रामपुर समाचारदाता
रामपुर (पाल्पा), असार २२ गते । रामपुर नगरपालिकाका सरोकारवालाले बुटवल पावर कम्पनी (बिपिसी) लाई विद्युत् सेवाको गुणस्तर सुधार गर्न आग्रह गरेका छन् । विद्युत् महसुल दर, भोल्टेजस्तर, प्रसारण लाइनमा देखिएको समस्याको विषयमा भएको छलफलमा सहभागीले गुणस्तर तत्काल सुधार गर्न माग गरेका हुन् ।
बिपिसी आँधीखोला वितरण केन्द्रका प्रतिनिधिसहित रामपुरमा भएको छलफलमा सहभागीले महसुल दर वृद्धि गरे पनि विद्युत् लाइनको उचित व्यवस्थापन नगर्दा दुर्घटनाको जोखिम बढेको, भोल्टेज सुधार नगर्दा उद्योगी व्यवसायीसँगै खानेपानी योजना, सार्वजनिक सेवा प्रवाहमा समेत समस्या देखिएको बताएका थिए ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले नगरको अधिकांश स्थानमा बिपिसीबाट विद्युत् सेवा उपभोग गर्दै आए पनि पछिल्लो समय गुणस्तरका विषयमा जनताको गुनासो बढ्दै गएको बताउनुभयो । विद्युत् लाइन अनियमित हुँदा उद्योगी व्यवसायी मात्र नभई यहाँका खानेपानी तथा अन्य योजना पनि प्रभावित बनेको उल्लेख गर्नुभयो । उहाँले तत्काल सुधार गर्न सकिने कार्यलाई यथाशीघ्र सुधार गर्न आग्रह गर्नुभयो । वडा नंं. ८ का वडाध्यक्ष दिनेश आचार्यले विद्युत् वितरण लाइन तार मकैको बोटले पनि छुने अवस्था रहेको र लाइनका कारण वडामा लिफ्टिङ योजनाका संरचना तयार भए पनि प्रयोगविहीन बनेको बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष रामबहादुर रानाले भोल्टेज कम आउने समस्याका कारण वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा पनि कठिनाइ भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य कमलराज भट्टराईले व्यवसाय गर्न आएको कम्पनीले लगानी थपेर गुणस्तर सुधार नगर्ने हो भने उपभोक्ताले विकल्प खोज्नुको अन्य उपाय नभएको बताउनुभयो । कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले गुणस्तर सुधार गरेर मात्र महसुल वृद्धि गर्ने भनिए पनि बिपिसीले एक्कासि महसुल वृद्धि गरेको भन्दै आपत्ति जनाउनुभयो ।
सहभागीको गुनासो सम्बोधन गर्दै बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्र गल्याङका वितरण प्रमुख डिल्लीराम ढकालले समस्या समाधानका लागि कार्ययोजना बनाएर सुधारको प्रयत्न गर्दै आएको बताउनुभयो । कार्ययोजना अन्तर्गत रामपुर चापाकोट क्षेत्रमा ८० वटा पोल परिवर्तनसँगै आवश्यक स्थानमा ट्रान्समिटर थप गर्न लागिएको जानकारी दिनुभयो ।