• ११ असोज २०८१, शुक्रबार

भूकम्पपीडितका लागि निर्मित बस्तीमा बाख्रापालन

blog

राजकुमार भट्टराई

खोटाङ, असोज ८ गते । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्कमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्तीमा बाख्रा मात्रै राखिएको छ। भूकम्प पीडितका लागि निर्माण गरिएका घरको कोठामा बाख्रा, दाउरा र घाँस राखिएको पाइएको हो। 

२०७५ सालमा निर्माण सुरु गरिएको बस्तीमा एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ। २०७७ सम्म आइपुग्दा १९ वटा घर निर्माण गरेर जस्तापाता हालिएको थियो। १९ वटामध्ये दुईवटा घरमा झ्याल, ढोका हालेर भूकम्प पीडित कहिलेकाहीँ बस्ने गरेको पाइएको छ। अन्य घरमा रङरोगन, भुइँ ढलानदेखि झ्याल, ढोका लगाउने कुनै काम अहिलेसम्म भएको छैन। बस्तीमा एउटा मात्र सामान्य बाँसको भाटाले बारेको शौचालय निमार्ण गरिएको छ भने खानेपानीको कुनै सुविधा छैन। विद्युत् विस्तार पनि अहिलेसम्म हुन सकेको छैन।

२०७२ सालको भूकम्पबाट पीडितका लागि निर्माण गरिएको एकीकृत बस्ती योजना सम्पन्न नहुँदै अलपत्रजस्तै भएको छ। स्थानीय शारदाप्रसाद ढकाल र कृष्णकुमारी ढकालले सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएर निर्माण सुरु गरिएको बस्ती वरिपरि झारपात पलाएर झाडीका रूपमा परिणत भएको छ। 

एकीकृत बस्तीको लागि हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट १९ घर लाभग्राहीले पाउने तीन लाखमध्ये दुई लाख ५० हजारका दरले ४७ लाख ५० हजार, तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन), ओखलढुङ्गाको ५२ लाख रुपियाँ भुक्तानी भएको निर्माण समितिका संयोजक प्रमेश ढकालले बताउनुभयो। यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले भत्किएको ठाउँमा पर्खाल निर्माण गर्न एक लाख, गेट निर्माण गर्न ९४ हजार र दुईवटा सोलार बत्ती दिएको छ। घर निर्माणअघि जग्गा सम्याउने कार्य पनि नगरपालिकाले गरिदिएको ढकालको भनाइ छ। 

आयोजना कार्यान्वयन एकाइको रकम मेसिनरी वाल र नाली निर्माणका लागि प्रयोग भएको हो। लाभग्राहीको दुई लाख ५० हजार रुपियाँका दरले घर निर्माण भएको हो। पहिलो किस्तामार्फत लाभग्राहीले बुझेको ५० हजार रुपियाँले झ्याल, ढोका र शौचालय निमार्ण गर्ने सहमति भएको ढकालको भनाइ छ। सम्झौताअनुसार लाभग्राहीले झ्याल, ढोका हालेर बस्तीमा नबसेको ढकालले आरोप लगाउनुभयो।

एकीकृत बस्तीमा भ्यु टावर, मन्दिर, स्टेज, चिल्ड्रेन पार्कलगायका संरचना निर्माण गर्नेगरी सुरु गरिए पनि रकम अभाव भएको भन्दै अहिलेसम्म कुनै कार्य सुरु भएका छैनन्। डाक्टर नरेश रिमालको आर्थिक सहयोगमा एकीकृत बस्तीसँगै जोडेर फूलबारी नेसनल स्कुल भने सञ्चालनमा ल्याइएको छ। 

भूकम्पले घर भत्काएर बस्ने ठाउँ नै नभएकाहरूका लागि एकीकृत बस्ती निर्माण गरिएको भनिए पनि प्रदेश राजधानी विराटनगर र सङ्घीय राजधानी काठमाडौँमा घर भएकाको घर पनि उक्त बस्तीमा निर्माण गरिएको पाइएको छ । अन्य घर पनि सोही गाउँको अन्यत्र व्यवस्थित तरिकाले बसिरहेकाहरूको घर बस्तीमा निर्माण गरिएको पाइएको छ। जसअनुसार उक्त एकीकृत बस्तीमा मानिस आएर बस्ने सम्भावना कम देखिएको स्थानीय बताउँछन्।