दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको पिथौरागढ जिल्लाको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालतर्फ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारततर्फको पिल्लरमा सोमबार शिलान्यास गर्नुभएको थियो। सो अवसरमा महाकाली नदीको समेत पूजा गरिएको थियो।
डडेल्धुरामा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालयले जिल्लाभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो। डडेल्धुरामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १५ जना महिला र १५ जना नै पुरुष थिए। सो वर्ष सबैभन्दा बढी अमरगढी नगरपालिकामा आठ जनाले आत्महत्या गरेको डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक २०७७/७८ मा ४२ जनाले आत्महत्या गरेका छन्। जसमा २३ जना महिला र १९ जना पुरुष छन्। आव २०७७/७८ मा सबैभन्दा बढी आलिताल गाउँपालिका १३ जनाले आफैँले देहत्याग गरेको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा २७ जनाले आत्महत्या गरेका छन्। जसमा १८ जना महिला र नौ जना पुरुष रहेका छन्। गत आव २०७८/७९ मा पनि आलितालमै सबैभन्दा बढी १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। चालू आवको साउन र भदौ महिनामा छ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। उहाँका अनुसार आत्महत्या गर्नेमा चार महिला र दुई पुरुष छन्। दुई महिनाको अन्तरालमा छ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “आत्महत्याको घटना रोक्न नागरिक समाज र स्थानीय तहको विशेष सहयोग आवश्यक छ। ’’ आत्महत्या समाजमा डरलाग्दो रूपमा विकसित हुँदै गएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले समाजको विकृतिका रूपमा सिर्जित अपराध रोक्न स्थानीय तह र नेपाल प्रहरीले सक्रियता बढाउनुपर्ने बताउनुभयो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई सक्षम, सुन्दर र समृद्ध प्रदेश बनाउने अभियानमा प्रदेश सरकारको पहिलो पाँचवर्षे कार्यकाल सफल भएको बताउनुभएको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले चारवटा गौरवका आयोजना शुभारम्भ गरेको जानकारी दिँदै मुख्यमन्त्री केसीले यी आयोजनाले प्रदेशको मुहार परिवर्तन गर्ने उल्लेख गर्नुभयो।
प्रतिनिधि र प्रदेश सभाको पहिलो कार्यकालमा जनताको आधारभूत आवश्यकतालाई ध्यान दिएर कानुन निर्माण हुन नसकेको कानुन व्यवसायी तथा सरोकारवाला पक्षले बताएका छन्। नेपाल कानुन समाजद्वारा आइतबार आयोजित ‘कानुन निर्माणमा सङ्घीय संसद्को योगदान र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा यस अवधिमा जनताका आधारभूत आवश्यकतासँग जोडिएका कानुन निर्माण हुन नसकेको सहभागीले बताएका हुन्।
कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा विधेयक पारित भएका छन्। पाँच वर्षको बीचमा सरकार टिकाउने, बनाउने र गिराउने मुद्दामा संसद्ले अधिकांश समय बिताएको जनगुनासो छ।
रुकुमपश्चिममा बौलाहा कुकुरले टोकेका जनावर मर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। भदौ ११ गते बौलाहा कुकुरको टोकाइबाट घाइते भएका पशुचौपाया मर्न थालेपछि मुसीकोट नगरपालिका–१० मा बोलाहा कुकुर र रेबिजको आतङ्कले स्थानीय बासिन्दा त्रसित भएका हुन्। बौलाहा कुकुरको टोकाइबाट घाइते भएका दुईवटा गोरु, एउटा गाई, एउटा भैँसी, एउटा पाडो र चारवटा कुकुर मरेको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो। अझै केही पशुचौपाया बिरामी अवस्थामा रहेका छन्। कुकुरको टोकाइबाट स्थानीय मनसुवा रोकाया र टेकबहादुर बुढाथोकी घाइते हुनुभएको थियो। उहाँहरूको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो।
लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा राखेको दाङ लमहीस्थित ट्रमा सेन्टर निर्माणको काम धमाधम भइरहेको छ। ट्रमा सेन्टरको जग निर्माण सम्पन्न गरी ‘स्ट्रक्चर’ बनाउन सुरु गरिएको छ। २९ करोड २३ लाख १७ हजार लगानीमा ट्रमा सेन्टर भवन बन्दै छ। सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवले निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिले भवन निर्माण गरिरहेको छ। सो आयोजना निर्माणका लागि २०७७ साल चैत २४ गते सम्झौता भएको थियो। २०७८ वैशाख ३ गतेबाट काम सुरु गरेको कम्पनीले आगामी वर्ष असार ३ गतेभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ।
पाल्पाका अधिकांश स्थानीय तहले गैरसरकारी संस्थासँगको साझेदारी कार्यक्रमहरू आफूखुसी सञ्चालन गरेको पाइएको छ। यहाँका छवटा स्थानीय तहले ‘हेफर प्रोजेक्ट नेपाल’ नामक संस्थासँगको साझेदारीमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका हुन्। हेफरसँग तीन वर्षअघि भएको साझेदारीमा कृषि, पशु विकास तथा उद्यमशीलता विकास परियोजना सञ्चालनमा छ। सो परियोजनामा गैरसरकारी संस्थाले २५ प्रतिशत लगानी बेहोर्ने उल्लेख छ तर हेफर प्रोजेक्टले परियोजना सञ्चालनका लागि कुनै पनि रकम लगानी नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। हेफर प्रोजेक्टले आफ्नै कर्मचारीलाई तलबभत्ता र तालिम दिएको खर्चलाई साझेदारी रकम देखाउने गरेको पाइएको छ।
पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको छ। धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा पौराणिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक रूपले प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ। त्रेतायुगमा महर्षि ऋषि शृङ्गले यहाँ आश्रम बनाई साधना गरेकाले उहाँको नामबाट रेसुङ्गा नामकरण भएको हो भन्ने भनाइ छ। हाल यहाँ रहेको महापोखरीको वरिपरि २७ वटा गौमुखे धारा निर्माण भएका छन्। ती धारामा साउन महिनामा आफैँ मूल फुटेर पानी झर्छ। यो पोखरीमा नुहाई यहाँको मन्दिरमा दर्शन गर्नाले सबै रोगव्याधि नाश हुने जनविश्वास रहँदै आएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो। रेसुङ्गाको महìव जोगाइराख्न चुचुरोसम्म गाडी जाने बाटो नखनेर पदमार्ग बनाइएको उहाँले बताउनुभयो।
किड क्विन नेपालका २५ अन्तिम प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लिज फेसन होमले आयोजना गरेको १८औँ संस्करणको प्रतियोगितामा नौदेखि १४ वर्षसम्मका बालिकाले ट्यालेन्ट राउन्ड (ट्यालेन्ट उपउपाधि)का लागि आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हो। उक्त कार्यक्रममा बालिकाहरूले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थियो। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको बालिकाहरूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्मविश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको जानकारी दिनुभयो।
हिमाली जिल्ला म्याग्दीको उत्तरमा पर्ने अन्नपूर्ण गाउँपालिकाभित्रका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सुत्केरी आमाका घरघरमा पुग्ने गरेका छन्। गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम लिएर स्वास्थ्यकर्मीले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। यो कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको बताइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुद्र बरुवालले कार्यक्रम सञ्चालन गरेर उपहार दिन थालेपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर विगतको तुलनामा ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो।
संविधान दिवस मनाइरहँदा यसको कार्यान्वयनप्रति सर्वसाधारणको गुनासो बढेको छ। हुप्सेकोट गाउँपालिकाका शिव सुवेदीले संविधान आएको सात वर्ष भइसक्दा पनि यसको पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको अवस्थामा स्थानीय तहबाट नै नागरिकलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउनुपर्ने उहाँहरूको जोड छ।
संविधान दिवसका अवसरमा जिल्ला कारागार कास्कीबाट २१ जना कैदी रिहा भएका छन्। कारागारका प्रमुख भीमराज कोइरालाका अनुसार दुई महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएका हुन्। रिहा हुने कैदीमा बहुविवाह मुद्दाका दुई महिला र दुई पुरुष, कर्तव्य ज्यान आठ, सवारी ज्यान दुई, ज्यान मार्ने उद्योग तीन, चोरीका तीन जना रहेको कारागार प्रमुख कोइरालाले जानकारी दिनुभयो।
निर्वाचित भएर आएपछि पहिलो कदम स्वरूप करारका कर्मचारीलाई कामबाट हटाएका सर्लाहीका जनप्रतिनिधिले अहिले फेरि नयाँ कर्मचारी नियुक्ति गर्न थालेका छन्। जिल्लाका २० मध्ये अधिकांश स्थानीय तहले आ–आफ्नो पालिकामा करारका नयाँ कर्मचारी राखिसकेका छन्। अघिल्ला जनप्रतिनिधिले नियुक्ति दिएर राखेका कर्मचारीलाई नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गएको असार मसान्तदेखि कामबाट हटाइएको थियो।
मधेश प्रदेशका जिल्लामा आत्महत्याका घटनामा वृद्धि भएको पाइएको छ। उच्च मनोबलले आत्महत्याको घटनालाई रोक्न निकै मद्दत पुग्ने र त्यस किसिमको वातावरण र अवस्था सिर्जना गरेर यस्तो घटनालाई नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञले बताउनुहुन्छ। ‘आत्महत्या रोक्न आजबाटै प्रण गरौँ, आत्महत्या गर्दिनँ, गर्न दिन्नँ,’ भन्ने कुरालाई आत्मसात् गरी व्यवहारमा देखाउनुपर्छ।