• १३ साउन २०८१, आइतबार

पुरानालाई हटाएर नयाँलाई नियुक्ति

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज ४ गते । निर्वाचित भएर आएपछि पहिलो कदम स्वरूप करारका कर्मचारीलाई कामबाट हटाएका सर्लाहीका जनप्रतिनिधिले अहिले फेरि नयाँ कर्मचारी नियुक्ति गर्न थालेका छन्। जिल्लाका २० मध्ये अधिकांश स्थानीय तहले आ–आफ्नो पालिकामा करारका नयाँ कर्मचारी राखिसकेका छन्। अघिल्ला जनप्रतिनिधिले नियुक्ति दिएर राखेका कर्मचारीलाई नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गएको असार मसान्तदेखि कामबाट हटाइएको थियो। 

अहिले अधिकांश पालिकामा जनप्रतिनिधिले आफू र आफ्नो पार्टी निकटका व्यक्तिलाई करारमा नियुक्ति दिन थालेको भन्दै चर्को आलोचना भइरहेको छ। जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादवले घरमै बसेर तलब सुविधा लिने कर्मचारीलाई कामबाट हटाइएको बताउनुभयो। यसअघिका जनप्रतिनिधिले राखेका कार्यालय सहयोगी, चौकीदारलगायतका कर्मचारीले कामै नगरी तलब सुविधा लिएको पाइएपछि कामबाट निकाल्नु परेको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ। “धेरै कर्मचारीले कार्यालयमै नआई तलब सुविधा लिनुहुँदो रहेछ, अनि कोहीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको घरमा गएर काम गर्ने तर सेवा सुविधा भने गाउँपालिकाबाट लिने गरेको पनि पाइयो,” गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, “त्यस्ता ‘झोले’ कर्मचारीलाई कामबाट निकालेका हौँ।” 

गाउँपालिकाले जारी गरेको नीति कार्यान्वयनका लागि गाउँपालिकाले पहिलो पटक प्रतिस्पर्धाबाट गाउँ प्रहरी नियुक्त गरेको र त्यसबाहेक अन्य पदमा पनि अब प्रतिस्पर्धाबाट योग्य र सक्षम कर्मचारी नियुक्त गरिने गाउँपालिका अध्यक्ष यादवको दाबी छ। यस्तै गएको असारमा ५० जनाभन्दा बढी करारका कर्मचारीलाई एकैसाथ कामबाट निकालेको बलरा नगरपालिकाले नयाँ कर्मचारी नियुक्ति गर्न प्रक्रिया अगाडि बढाएको छ। 

बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले कार्यालय सहयोगी, स्वास्थ्यकर्मी र अन्य प्राविधिक कर्मचारी नियुक्ति गर्न दरखास्त लिई छनोट प्रक्रिया अघि बढाइसकिएको बताउनुभयो। “नगरपालिकालाई योगदान पु¥याउने र इमानदारितापूर्वक काम गर्नेलाई हामीले निरन्तरता दिएका छौँ, जसले घरमा बसेर तलब सुविधा लिन्थ्यो, त्यस्तालाई मात्रै कामबाट हटाएका छौँ,” प्रमुख प्रशासकीय अधिकृत महतोले भन्नुभयो। 

जिल्लाको हरिपुर, कविलासी, चन्द्रनगरलगायतका पालिकाले पनि करारका पुराना कर्मचारीलाई हटाएर धमाधम नयाँ कर्मचारीलाई नियुक्ति दिइरहेका छन्। त्यसरी राजनीतिक पूर्वाग्रह राखी कामबाट निकालिएको भन्दै केही पालिकामा करारका कर्मचारीले आन्दोलन गरेका थिए। जिल्लाको लालबन्दी नगरपालिकाले भने स्वेच्छिक रूपमा काम छाडेका करार कर्मचारीको ठाउँमा नयाँ पदपूर्ति गरेको भए पनि नगरपालिका आफैँले पुराना करार कर्मचारी कसैलाई पनि कामबाट नहटाएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १६ का वडाध्यक्ष गणेशबहादुर थापाले बताउनुभयो। “अरू ठाउँमा जस्तो हामीले करारका पुराना कर्मचारीलाई कसैलाई पनि हटाएका छैनौँ,” प्रवक्ता थापाले भन्नुभयो, “कर्मचारी आफँैले छाडेर गएको ठाउँमा नयाँ पदपूर्ति गरेका हौँ, बरू केही नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेका छौँ।” पछिल्लो समय कर्मचारीको अभाव टार्न भन्दै पालिकाले स्थानीय सरकार सञ्चालन ऐनलाई टेकेर करारका कर्मचारी नियुक्ति गरी पदपूर्ति गर्दै आइरहेका छन्।