• १६ भदौ २०८१, आइतबार

गुल्मीमा विचित्रको गुफा [फोटोफिचर]

blog

रमेश विश्वकर्मा 

गुल्मी, असोज ८ गते । गुल्मीको धुर्कोट गाउँपालिका वस्तुमा अवस्थित विचित्र गुफा प्राकृतिक आकृतिहरुको कलात्मक बुट्टाले भरिएको छ । यो गुफा २०४५ साल असार ५ गते पत्ता लागेको थियो । स्थानीय बासिन्दाले ढेडु (बाँदर) लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । 

नेपालको महत्वपूर्ण राष्ट्रिय सम्पदा, शिवधामको रुपमा कल्पित सुन्दर एवम् मनमोहक विचित्र गुफा धुर्कोट गाउँपालिका–५ वस्तु कमलावनमा अवस्थित छ । कमलावन वस्तु कालिकास्थान एवम् धनार्जीको बीचमा पर्छ ।



विचित्र गुफा धार्मिक ऐतिहासिक एवम् जैविक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । विचित्र गुफाभित्र विभिन्न विचित्रैका कक्षहरु रहेका छन् । पहिलो कक्षमा दुवैतर्फ कडा चट्टान छतमा दरार एवम् चुनढुङ्गा छ । दोस्रो कक्षमा यज्ञ मण्डपाकार आकृतिको छ ।

तेस्रो कक्षमा नरसिंह अवतारको आकृति छ । चौथो कक्षमा शेष नागको आकृति छ । पाँचौ कक्षमा दाहिनेतर्फबाट सम्भावित अर्को गुफा जाने बन्द मार्ग भेटिन्छ भने छैटाैं कक्षमा गोकुल पुरीबाट परिचित विशाल कक्ष, देब्रे तर्फबाट स्वर्ग जाने मार्ग रहेको मान्यता छ । सातौं कक्षमा अयोध्यापुरीबाट परिचित कक्षा पूजामण्डप, छतमा सुन्दर प्राकृतिक अर्को कक्षमा जाने बाटो भेटिन्छ । 



नवौं कक्षमा कैलाशपुरी एवम् पर्वत दाहिनेतर्फ माथि अत्यन्त सुशोभित बुट्टा मुनि गोल अनुपम आसनको सन्मुखमा प्रकृतिबाट निर्मित शिवलिङ्ग र त्यसको देब्रेतर्फ पार्वतीको प्रतीक छ । त्यसको उत्तर पूर्वमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदाको रथ र जटायुले माथिबाट आक्रमण गरेको मूर्ति, पारदर्शक पत्थर एवम् विभिन्न आकृति छन् । 

गुफाको दशौं कक्षमा गौमाताका थुन, गोही एवम् पारदर्शक पत्थर  छ । एघारौं कक्षमा आठौं हलको देब्रेतर्फबाट स्वर्ग जाने मार्ग छ । उक्त मार्गको द्वार सानो भएकोले सबै भक्तजन त्यसबाट भित्र छिरेर अगाडि बढ्न सक्दैनन् । प्रवेशद्वारभित्रको कक्षमा सेता शिविलिङ्ग, गोही आदिको मूर्ति छन् । 



उक्त कक्षको मुखमा रामचन्द्रको धुनषवाण राख्ने सोली र साथै गणेशको मूर्ति छ । यो गुफा १८५ मिटर लम्बाई र ६० फिटभन्दा बढी उचाइमा फैलिएको छ । गुफामा विश्वकै दुर्लभ जन्तु मानिने चमेराहरुको बसोवास पाइन्छ । गुफाको नाममा ३० रोपनीभन्दा धेरै जग्गा रहेको विचित्र गुफा संरक्षण तथा विकास समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो । 

करिब पाँच सय मान्छे अटाउन सक्ने ठूला कक्ष यस गुफाभित्र भेटिन्छन् । अहिलेसम्म गुफाको दुई तलासम्म मात्रै अध्ययन गरिएको छ । “कडा र नरम पथ्थर सहितको चुनाले कलात्मक आकृति छन् । झनै थुप्रै तला र आकृति हुन सक्छन् । अध्ययन गर्न बाँकी छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो, “कलात्मक प्रकृतिका आकृतिको विचित्र गुफालाई संरक्षण गरी पर्यटक प्रवर्धन गर्नमा जुटेका छौं ।” 



यसको संरक्षण तथा संवर्धनका लागि स्थानीय बासिन्दाले आगन्तुकबाट शुल्क पनि लिने गरेको छ ।  अध्यक्ष भण्डारीले सूचना केन्द्रको स्थापना गर्न भवन निर्माण, सडक निर्माण, रेलिङ राख्ने, खानेपानीको व्यवस्थापन, डस्बिन राख्नेलगायतका काम गरिएको बताउनुभयो । 

विशेषगरी कात्तिकदेखि चैतसम्म आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । “पूर्वाधार निर्माण र प्रचार गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो, “बीचमा दशवर्षे द्वन्द्व, संरक्षण नहुँदा आकृति तोडफोड र चोरी भए ।” ओझेलमा परेको गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरी राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । 



अध्यक्ष भण्डारीका अनुसार गुफा नजिकैबाट पर्यटकीय पुल निर्माण गर्न लागिएको छ । गुफाको अवलोकनका लागि पर्यटकहरुको सहजताका लागि रामदल चौरदेखि नजिकै ३७० मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । 

यस गुफामा सदरमुकाम तम्घासबाट सेउघा–छल्दी–पनाहा–हुलाके हुदैँ धनार्जी सम्म १८ किलोमिटर पक्की सडकमा पुगिन्छ । त्यसपछि तीन किलोमिटर कच्ची सडक पार गर्दै करिब २५ मिनेटको पैदल यात्रापछि गुफासम्म पुग्न सकिन्छ । धनार्जीबाटै १० मिनेटको सवारी यात्रामा गुफासम्म पुग्न सकिन्छ ।