• २२ फागुन २०८१, बिहिबार

रुख कटानमा मन्त्रीहरूकै दबाब

blog

नारायणगढ समाचारदाता 

भरतपुर, असोज ८ गते । वन तथा वातावरणमन्त्री प्रदीप यादवले रुख काट्न आफ्नै समकक्षी मन्त्रीहरूको दबाब आएको खुलासा गर्नुभएको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको ५०औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार निकुञ्ज मुख्यालय कसरामा आयोजित कार्यक्रममा मन्त्री यादवले जति नै दबाब आए पनि वन विनाश हुने गरी आफूले रुख काट्ने अनुमति नदिने स्पष्ट पार्नुभयो। 

“रुखको कटान गर्ने फाइल अहिले मन्त्रालयमा आएका छन्। कतै पाँच/पाँच हजार त कतै २६/२६ हजार रुख कटान गर्न आउँछन्। एउटा फाइल त ९० हजार रुख काट्नका लागि आएको छ मेरो टेबलमा,” उहाँको भनाइ छ, “मेरो नैतिकताले त्यो रुख कटान गर्न दिँदैन। म कुन नैतिकताले रुख काट्न कलम चलाऊँ ?”

“त्यस (रुख काट्न)का लागि राज्यका हामीजस्तै मन्त्रीको दबाब आउँछ। यो राज्यको काम हो, सरकारको काम हो, तपाईंले सिग्नेचर गरेर पठाउनैपर्छ भन्छन् तर मेरो नैतिकताले यो गर्न दिँदैन। म मेरो कलमले त्यस्ता क्षति गर्ने काम गर्न दिन्नँ। गल्ती काम प्रदीप यादवले गर्दैन, जति क्षति होस्,” उहाँको भनाइ छ। 

कुन मन्त्रीले कुन उद्देश्यले रुख काट्न दबाब दियो भन्ने कुरा भने उहाँले खुलाउनुभएन। केही पत्रिका र पत्रकारले समेत रुख कटानको फाइल अगाडि नबढाएको भन्दै समाचार लेखेको गुनासो पनि उहाँले गर्नुभयो। उहाँले जलवायु परिवर्तनको प्रभावले नेपालमा पनि असर गर्न लागेको बताउनुभयो। हिमाल पग्लिएर नाङ्गै भएका छन्।  

गोरखापत्रकर्मी सम्मानित

कार्यक्रममा गोरखापत्रका उपसम्पादक लक्ष्मीप्रसाद उपाध्याय र राइजिङ नेपालकी समाचारदाता इन्दिरा अर्याल सम्मानित हुनुभएको छ। बाघ संरक्षणमा नेपालले पाएको उपलब्धिका बारेमा सञ्चार क्षेत्रबाट पु-याएको योगदानको कदर गर्दै उहाँहरूलाई वन्यजन्तु संरक्षण विभागले सम्मान गरेको हो। यस्तै बाघ संरक्षणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, व्यक्तिलाई सम्मान गरिएको थियो।