• ११ असोज २०८१, शुक्रबार

इलामको सूर्योदयमा ५० करोडको लगानीमा सडक र बसपार्क बन्ने

blog

इलामको सूर्योदयमा सडकको शिलान्यास गर्नुहुँदै पूर्व प्रधानमन्त्री झलनाथ खनाल साथमा शहरी विकासमन्त्री मेटमणि चौधरीलगायत । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 
पशुपतिनगर (इलाम) भदौ ३० गते । इलामको सूर्योदय नगरपालिकामा एकै दिन पाँच वटा सडक र एउटा बसपार्कको शिलान्यास गरिएको छ।  एकीकृत सहरी विकास कार्यक्रम अन्तरगत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा निर्माण हुने सडक र बसपार्कको पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गर्नु भएको हो। 

बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। 

आयोजना अन्तर्गत पशुपतिनगरमा ६ रोपनी जमिनमा ३ करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुने छ। बहुबर्से आयोजनाका रूपमा सञ्चालन गरिएका सडक अन्तर्गत अन्तदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बीसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड अन्तर्गत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उप महानिर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो। 

उहाँका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ। उपमहा निर्देशक भण्डारीले चाँडै सम्झौता भएर काम सुरु हुने बताउनुभयो। 

भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा ५० र २० करोडका दरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। नगर भित्र यीसहित १० वटा योजना विभागबाट सञ्चालन हुने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अन्तु पोखरी, जोरपोखरी र कन्यामको ब्युटिफिकेशन समेत आयोजना अन्तर्गत गरिने छ।

शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री खनालले अबको केही वर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सहरको विकास भए पनि धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताउनुभयो।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वाधार पर्ने गरी  आयोजनाले काम गर्ने जानकारी दिनुभयो। उहाँले देशका विभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। नगर प्रमुख राईले  आयोजनाका काम समयमै सम्पन्न गर्ने गरी नगरले काम थाल्ने जानकारी दिनुभयो।