• १३ साउन २०८१, आइतबार

कृति ‘ऋतंभरा महाकाव्य’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ८ गते। राष्ट्रकवि माधवप्रसाद घिमिरेको बहुप्रतीक्षित कृति ‘ऋतंभरा महाकाव्य’ लोकार्पण भएको छ। साझा प्रकाशन, नेपाली शिक्षा परिषद्द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लेखककी धर्मपत्नी महाकाली घिमिरे र परिषद्का अध्यक्ष रमा शर्माले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो। 

प्रतिष्ठानका कुलपति उप्रेतीले पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै नेपाली पाठक, साहित्य अनुरागीहरूको लामो प्रतीक्षापछि प्रकाशित ‘ऋतंभरा’को प्रतीक्षा सकिएको र यस कृतिमार्फत लेखकको लामो समयको साधनाको निचोडको व्यापक चर्चा हुने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रममा राष्ट्रकवि घिमिरेको कृतिमा विद्यावारिधि गर्नुहुने डा. लेखप्रसाद निरौलाले ‘ऋतंभरा’ एक सत्यबोध गर्न सक्ने पौराणिक पात्रका रूपमा छनोट गरी लेखकले ऋग्वेद, सामवेदलगायतका वेदहरूको अध्ययनको निष्कर्षका रूपमा सत्यको खोज गर्नुभएको बताउनुभयो। 

राष्ट्रकवि घिमिरेका सुपुत्र इन्जिनियर राजीव घिमिरेले बुवाले लामो समयदेखि प्रकाशन गर्ने इच्छासहित लेखिरहनुभएको कृति ‘ऋतंभरा’ उहाँको जीवनकालमा निकाल्न नसके पनि उहाँको देहान्तपछि प्रकाशित गर्न सफल भएको बताउनुभयो।