• १३ साउन २०८१, आइतबार

खुम्बुका पर्यटन व्यवसायी फर्किंदै

blog

सन्तोष राउत

सोलुखुम्बु, भदौ ३१ गते । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बढ्न थालेसँगै ‘अफ सिजन’मा बाहिर गएका खुम्बुका पर्यटन व्यवसायी धमाधम फर्किन थालेका छन्। पछिल्लो समय सो क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको चाप बढेसँगै भ्रमण तथा अन्य कामका लागि अन्यत्र गएकाहरू खुम्बु फर्किने क्रम सुरु भएको हो।

वर्षायाम सुरु भएपछिको ‘अफ सिजन’मा बन्द भएका होटल करिब ८० प्रतिशतभन्दा बढी खुलिसकेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो। उहाँका अनुसार यस वर्षको ‘अफ सिजन’मा पनि खुम्बुमा पर्यटक आवागमन राम्रो रहेको थियो। कतिपय होटल सिजनमा मात्रै सञ्चालन हुनेभएकाले सञ्चालक ‘अफ सिजन’मा काठमाडौँसहित अन्यत्र घुमफिरमा जाने गर्दछन् तर सिजन सुरु भएर पर्यटकको सङ्ख्या बाक्लिएसँगै व्यवसायी पनि फर्किने क्रम उच्च रहेको होटल सञ्चालक भीम श्रेष्ठले बताउनुभयो। पर्यटन सिजन सुरु हुन थालेसँगै खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, ठाङनाक तथा थामेलगायतका बासिन्दा आफ्नो व्यवसाय सञ्चालनमा फर्केका हुन्। पर्यटकको मौसम प्रतिकूलताका कारण उडान प्रभावित हुँदा समस्या भएको व्यवसायीले बताएका छन्। खुम्बुसम्म सडक नपुगेकाले सो क्षेत्रमा हवाई मार्ग नै भरपर्दो विकल्प मानिएको छ।

मौसमले साथ नदिँदा बेलाबेला पर्यटक आवागमन नै ठप्प हुने गरेको स्थानीयको भनाइ छ। खुम्बुमा वर्षको दुई सिजनलाई पर्यटकीय सिजन मानिएकोमा असोज, कात्तिक, मङ्सिरलाई अक्टोबर सिजन मानिन्छ। तेन्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार सिधै काठमाडौँबाट लुक्ला हुँदै हवाई जहाजमार्फत यस क्षेत्रका अधिकांश स्थानीय व्यवसायी फर्केका छन्। मौसम प्रतिकूलताले उडानमा समस्या रहेको बताइएको छ।