• १३ साउन २०८१, आइतबार

महाकालीमा पक्की पुल शिलान्यास

blog

दार्चुला समाचारदाता

दार्चुला, असोज ४ गते । दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको पिथौरागढ जिल्लाको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालतर्फ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारततर्फको पिल्लरमा सोमबार शिलान्यास गर्नुभएको थियो। सो अवसरमा महाकाली नदीको समेत पूजा गरिएको थियो। 

पुल भारत सरकारको सहयोगमा निर्माण हुने जनाइएको छ। मन्त्री बडूले सुदूर

पहाडमा पहिलो पटक नेपाल–भारत जोड्ने पक्की पुल बन्न लागेको बताउनुभयो। यसअघि कञ्चनपुर, कैलालीमा पुल भए पनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन।

मन्त्री बडूले भन्नुभयो, “दार्चुलामा पुल बनेसँगै सुदूर पहाडको समृद्धिको ढोका खुल्छ। दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकाले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्छ।”

उहाँले पुल निर्माणपछि सरकारी र नागरिकस्तरमा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने बताउनुभयो।

उहाँले दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा सहज हुने बताउनुभयो।

उहाँले महाकाली नदीमा पक्की पुल निर्माणपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्ला एवं भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने विश्वास व्यक्त गर्नुभयो।

यसअघि पनि सोही स्थानमा पक्की पुल निर्माणको पहल बेलाबेलामा भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा समेत पुल निर्माणको अध्ययनपछि प्रक्रिया अघि बढेको थियो। 

यद्यपि, पक्की पुलको टेन्डर नै रद्द भएको थियो। सो स्थानमा पुल निर्माणका लागि पटक–पटक दुई देशबीच छलफल भए पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन। 

दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सातवटा झोलुङ्गे पुल सञ्चालनमा छन्। दुईवटा पुल निर्माणाधीन अवस्थामा  छन्। थप केही पुल निर्माणका लागि पहल भइरहेको छ। 

स्थानीय भुवन जोशीले पुल निर्माण हुने चर्चा वर्षौंदेखि चलेको भए पनि त्यो त्यसै सेलाएकाले शिलान्यास गरिएको पुल छिटो निर्माण गर्न अनुरोध गर्नुभयो।

महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले महाकाली नदीमा पुल निर्माणले सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको व्यापारमा सहयोग पुग्ने बताउनुभयो। नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ।