• ११ असोज २०८१, शुक्रबार

गाउँमै कम्प्युटर इन्जिनियरिङको पढाइ

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, भदौ ३१ गते । विशेषगरी सहरी क्षेत्रमा मात्र पढाइ हुने गरेको कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ ओखलढुङ्गाको दुर्गम गाउँमा सुरु गरिएको छ। जिल्लाको सुनकोसी गाउँपालिका–५, डाँडाखर्क मूलखर्कमा चालू शैक्षिक सत्र २०७९ देखि कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरिएको हो। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चौतारा माध्यमिक विद्यालयमा ‘डिप्लोमा इन कम्प्युटर’ इन्जिनियरिङको पढाइ सुरु गरिएको प्रधानाध्यापक कमल कटुवालले जानकारी दिनुभयो। ‘डिप्लोमा इन कम्प्युटर’ इन्जिनियरिङको पढाइ प्रदेश नं. १ को पहाडी जिल्लामध्ये ओखलढुङ्गाको चौतारा माध्यमिक विद्यालयमा अथक प्रयासले सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य योगेश तामाङले बताउनुभयो। विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङ विषय पढ्न अन्यत्र जिल्ला जानुपर्ने बाध्यता हटेको सदस्य तामाङको भनाइ छ। 

प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले गाउँपालिकाको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको सुनकोसी गाउँपालिका प्रमुख कमल तामाङले बताउनुभयो। चौतारा माध्यमिक विद्यालयमा सुरु गरिएको प्राविधिक विषय कम्प्युटर इन्जिनियरिङको कक्षा सञ्चालनमा गाउँपालिकाबाट आवश्यक सहयोग गरिने अध्यक्ष तामाङको भनाइ छ। पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी गुणस्तरीय र व्यावहारिक तथा प्राविधिक शिक्षासम्बन्धी कक्षा सञ्चालनमा जोड दिने प्रमुख तामाङले प्रतिबद्धता व्यक्त गर्नुभयो। 

‘डिप्लोमा इन कम्प्युटर’ इन्जिनियरिङ विषयको अध्ययन गर्न सुनकोसी र चम्पादेवी गाउँपालिकाका ३५ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ। कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ जिल्लामै पहिलो पटक चौतारा माविमा सुरु भएको हो। घर नजिकै ‘डिप्लोमा इन कम्प्युटर’ इन्जिनियरिङको पढाइ सुरु हुँदा यस क्षेत्रका विद्यार्थीलाई सहज भएको छ।