनगर (इलाम) भदौ ३० गते । इलामको सूर्योदय नगरपालिकामा एकै दिन पाँच वटा सडक र एउटा बसपार्कको शिलान्यास गरिएको छ। एकीकृत सहरी विकास कार्यक्रम अन्तरगत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा निर्माण हुने सडक र बसपार्कको पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गर्नु भएको हो। बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। आयोजना अन्तर्गत पशुपतिनगरमा ६ रोपनी जमिनमा ३ करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुने छ। बहुबर्से आयोजनाका रूपमा सञ्चालन गरिएका सडक अन्तर्गत अन्तदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बीसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड अन्तर्गत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उप महानिर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ। उपमहा निर्देशक भण्डारीले चाँडै सम्झौता भएर काम सुरु हुने बताउनुभयो। भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा ५० र २० करोडका दरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। नगर भित्र यीसहित १० वटा योजना विभागबाट सञ्चालन हुने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अन्तु पोखरी, जोरपोखरी र कन्यामको ब्युटिफिकेशन समेत आयोजना अन्तर्गत गरिने छ।शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री खनालले अबको केही वर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सहरको विकास भए पनि धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताउनुभयो।कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वाधार पर्ने गरी आयोजनाले काम गर्ने जानकारी दिनुभयो। उहाँले देशका विभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। नगर प्रमुख राईले आयोजनाका काम समयमै सम्पन्न गर्ने गरी नगरले काम थाल्ने जानकारी दिनुभयो।
अपाङ्गता भएकाहरुले झापाका मतदानस्थल अपाङ्गतामैत्री बनाउनु माग गर्नुभएको छ । आफुहरुलाई मतदाताको रुपमा मात्र प्रयोग नगरेर राजनीतिक अधिकार सुनिश्चित्ताका लागि उम्मेदवार छनौटमा समेत प्राथमिकतामा राख्नुपर्ने माग राख्नुभएको छ ।