• १३ साउन २०८१, आइतबार

लेखक रामप्रकाश समथिङको निधन

blog

साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) । फाइल तस्बिर

राधा लुइटेल

फिदिम, भदौ ३० गते । पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) को निधन भएको छ। उहाँको ५४ वर्षको उमेरमा झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा बिहीबार साँझ निधन भएको  समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी दिनुभयो । 

बेघाका अनुसार सामान्य ज्वरो आएर फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका समथिङको स्वास्थ्यमा सुधार नआएपछि दुई दिन अघि झापाका लागि रेफर गरिएको  थियो।

उहाँको शरीरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। 

समथिङद्वारा लिखित राजनीति, साहित्य र उपन्याससँगै विभिन्न विधाका ५४ वटा पुस्तक प्रकाशित  छन्। पछिल्लो पटक उहाँका स्थानीय तह निर्वाचन २०७९ र ओयामका जनप्रतिनिधि नामक पुस्तक प्रकाशन भएका छन्। यसअघि उहाँले २२ वटा पुस्तक एकैसाथ सार्वजनिक गर्नुभएको थियो।

सामाजिक कार्यमा सक्रिय समथिङ ९ हजार ३ सय ९२ दिन निरन्तर दैनिकी लेख्दै आउनु भएको थियो। उहाँको संरक्षकत्वमा समथिङ फाउण्डेसन नामक संस्था दर्ता भएर सामाजिक र साहित्यिक गतिविधिमा सक्रिय छ।

नेपाल पत्रकार महासङ्घका सदस्यसमेत रहनुभएका समथिङ मानव अधिकारको क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो।