• १६ भदौ २०८१, आइतबार

एक्काइस कैदीबन्दी रिहा

blog

कास्की समाचारदाता

कास्की, असोज ४ गते । संविधान दिवसका अवसरमा जिल्ला कारागार कास्कीबाट २१ जना कैदी रिहा भएका छन्। कारागारका प्रमुख भीमराज कोइरालाका अनुसार दुई महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएका हुन्। 

रिहा हुने कैदीमा बहुविवाह मुद्दाका दुई महिला र दुई पुरुष, कर्तव्य ज्यान आठ,  सवारी ज्यान दुई, ज्यान मार्ने उद्योग तीन, चोरीका तीन जना रहेको कारागार प्रमुख कोइरालाले जानकारी दिनुभयो। 

कारागारमा ४० देखि ५० प्रतिशत कैद भुक्तानी गरिसकेका र नकारात्मक सूचीमा नपरेकाहरूलाई संविधान र गणतन्त्र दिवसका अवसरमा कैदमुक्त गरिँदै आएको कोइरालाले जानकारी दिनुभयो। यसअघि गणतन्त्र दिवसका अवसरमा कास्कीबाट २८ जना कैदी रिहा भएका थिए। 

रिहा भएकालाई राम्रो काम गर्नू भनेर सम्झाई बुझाई पठाएको उहाँले बताउनुभयो। “हामीले सत्कर्ममा लाग्नू भनेर पठाएका छौँ। यसअघि टीका लगाएर बिदाइ गरियो। यस पटक सम्झाएर मात्र पठाइयो,” उहाँले भन्नुभयो। कास्की कारागारमा ३८ महिला, ८०१ पुरुष र दुई नाबालक गरी ८४१ जनाले जेल सजाय काटिरहेका छन्। कैदीको सङ्ख्या बढ्दा कारागारमा बस्न समस्या हुने गरेको छ। उहाँले भन्नुभयो, “शौचालयको निकै समस्या छ। ८४१ जना भनेको त पूरै गाउँ जस्तै हो। खाना खानभन्दा पनि सीमित मात्रामा शौचालय हुँदा निकै कठिन भएको छ।” 

“कारागारमा २०२२ सालमा बनेको एउटा ब्लक छ। त्यही बेलाको वायरिङले गर्दा बिजुलीको समस्या उस्तै छ। लाखाैँ जरिवाना तिर्नुपर्ने अवस्था छ,” उहाँले थप्नुभयो। कारागारको समस्या सम्बन्धित निकायलाई जानकारी गराए पनि आश्वासन मात्र पाएको उहाँको गुनासो छ।