जिल्लाको रास्कोट नगरपालिकाले पालिकाभित्रका सबै सार्वजनिक जमिन खाली गर्न निर्देशन दिएको छ। असोज ३ गते एक सूचना प्रकाशित गरी ४५ दिनभित्र नगरपालिकाको केन्द्र आरसीपी बजार र आसपासमा निर्माण गरिएका घरटहरा खाली गराउन निर्देशन दिइएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले कार्यपालिकाको निर्णयअनुसार सूचना प्रकाशन भएको दिनदेखि ४५ दिनभित्र घरटहरा हटाउन निर्देशन दिनुभएको छ। गत भदौ ३० गते गोरखापत्रमा रास्कोट गाउँपालिकाको सार्वजनिक जग्गामा व्यक्तिको रजाइँ शीर्षकमा समाचार प्रकाशन भएपछि नगरपालिकाले सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु गरेको छ। नगर कार्यपालिकाका एक सदस्यले अघिल्लो सरकारले धेरै पटक सूचना गरेको भए पनि हटाउन नसकेकोमा अहिले भने कडा रूपमा निर्देशन दिइएको बताउनुभयो।
अविरल वर्षापछि गत भदौ ३१ गते पन्तुरा खोलामा आएको बाढी बस्तीमा पसी घर, खेत बगाएपछि नगरप्रमुख आफैँ बाँध निर्माण गर्न जुट्नुभएको छ। भित्रीमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका–६, सिमलखेतमा २०६४ सालपछि यस वर्ष फेरि बाढी पसेको हो। बाढीले सिमलखेत बस्तीमा क्षति पु¥याएपछि दुई सय थान तारजाली खरिद गरी नगरपालिकाले जनश्रमदानमा बाँध लगाउने काम थालेको छ। नगरप्रमुख भरतबहादुर बडायर जोशी, वडाध्यक्ष खगेन्द्र सिंहलगायतका जनप्रतिनिधि र स्थानीयवासी बिहीबारदेखि बाँध निर्माणमा जुट्नुभएको छ।
माछाको अवैध आयात रोक्न सरकारसँग माग गरिएको छ। शुक्रबार नारायणगढमा विभिन्न सात संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी माछामा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा अवैध रूपमा भारतबाट आउने माछाले नेपाली किसानलाई प्रत्यक्ष असरसँगै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको बताएका हुन्।
अपाङ्गता भएका व्यक्तिको रोजगारी सुनिश्चितताका लागि विराटनगरमा दुईदिने रोजगार मेला आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ सहित निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्यमा आगामी कात्तिक १८ र १९ गते मेला आयोजना गरिने भएको हो । सो मेलामा प्रदेश १ का आठ जिल्लाबाट तीन सय लाभग्राही र एक सय रोजगारदातालाई एकै थलोमा राखिने भएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, सङ्खुवासभा र भोजपुर सहभागिता रहने भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका वस्तुमा अवस्थित विचित्र गुफा प्राकृतिक आकृतिहरुको कलात्मक बुट्टाले भरिएको छ । यो गुफा २०४५ साल असार ५ गते पत्ता लागेको थियो । स्थानीय बासिन्दाले ढेडु (बाँदर) लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । नेपालको महत्वपूर्ण राष्ट्रिय सम्पदा, शिवधामको रुपमा कल्पित सुन्दर एवम् मनमोहक विचित्र गुफा धुर्कोट गाउँपालिका–५ वस्तु कमलावनमा अवस्थित छ । कमलावन वस्तु कालिकास्थान एवम् धनार्जीको बीचमा पर्छ ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्कमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्तीमा बाख्रा मात्रै राखिएको छ। भूकम्प पीडितका लागि निर्माण गरिएका घरको कोठामा बाख्रा, दाउरा र घाँस राखिएको पाइएको हो। २०७५ सालमा निर्माण सुरु गरिएको बस्तीमा एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ। २०७७ सम्म आइपुग्दा १९ वटा घर निर्माण गरेर जस्तापाता हालिएको थियो। १९ वटामध्ये दुईवटा घरमा झ्याल, ढोका हालेर भूकम्प पीडित कहिलेकाहीँ बस्ने गरेको पाइएको छ। अन्य घरमा रङरोगन, भुइँ ढलानदेखि झ्याल, ढोका लगाउने कुनै काम अहिलेसम्म भएको छैन। बस्तीमा एउटा मात्र सामान्य बाँसको भाटाले बारेको शौचालय निमार्ण गरिएको छ भने खानेपानीको कुनै सुविधा छैन। विद्युत् विस्तार पनि अहिलेसम्म हुन सकेको छैन।
रामेछाप सदरमुकाम मन्थलीका व्यवसायी दुर्गाकुमारी श्रेष्ठले मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस (स्क्वास) बेच्नुहुन्छ। बाहिरबाट रामेछाप आएका र रामेछापबाट काठमाडौँलगायतका ठाउँमा जाँदा जुनारको जुस कोसली लैजान्छन्, पसलमा जुनारको जुस राम्रै बिक्री हुन्छ, मन्थली बजारको देवकोटा चोकमा पसल राख्नुभएका श्रेष्ठले भन्नुभयो। आफ्नो पसलबाट मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो। श्रेष्ठले जस्तै मन्थलीस्थित देवकोटा चोकमै सञ्चालित रामेछाप डेरीले मासिक ८० हजार रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री गरिरहेको छ। पसलबाट पनि कोसेलीका रूपमा जुनारको जुस बिक्री हुने गरेको रामेछाप डेरीका सञ्चालक किशोर पौडेलले बताउनुभयो।
अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याउनुभएको छ । बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले बीमा दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ, यसलाई वृद्धि गरिनुपर्छ ।” देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार ३६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा ३२७ मात्रै रहेको उहाँले बताउनुभयो । अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भमा रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६८७ मात्रै छ । यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट टाढा छ, मन्त्री शर्माले भन्नुभयो ।
विशेष कारणवश आज शनिवारीय परिशिष्टाङ्क प्रकाशित हुन नसकेको जानकारी गराउँछौँ ।
गण्डकी प्रदेशमा गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको छ। ३६ खेलका खेलस्थल सार्वजनिक गरेसँगै खेलमैदानको निर्माणलाई अगाडि बढाइएको छ। प्रदेशको राजधानी पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने तयारी राखेपले गरेको छ। खेलस्थल र खेल तालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको बहुप्रतीक्षित कृति ‘ऋतंभरा महाकाव्य’ लोकार्पण भएको छ। साझा प्रकाशन, नेपाली शिक्षा परिषद्द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लेखककी धर्मपत्नी महाकाली घिमिरे र परिषद्का अध्यक्ष रमा शर्माले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले रुख काट्न आफ्नै समकक्षी मन्त्रीहरूको दबाब आएको खुलासा गर्नुभएको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको ५०औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार निकुञ्ज मुख्यालय कसरामा आयोजित कार्यक्रममा मन्त्री यादवले जति नै दबाब आए पनि वन विनाश हुने गरी आफूले रुख काट्ने अनुमति नदिने स्पष्ट पार्नुभयो।
सिन्धुली जिल्लामा स्थानीय तहहरूले यो वर्ष बाढीपहिरोका कारण क्षति भएका सडकहरूको मर्मत सुरु गरेका छन्। दशैँसम्ममा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक सबैमा सहज यातायात सञ्चालन गर्ने उद्देश्यले मर्मत कार्य सुरु गरिएको पालिकाहरूले जनाएका छन्। तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले पालिकाको ११ वटै वडामा पर्ने मुख्य सडक र भित्री सडकको मर्मत कार्य भइरहेको बताउनुभयो।
दशैँलाई लक्षित गरी दोलखाको वैतेश्वर गाउँपालिकास्थित प्राइम बैङ्क शाखाले प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ। गाउँपालिकाको समन्वयमा बैङ्कसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न सामाजिक सुरक्षा भत्ता वडामा पुगेर वितरण गर्न लागिएको बैङ्कका शाखा प्रबन्धक उमेशराज गिरीले जानकारी दिनुभयो।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा रहेका ढोईलाई प्रजननका लागि अझै पनि जङ्गली मत्ताकै भर पर्नुपर्ने अवस्था छ। प्रजनन केन्द्रमा मत्ता हात्ती नभएपछि जङ्गलीकै भर पर्नुपर्ने अवस्था आएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मोहोनपुरन चौधरीले बताउनुभयो। “प्रजनन केन्द्रमा अहिले मत्ता छैन, सबै ढोई जङ्गली मत्ताबाटै प्रजनन भइरहेका छन्,” उहाँले भन्नुभयो, “अहिले प्रजनन केन्द्रमा रहेका १२ वटा गर्भवती ढोई सबै जङ्गलीकै बीज हुन्।” गत असार १७ गते ऐश्वर्यमलाले जन्माएको दोस्रो छावा रमेशगजको बाबु जङ्गली चर्चित मत्ता धुव्रे हो। हात्ती सुसारे रमेश चौधरी हात्ती चराउने क्रममा बाघको आक्रमणमा मारिएपछि उनकै सम्झनामा नयाँ जन्मिएको छावाको नाम रमेशगज राखियो। प्रजनन केन्द्रमै गत भदौ १२ गते जन्मिएकी स्वर्णकलीको बाबु जङ्गली मत्ता रोनाल्डो हो। पछिल्लो छ महिनामा प्रजनन केन्द्रमा रमेशगज र स्वर्णकलीजस्तै छवटा छावा जन्मिएकामा सबैका बाबु जङ्गली मत्ता भएको केन्द्रका कर्मचारी बताउँछन्।