• १३ साउन २०८१, आइतबार

आत्महत्याको गम्भीर अवस्था

‘प्रण गरौँ : आत्महत्या गर्दिनँ, गर्न दिन्नँ’

blog

मधेश प्रदेश ब्युरो

जनकपुर, असोज ४ गते । मधेश प्रदेशका जिल्लामा आत्महत्याका घटनामा वृद्धि भएको पाइएको छ। उच्च मनोबलले आत्महत्याको घटनालाई रोक्न निकै मद्दत पुग्ने र त्यस किसिमको वातावरण र अवस्था सिर्जना गरेर यस्तो घटनालाई नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञले बताउनुहुन्छ। ‘आत्महत्या रोक्न आजबाटै प्रण गरौँ, आत्महत्या गर्दिनँ, गर्न दिन्नँ,’ भन्ने कुरालाई आत्मसात् गरी व्यवहारमा देखाउनुपर्छ।

कलैया समाचारदाता शिवशङ्कर मिश्रका अनुसार बारा जिल्लामा दिनानुदिन बढ्दै गइरहेको आत्महत्या घटनालाई निरुत्साहित गर्न सरोकारवाला सक्रिय भएका छन्। गत वर्ष १४२ जना तथा चालू आर्थिक वर्ष २०७९/८० को साउन/भदौमा १७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो। तीन दिनअघि मात्र नौ वर्षीय बच्चाले आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो। 

आत्महत्या रोक्न सरोकारवालासहितको प्रहरी कार्यालय जनचेतनामूलक आयोजना गरेको छ। कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आत्महत्या गर्ने मानिसभित्रदेखि कमजोर भएकाले गर्ने गरेको पाइएको बताउनुभयो। “जीवनबाट निराश भएका हुन्छन्। उनलाई लाग्छ अब यो संसारमा बाँच्नुको कुनै अर्थ छैन, यही भ्रममा परेर उनीहरू आत्महत्या गर्न पुग्छन्,” उहाँले भन्नुभयो। जिल्लामा औसतमा दिनहुँ तीन/चार जनाले आत्महत्या गर्ने गरेको छन्। केही दिन अगाडि मात्र कक्षा ३ मा पढ्ने नौ वर्षीय बच्चाले झुन्डिएर आत्महत्या गरेको र उनका जुम्ल्याहा दाजुले एक वर्ष अगाडि आत्महत्या गरेका थिए। यता मिटरब्याज तिर्न नसक्दा एक जना सिभिल इन्जिनियरले आत्महत्या गरेको रहस्य पनि खुलेको छ। 

महागढीमाई नगरपालिका–४, दहियार टोलका सिभिल इन्जिनियर ४० वर्षीय प्रभात जैसवालले लाखौँ रकम फिर्ता दिए पनि मिटरब्याजीहरूले मैले दिएको चेक र कपाली तमसुक नदिएपछि चिठ्ठी लेखेर विष सेवन गरी आत्महत्या गरेको रहस्य खुलेको छ। गत जेठ ९ गते आफ्नै घरमा मृत भेटिएका जैसवालको पाइन्टको पर्समा सुसाइड चिठी भेटिएपछि यस्तो रहस्य खुलेको उहाँका बुवा असर्फी जैसवालले बताउनुभयो। 

पर्साको बहुअर्वाभट्ठामा अरुणोदय डिस्टिलरी कम्पनी सञ्चालन गरेका इन्जिनियर जैसवालले मिटरब्याज तिर्न नसकेपछि बाध्य भएर यस्तो अप्रिय निर्णय लिएको सुसाइड चिठीमा लेख्नुभएको छ। आठ/नौ जना मिटरब्याजीको नाम पनि सो चिठीमा लेखेको तथा यी सबै प्रमाण प्रहरीमा बुझाएको तथा केही दिनअघि मात्र ब्याजको पैसा तिर्न ससुरालीबाट एक करोड, बैङ्कबाट चार करोड र घरबाट ६५ लाख रुपियाँ मिटरब्याजीलाई दिएको चिठीमा उल्लेख छ। 

आर्थिक वर्ष २०७७/७८ मा विष सेवनबाट ४० जना, झुन्डिएर ९९ जना गरी १३९ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७६/७७ मा विष सेवन गरी ३४ जना, झुन्डिएर ९४ जना, शरीरमा आगो लगाएर तीन जना गरी कुल १३१ जनाले ज्यान गुमाएका छन्। मिटरब्याजी, प्रेम सम्बन्ध, पारिवारिक बेमेल, गैर सम्बन्ध, घरेलु हिंसा, दाइजो प्रथालगायतका कारण कमजोर मनसाय भएकाले यसरी आत्महत्या गरेको पाइएको छ। आत्महत्या गर्नेमा बढी युवा रहेका छन् तर आत्महत्या गर्नेमा बालबालिका र वृद्धवृद्धा निकै कम छन्। महिला तथा बालबालिकामाथि हुने विभिन्न किसिमका घरेलु हिंसा बढ्न थालेपछि त्यसलाई न्यूनीकरण गर्न जिल्लामा एक सयभन्दा बढी सङ्घ, संस्था कागजमा सक्रिय रहेको तर उनीहरूको प्रभाव अत्यन्त कम रहेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताउनुभयो। 

बाइस जनाद्वारा आत्महत्या

सप्तरी समाचारदाता देवरामप्रसाद यादवका अनुसार पछिल्लो दुई महिनामा २२ जनाले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ। चालू आर्थिक वर्ष २०७९/८० को दुई महिनामा १४ महिला र आठ पुरुष गरी २२ जनाले आत्महत्या गरेको छ भने आर्थिक वर्ष २०७८/७९ मा १३६ जनाले आत्महत्या गरेको सप्तरी प्रहरीको तथ्याङ्कमा उल्लेख छ। व्यावसायिक असफलता, बैङ्क तथा मिटरब्याजीको तनाव, पारिवारिक झमेला, प्रेम प्रसङ्ग, परीक्षामा असफलता, जीवनबाट नैराश्यलगायतबाट प्रेरित भएर आत्महत्या रोज्ने गरेको पाइएको छ।

१८९ जनाले गरे आत्महत्या 

लहान समाचारदाता जीवछ यादवका अनुसार लहान नगरपालिकामा भदौ २२ गतेदेखि असोज २ गतेसम्ममा चार जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा एक महिला र तीन पुरुष रहेका छन्। इलाका प्रहरी कार्यालय लहानका अनुसार एघार दिनमा चार जनाले आत्महत्या गरेको छ। चारै जना झुन्डिएर आत्महत्या गरे पनि के कारणले आत्महत्याको शृङ्खला बढ्दै गएको हो यस बारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको प्रहरी नायब निरीक्षक कुमार मैनालीले जानकारी दिनुभयो। 

असोज २ गते लहान–१३ का २३ वर्षीय सुनीलकुमार यादवले गाउँमा लागेको जितिया मेलामा महिला नर्तकी (बाय) नचाउन गाउँले बूढापाकाले नदिएको र घरमा आमाबुवाले समेत गाउँलेले भनेको मान्नुपर्छ भन्दा त्यसैको रिसमा रुखमा झुन्डिएर आत्महत्या गरेको छ। भदौ २९ गते लहान १ घर भएका ५० वर्षीय सुनचाँदी व्यापारी रामअशिष महतो, लहान–३  स्थित आफ्नै सो रुमको चौथो तल्लाको कोठाभित्रबाट चुकुल लगाई सिलिङमा रहेको रडमा पर्दाको कपडामा पासो लगाई मृत अवस्थामा फेला परेको थियो भने भदौ २७ लहान–६ स्थित राम कोलोनीमा मो. साहिरको घरमा कोठा भाँडामा लिई बस्दै गरेको सप्तरी खडक नगरपालिका–६ घर भएको वर्ष १८ को विद्यार्थी राज पासवान नाइलनको डोरीमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थियो। 

भदौ २२ गते लहान–१० ग्रामीण चोकस्थित उपेन्द्र यादवको श्रीमती वर्ष २० की पूर्णिमा यादव घरको कोठाभित्रै सिलिङको पङ्खामा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थियो। यता सिरहा जिल्लामा २०७८ साउन देखि २०७९ साउनसम्म १८९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिनुभयो।