• ३१ जेठ २०८२, शनिबार

प्रदेश सरकारमातहत अस्पताल

blog

बागलुङको बडीगाड गाउँपालिकाको पौँदीटारीमा निर्माण सम्पन्न आधारभूत अस्पताल । तस्बिर : रामकृष्ण बोहोरा

रामकृष्ण बोहोरा 

बागलुङ, जेठ ३० गते । स्थानीय तहमातहतमा रहेका जिल्लाका दुई अस्पताललाई गण्डकी प्रदेश सरकारले आफूमातहत ल्याउने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गर्दै बागलुङ नगर अस्पताल र बडीगाड आधारभूत अस्पताललाई गण्डकी सरकारमातहत ल्याउन आवश्यक प्रक्रिया अघि बढाउनुभएको हो । 

गत जेठ २३ गते मन्त्रीस्तरीय निर्णय गर्दै गण्डकी प्रदेश सरकारले बागलुङका दुईसहित स्याङ्जाको वालिङ र भिरकोट नगर अस्पताल, तनहुँको भानु नगरपालिकास्थित कालीमाटी अस्पताल, लमजुङको सुन्दरबजार अस्पताललाई प्रदेशमातहत ल्याउन ल्याउँदै छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार छ अस्पताललाई स्तरोन्नति गर्ने प्रयोजनार्थ अध्ययन प्रतिवेदन पेस गर्ने गरी कार्य सर्तसहितको कार्यदल गठन गरिएको छ । 

गण्डकी सरकारले यसअघि दुई आयुर्वेदसहित १३ अस्पतालको स्तरोन्नति गर्दै शय्या क्षमता र दरबन्दीसमेत थपिसकेको छ । अस्पतालको स्तरोन्नति र पालिका तहमा रहेका अस्पताललाई प्रदेश सरकारमातहत ल्याई बाँकी रहेका सम्पन्न गरी सेवा विस्तार गर्दा प्रदेशवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने मन्त्री पाठकले बताउनुभयो । ठेकेदारको ढिलासुस्तीले बागलुङ नगरपालिका–१३, पैयुँपाटामा निर्माणाधीन नगर अस्पतालको भवन अहिले अलपत्र परेको छ । 

नगरपालिकाले पटक पटक ताकिता गर्दा समेत भवनको काम पहिलो तला ढलानमा सीमित छ । प्रदेशले अपनत्व लिएपछि नगर अस्पताल अब छिट्टै बन्नेमा बागलुङ नगरका जनप्रतिनिधि आशावादी हुनुहुन्छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो, “स्थानीय तहको सीमित स्रोतसाधनले धान्न नसक्ने हुँदा प्रदेश सरकारले पालिकास्तरीय अस्पतालको अपनत्व लिनु राम्रो कुरा हो ।” १५ शय्याको अस्पताल भवन निर्माण गर्न नगरपालिकाले श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते  ठेक्का सम्झौता गरेको थियो । १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । भवन २०८० असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्टसहितको अस्पताल निर्माण गर्ने स्टिमेट छ । 

स्थानीयको नौ रोपनी जमिन नगर अस्पतालका नाममा पास भएपछि पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालका रूपमा नामकरण गरिएको थियो । स्वास्थ्यको पहुँचबाट टाढा रहेको दक्षिण क्षेत्रलाई लक्षित गरी अस्पताल निर्माण थालिए पनि भवन निर्माण ढिलो हुँदा अस्पतालको सेवा प्रभावकारी नहुँदा समस्या भएको वडा नं. १४ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो । रायडाँडा, पैयुँपाटा, अमलाचौर र नारायणस्थानवासीलाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने छ ।

बडीगाड गाउँपालिकाको ग्वालीचौरको पौँदीटारीमा १८ करोडको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भए पनि दक्ष जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको छैन । बडीगाड अस्पताल गण्डकी प्रदेशमातहतमा आउने भएपछि गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले खुसी व्यक्त गर्नुभएको छ । प्रदेशका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीप्रति आभार व्यक्त गर्दै अधिकारीले अब अस्पताल छिट्टै सञ्चालनमा आउने र आफ्ना नागरिकले विशेषज्ञ सेवा पाउनेमा आशा जगाएको बताउनुभयो ।