दिवाकर पोख्रेल
देउखुरी, जेठ ३० गते । हुलाकी राजमार्ग अन्तर्गत गढवाको बौराहाखोलादेखि राजपुर गाउँपालिका–६ को गङ्गदीसम्मको कालाकाटे–सिक्टा सडकखण्ड निर्माणको समयसीमा यही असारमा सकिँदै छ । निर्धारित म्याद सकिन लाग्दासमेत काम सम्पन्न नहुँदा निर्माण पक्षको कार्यप्रति प्रश्न उठ्न थालेको छ ।
करिब ४० किलोमिटर लम्बाइको सडक फराकिलो बनाउँदै कालोपत्रे गर्ने लक्ष्यसहित वज्रगुरु कान्छाराम जेभी र खड्का कृष्ण कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । हुलाकी राजमार्ग कार्यालय नेपालगन्जका इन्जिनियर श्रवणकुमार महताराले खड्का कृष्ण कन्स्ट्रक्सनले गढवा–गङ्गदी खण्डको काम सकाइसकेको तर वज्रगुरु कान्छारामले भने ढिलाइ गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पटक पटक ताकिता गर्दा पनि कम्पनीले काम नगरेपछि विभागमा ठेक्का सम्झौता तोड्न पत्राचार गरिएको थियो तर कम्पनीले म्याद थप अनुरोध गर्दै बाँकी काम सक्ने प्रतिबद्धता जनाएपछि प्रक्रिया अगाडि बढाइएको हो । निर्माण कम्पनीका प्रतिनिधि गोपाल पौडेलले समयमै भुक्तानी नपाएकाले काममा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब रामनगरदेखि गढवा बजारसम्मको पाँच किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी छ, साउन–भदौभित्रमा काम सकिन्छ ।”
योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार बिचमा पर्ने घना वनक्षेत्र र मानवबस्तीले पनि काममा अवरोध पुर्याएको छ । उहाँले भन्नुभयो, “गङ्गदीदेखि हाडबाससम्मको २० किलोमिटरका लागि वातावरणीय परीक्षण सकिएको छ । स्रोत सुनिश्चित भए दुई वर्षभित्र काम सकिन्छ ।”
उक्त सडकखण्डमा १२ भन्दा बढी पक्की पुल निर्माण भइसकेका छन् । बौराहा, पश्चिमपुरे, चमारे सोता, गुरुङखोला, सानो राप्तीलगायत पुलसहित हालसम्म एक अर्ब ३४ करोड रुपियाँभन्दा बढी खर्च भइसकेको कार्यालयले जनाएको छ । यसबिच निर्माण ढिलाइप्रति आपत्ति जनाउँदै राजपुर–७ मा वडाध्यक्ष पुष्कर वलीको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरिएको छ । सङ्घर्ष समितिका पुष्कर वलीले उक्त समितिले सडक निर्माणको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक दबाब सिर्जना गर्ने जानकारी दिनुभयो ।