फ्नोम पेन्ह, असार २१ गते । क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल ३४ लाख २० हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको आगमन दर्ता गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो ।
राज्य नागरिक उड्डयन सचिवालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, यो वर्षको जनवरीदेखि जुन महिनासम्म क्याम्बोडिया आएका अधिकांश हवाई यात्रुहरू चीन, थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र जापानबाट आएका थिए । सचिवालयका सचिव तथा प्रवक्तासिन्न चानसेरेय भुथाले भन्नुभयो, “क्याम्बोडियाले सन् २०२५ भित्र करिब ७५ लाख यात्रुहरू सेवा दिन सक्ने अनुमान गरिएको छ, जुन सन् २०२४ मा दर्ता भएको ६२ लाख ४० हजार यात्रुहरूको तुलनामा २० प्रतिशतले बढी हो ।”
उहाँले सन् २०२३ को नोभेम्बरमा सञ्चालनमा आएको सिएम रियप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल र सन् २०२५ को सेप्टेम्बरमा सञ्चालनमा आउने टेचो अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडान र यात्रुहरूलाई आकर्षित गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
“यी दुई विमानस्थल संसारभरिका लगभग सबै प्रकारका जहाजहरू अवतरण गर्न सक्ने क्षमतायुक्त छन्, त्यसैले म विश्वस्त छु कि यी विमानस्थलहरूले क्याम्बोडियासँग प्रत्यक्ष उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्ने छन्,“उहाँले भन्नुभयो । रासस/सिन्ह्वा