भवानीदत्त भट्ट
कञ्चनपुर, असार २७ गते । कञ्चनपुरमा स्थानीयहरू आन्दोलित बनेका छन् । बिहीबार बेलौरीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको बसको ठक्करबाट बनसाहका ५५ वर्षीय द्रोपती भट्टको मृत्य भएको थियो ।
मृतक महिलाको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरू आन्दोलित बनेका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका स्थित कलुवार बजार क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमा नै थन्किएका छन् । प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सहमति जुट्न नसकेको जनाएको छ ।
स्थानीयहरूले उचित क्षतिपूर्ति उपलब्ध नगराउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सडक अवरुद्ध हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । मृतक भट्टको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।