बुटवल समाचारदाता
बुटवल, जेठ ३० गते । रुपन्देहीमा लामो समयदेखि पानी नपर्दा चापाकलसमेत सुकेका छन् । लामो समय पानी नपर्दा किसानले भूमिगत पानी (ट्युबेल) को प्रयोग गरी धानको ब्याड राख्दै आएका कारण अहिले तराईमा चापाकलमा पानी नआउने समस्या बढेको छ । रुपन्देहीका चापाकल करिब एक सय फिट गहिराइका छन् तर ट्युबेलले दुई सयदेखि तीन सय फिटसम्मको पानी तान्दै आएका कारण चापाकल सुक्ने समस्या बढेको हो ।
रुपन्देहीमा भूमिगत पानीको स्रोतका रूपमा रहेको डिप ट्युबेलमार्फत पानी वितरण गर्दै आएका विभिन्न खानेपानी संस्थाले समेत पानीको स्रोतका रूपमा रहेको भूमिगत पानी सुक्दै गएका कारण समस्या उत्पन्न भएको बताएका छन् । मुर्गिया खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाँले चापाकलको समस्या मात्रै होइन, तीन सय फिट तलबाट पानी तान्दा पनि पानी नआएको बताउनुभयो ।
उहाँले तराईमा धेरै दिनदेखि गर्मी बढेका कारण भूमिगत पानीको स्रोत सुकेको बताउँदै तराईमा धानको ब्याड राख्दासमेत घर घरका चापाकल र डिप ट्युबेल प्रयोग गरिएका कारण पानीको समस्या भएको बताउनुभयो ।
पानीको स्रोत सुकेका कारण केही दिनयतादेखि किसानले तरकारीमा पानी सिँचाइ गर्नसमेत नपाएको बताएका छन् । रुपन्देहीको खडवा बनगाईका किसान रामऔतारे लोँधले चापाकलमा मोटर जोडेर सिँचाइ गर्दै आए पनि अहिले भूमिगत पानीको स्रोत नै सुक्दै गएका कारण तरकारी बाली सुक्न थालेको बताउनुभयो । यता लामो समयदेखि पानी नपरेका कारण रुपन्देहीका थारू समुदायका महिलाले पानीको माग गर्दै भगवान् इन्द्रदेवको पूजा गरेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिकाका थारू समुदायका महिलाले बुधबार मलमल चौरा बाबाको पूजा गर्दै यो वर्ष वर्षायाममा रोगब्याध नलागोस्, अन्नपातको उब्जनी बढोस् भन्दै पूजा गरेका हुन् । त्यस क्रममा उनीहरूले थारू कल्याणकारी सभा सैनामैनाका सभापति दुलबहादुर थारूलाई नुहाइदिएर गोरु बेराइसमेत गरेका हुन् ।
गाउँका मुखिया वा अगुवालाई नुहाइदिने, मिठो मिठो खान दिएमा भगवान् इन्द्रदेव खुसी भएर पानी आउँछ भन्ने थारू समुदायमा विश्वास रहेको छ । त्यसैलाई गोरु बेराइ भनिन्छ । थारू कल्याणकारी सभा रुपन्देहीका सल्लाहकार रामवली चौधरीले महिलाले अर्को गाउँको पुरुष अगुवालाई ल्याएर नुहाइदिने, मिठो खान दिने र तेल लगाइदिने गरेमा इन्द्र भगवान्ले पानी बर्साउँछन् भन्न जनविश्वास रहेको बताउनुभयो ।