नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार मनाउँदै आएका छन् ।
राष्ट्रिय गौरवको रानी जमरा–कुलरिया सिँचाइ आयोजना निर्माण सुरु भएको १२ वर्षपछि नहरमा पानी पठाएर परीक्षण गरिएको छ। आयोजनाको लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित कर्णाली नदीमा रहेको इन्टेकबाट पानी पठाएर २२.६५ किलोमिटर नहर परीक्षण गरिएको हो। आयोजना निर्देशक केदारकुमार श्रेष्ठका अनुसार मूल नहरको आठ किलोमिटर र लम्की शाखाको १४ किलोमिटर ६५० मिटर नहरमा पानी सञ्चालन गरी पथरैया नदीमा झारिएको छ।
बाँकेको डुडुवा गाउँपालिकाले पालिकाभित्रको सबैभन्दा ठूलो सडक निर्माण सुरु गरेको छ। गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पीसीसी (प्लेन सिमेन्ट कङ्क्रिट) सडक निर्माणको कार्य सुरु गरिएको पालिकाले जनाएको छ। सडक निर्माणपश्चात् गाउँपालिकाको वडा नं. २ अन्तर्गत डुडुवा, नालापारि, रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटाइपुर्वाका करिब साढे तीन सयभन्दा बढी घरधुरी र नरैनापुर गाउँपालिकाका केही मानिसले प्रत्यक्ष लाभ लिनेछन् भने कृषिकर्मका लागि पनि सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो।
भारत सरकारले नवलपरासीस्थित नारायणी नदीमा करिब ५० करोड रुपियाँको लागतमा ठूलो प्रोटेक्सन (सुरक्षा) बाँध निर्माण गरिरहेको छ। नारायणी नदी (गण्डक नदी)को सौन्दर्य र त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्मको सडक बाँध संरक्षणका लागि नदीको पश्चिमतर्फ ‘मेका फेरि कन्सेप्ट’मा ‘रिफ्लेक्सन’ बाँध निर्माण गरिरहेको हो।
देशैभर तापक्रम घट्दै गएकाले चिसो दिनानुदिन बढ्दै गई रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा बाक्लो हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गैँडाकोटदेखि पाल्पाको रामपुर (१३२ किलोमिटर) जोड्ने कालीगण्डकी कोरिडोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरको १३२ किलोमिटर सडक खण्डको निर्माण कार्य सुरु भएको छ वर्षमा सम्पन्न हुन लागेको र आयोजना सम्पन्न हुन लागेकोमा स्थानीयवासी खुसी भएका बुलिङटारका पे्रमबहादुर थापामगरले बताउनुभयो। भारतीय सीमानाका सुनौलीदेखि चीनतर्फको सीमानाका कोरलासम्म ४३५ किमि लामो राजमार्गलाई कालीगण्डकी कोरिडोर भनी राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७५ मङ्सिर १७ मा निर्माण कार्य सुरु भएको थियो।
सिन्धुली जिल्लामा दुईवटा स्थानीय तह अझै गाउँ तथा नगर प्रहरीविहीन अवस्थामा रहेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये सुनकोसी र घ्याङलेख गाउँपालिकाले बजेट अभाव भन्दै गाउँ तथा नगर प्रहरी राख्न सकेका छैनन् । सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बजेट अभावमा गाउँ तथा नगर प्रहरी राख्न नसकेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
नेपालमा रहेका विभिन्न जातिमध्ये कुशवाडिया पनि एक हो, जसलाई आदिवासी जनजातिमा सूचीकृत गरिएको छ तर यो जातका बारेमा गहन आनुवंशिक अध्ययन भएको छैन । यिनका पुर्खा, प्राचीन बसोबास, सामाजिक तथा सांस्कृतिक मौलिकताबारे खास अध्ययन भएको देखिँदैन ।
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित नदी तथा खानीजन्य उद्योगले सामान्य मापदण्डसमेत पालना नगरेको पाइएको छ । जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाइ संयोजकत्वको जिल्लास्तरीय अनुमगन कार्यदलले जिल्लाको नदीजन्य तथा खानीजन्य उद्योगको अनुगमनपछि तयार प्रतिवेदनमा उद्योगले पूरा गर्नुपर्ने सामान्य कुरा पनि पूरा नगरिएका उल्लेख गरिएको छ ।
नेपालमा आएका आधुनिक प्रविधिको विकाससँगै दोलखामा परम्परागत रूपमा चल्दै आएका पानीघट्ट लोप हुन थालेका छन् ।
नारायणगढ–गोन्द्रङ सडक विस्तारका क्रममा सडक क्षेत्रमा परेका नारायणगढका घर भत्काइएपछि सो क्षेत्रमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएको छ । भत्किएका घरमा कार्यालय रहेका बैङ्क तथा वित्तीय संस्थाले कारोबार बन्द गरेका छन् । गत शुक्रबारदेखि नै कारोबार रोकेको राष्ट्रिय वाणिज्य बैङ्क, नारायणगढ शाखाका प्रबन्धक रोमप्रसाद सिलवालले भन्नुभयो, “भौतिक संरचना भत्कनुका साथै टेलिफोन, बिजुली, इन्टरनेटको लाइन काटिएको छ । कसरी सेवा दिन सकिन्छ र ?” प्राविधिक विज्ञसहितको टोलीले मर्मत सुधार सुरु गरेकाले आइतबारसम्ममा सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
जग्गाको राजस्व बुझाउन गएका सेवाग्राहीलाई विराटनगर–१६ नम्बर वडा कार्यालयका कर्मचारीले हातपात गरेका छन्। उपभोक्ता समिति गठनका लागि कागजात तयार गर्ने क्रममा समितिमा बस्नेको राजस्व बुझाउन गएका बेला राजस्व फाँटका कर्मचारीले सेवाग्राहीमाथि हातपात गरेका हुन्। विराटनगर–१६ निवासी जीर्सीदेवी मण्डलको नाममा रहेको जग्गाको राजस्व बुझाउन छोरा जितेन्द्र मण्डल जानुभएको थियो। एउटै पुर्जामा भएको दुई कित्ता जग्गामध्ये एउटा कित्ताको मात्रै कर बुझाउने विषयमा भएको छलफलका क्रममा सँगै जानुभएका ४० वर्षीय अनिल खतिवडामाथि कुटपिट भएको हो।
पूर्वी नेपालको दमकको भुटानी शरणार्थी शिविर बेलडाँगीमा भुटानी शरणार्थी सङ्ग्रहालय बनाउनुपर्नेमा स्थानीयले जोड दिन थालेका छन्। शिविरमा शरणार्थीहरू पुनर्बास भएर शिविर खाली भएसँगै यस क्षेत्रमा सङ्ग्रहालय बनाउनका लागि माग गरे पनि यो कामअघि बढ्न सकेको थिएन। दमक नगरपालिकाकी पूर्वउपप्रमुख गीता अधिकारीका अनुसार दमक नगरपालिकाको नीति तथा कार्यक्रम बनाउँदा बारम्बार यस विषयमा छलफल भएको थियो। उहाँका अनुसार छलफल र योजनाअघि सारिएको भए तापनि त्यसले मुर्त रूपमा लिन सकेको छैन। सङ्ग्रहालय निर्माण भएमा दमकको पर्यटन र आर्थिक विकासमा यसले टेवा पुग्ने उहाँ बताउनुहुन्छ।
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिङ्गरले भनेका थिए, “ती मानिस जसले फुटबललाई माया गर्छन्, एडिसन अरान्तेस डो नासिमेन्टो, जसलाई पेलेका नामले बुझिन्छ, उनीहरूका आदर्श हुन् ।” ‘पेले’ शब्द सानो छ तर यो धेरै नै समृद्ध छ । एडिसन अरान्तेस डो नासिमेन्टोले यसलाई उत्कृष्टता जनाउने पर्यायवाची शब्द नै बनाइदिए । पेले शब्द कहाँबाट आयो भन्ने सन्दर्भमा अनेक कथा छन् तर कसैले पनि यसलाई सटिक वर्णन गर्न सकेका छैनन् ।