• ३१ जेठ २०८२, शनिबार

घरजग्गा लिलाम नगर्न आदेश

blog

बागलुङ बजारको हल्लनचोकमा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको घर । तस्बिर : रामकृष्ण बोहरा

बागलुङ समाचारदाता

बागलुङ, जेठ ३० गते । उच्च अदालत पोखराको बागलुङ इजलासले देवकुमार नेपालीका नाममा रहेको घरजग्गा लिलामी नगर्न राष्ट्रिय सहकारी बैङ्क लिमिटेड ललितपुरका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेशको मागसहित देवकुमार नेपालीले अदालतमा दिएको निवेदनउपरको सुनुवाइपछि बुधबार न्यायाधीश नातिबाबु लामिछानेको एकल इजलासले सो आदेश जारी गरेको हो । “निजको नामको घरजग्गा लिलाम गर्ने कार्य नगर्नू, नगराउनू भनी विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ । आदेशको जानकारी विपक्षीलाई दिई नियमानुसार गर्नुहोला,” आदेशमा भनिएको छ । 

अदालतले देवकुमारको माग अनुसार अन्तरिम आदेश दिन चाहिँ अस्वीकार गरेको छ । आदेशमा भनिएको छ, “रिट निवेदकले अन्तरिम आदेशसमेतको माग गरेको देखिँदा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त हुने हुँदा अन्तरिम आदेश छलफलका लागि मिति २०८२/३/९ गते अदालतमा उपस्थित हुनु भनी विपक्षीका नाममा म्याद सूचना जारी गर्ने ।” 

आफूहरूलाई थाहै नदिई सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको घर बिक्री भएको भनी सहकारीपीडित आन्दोलित बनेका छन् । पीडितलाई थाहै नदिई नेपालीको नाममा रहेको घर बिक्री गरिएको, पीडितका तर्फबाट लिलाम सकारेर बचत फिर्ता ल्याउन चाहे पनि लिलाम सकार्नेले राजनीतिक पहुँचमा झन्डै एक अर्ब पर्ने घर २०/२१ करोड रुपियाँमा बिक्री गरिएको भन्दै पीडित पक्ष आन्दोलित बनेको हो । 

बागलुङ नगरपालिका–२ स्थित हल्लनचोकको कित्ता नम्बर ४५७, ४५८ र ४५९ मा बनेको ठुलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो । 

राष्ट्रिय सहकारी बैङ्कले डेढ वर्षअघिदेखिको प्रक्रियाबाट घर लिलाम गरेको हो । दुवै घर बागलुङ नगरपालिका–११ का रामबहादुर र गोमा क्षेत्रीले लिलाम सकार्नुभएको थियो । तीन वर्षदेखि आन्दोलनरत सहकारीका बचतकर्ताले उक्त घर सस्तोमा बेचेर पीडितको रकम फिर्ता पाउने अवसरबाट वञ्चित गरेको बताउँदै इमेजपीडित सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले भन्नुभयो, “सस्तो मूल्यमा घर बेचेर अप्ठ्यारो पार्ने काम भएको छ ।”

सहकारीमा तरलता अभाव देखाएर अध्यक्ष नेपाली २०८० जेठ ४ देखि फरार भएपछि बचतकर्ताले आफूहरू ठगिएको भन्दै प्रहरी र सरोकारवाला गुहारेका थिए । पीडितको जाहेरी सङ्कलन गरी जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते नेपालीविरुद्ध मुद्दा दायर गरेको थियो । गत असोजदेखि नेपाली अदालतको आदेशले थुनामा हुनुहुन्छ ।